• २०८१ फागुन ३ शनिवार

नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’

काठमाडौँ

नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । नेपालयले सुरु गर्न लागेको नयाँ साहित्यिक प्लेटफर्म ’नेपालय ई-कविता’को संयोजन कवि श्रवण मुकारूङले गर्नेछन् । यो प्लेटफर्म मार्फत् कवि मुकारूङले नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्नेछन् ।

साप्ताहिक रुपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेजमार्फत् निर्धारित शुल्कतिरेपछि फोन र कम्प्युटरमा सिधै उपलब्ध हुनेछन् । हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचन समेत सुन्न सकिने व्यवस्था छ ।
‘कोरोना महामारीले हाम्रो सामाजिक गतिविधि र स्वछन्द घुमफिरको स्वतन्त्रतालाई चुनौती दिएको महसुस गरायो । अरु सबै क्षेत्र जस्तै यसले, प्रकाशन र पाठकहरू पनि प्रभावित रहे,’ ‘ई-कविता’ को परिकल्पना माथि प्रकाश पार्दै नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्, ‘कला र साहित्यले हामीलाई कठिन समयमा सान्त्वना दिने माध्यमको रूपमा काम गरेको हुन्छ । हामीले क्वारेन्टाइनको परिधिमा आफूलाई सिमित गरेसँगै, अनलाइनमा उपलब्ध खुराक मार्फत् धेरैले आफ्नो साहित्यिक भोकलाई व्यवस्थापन गरेको पायौं । कवि, कलाकारहरूले पनि आफ्ना सृजनाहरूलाई सहज रुपमा बाँडे । ती सत्रहरूमा देखिएको जनसहभागिता र चासो उत्साहजनक थियो । तर, यसरी प्रकाशित र प्रसारित हुने सृजनाले सर्जक र पाठक- श्रोताबीच सेतुको काम गरेपनि, व्यवसायिक व्यवस्थापनको टड्कारो आवश्यकताको पनि महसुस भयो ।’

‘ई- कविता’ का संयोजक मुकारुङले पनि यसको परिकल्पनापूर्व लकडाउन ताका, आफ्नो फेसबुक पेजबाट नियमित रुपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए । मुकारुङ भन्छन्- ‘कविता, लामो समयदेखि व्यावसायिक प्रकाशन जगतको प्राथमिकता क्रममा पछाडि रहेको साहित्यिक विधा हो । यस्तो स्थिति सिर्जना हुनुमा, पाठकहरूमा राम्रो कविता प्रति आकर्षण नभएर होइन । बरू, हामीले कविता लेख्ने र प्रकाशित गर्ने कामलाई व्यावसायिक बनाउन नसकेर हो । प्रकाशनका यस्ता नयाँ आयामले कविता लेखन र पठन सँस्कृतिलाई नै नौलो अवसर प्रदानगर्ने कुरामा म आशावादी छु । ‘ई-कविता’ले कविहरूलाई निश्चयपनि गरिमा र सम्मान प्रदान गर्दै सुसुचित बन्ने र किनेर पढ्ने पाठकको संगतमा पनि पुरयाउने छ ।’

सार्वजनिक भएको ई- कवितालाई नेपालयको पेजमार्फत भेट्न सकिन्छ । प्राविधिक विकास र व्यवस्थापन थुप्रै डटकमले गरेको नेपालयले जनाएको छ । ‘ई -कविता’को सुरुवात यही वैशाख १७ गते शनिबारदेखि सुरु भएको छ ।