• २०८० मंसिर १९ मङ्गलबार

दाहाल यज्ञनिधिको कवितासंग्रह प्रकाशित

नेपाली साहित्य, सञ्चार कर्म र संस्कृतिका क्षेत्रमा सुपरिचित किर्तिशेष दाहाल यज्ञनिधिका कविताहरूको सङ्कलन ’दाहाल यज्ञनिधिका कविता’ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको छ । यसलाई साहित्य (पद्य/काव्य) विभागको परियोजना अन्तर्गत कवि एवं सम्पादक देवकुमारी लुइटेल ’देवु’ले तयार पार्नु भएको हो । यसको पहिलो खण्डमा दाहाल यज्ञनिधि र उनका कवितात्मक प्रवृत्तिहरूका बारेमा चर्चा गरिएको छ भने दोस्रो खण्डमा दाहाल यज्ञनिधिका पद्य, गद्य रगीति कविता सङ्कलन गरिएका छन् ।

कीर्तिशेष भइसकेका तर रचना सङ्कलन हुन बाँकी भई ओझेलमा परेका कविहरूका कविता सङ्कलन गर्ने, गराउने प्रज्ञाको नीति बमोजिम यस कृतिको अनुसन्धान र प्रकाशन भएको हो । यसमा दाहाल यज्ञनिधिका बारेमा आधिकारिक खोज र अनुसन्धान गर्दै आएकी देवुको निकै ठुलो मिहिनेत परेको छ । यसका लागि अनुसन्धाता देवुलाई समग्र नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्य विभाग हार्दिक धन्यवाद प्रकट गर्दछ । २२५ मूल्य रहेको यो पुस्तक नेप्रप्रको पुस्तक बिक्री कक्ष र आधिकारिक बिक्रेताहरूका पुस्तक वितरण केन्द्रमा उपलब्ध छ ।