• २०८१ माघ २ बुधबार

‘पश्यना अथवा विपश्यना’

प्रकाशमणि दहाल

प्रकाशमणि दहाल

संस्कृत शब्द पश्यको अर्थ हो हेर्नु, देख्नु, पश्यत्को, हेर्दो/देख्दो । यसै आधारमा वि उपसर्ग तथा ना प्रत्यय थपेर एउटा निकै महत्वपूर्ण मानिने ध्यान विधिको नाम राखिएको छ ‘विपश्यना’ हेर्ने काम । यसमा मनलाई कुनै विषयमा (सुखदुख, रिसराग, माया, घृणा इ. केहीमा) पनि अल्झिन नदिई श्वास–प्रश्वासमा केन्द्रित राख्ने अभ्यास गरिन्छ । तर मानव मनको मुख्य प्रकृति एकक्षण पनि श्वास–प्रश्वासमा वा शून्य वा स्थीर नरही केही न केहीको सोच–विचार–सम्झना–कल्पनासँग व्यस्त रहने हुन्छ । त्यसैले यो कहिल्यै निश्चल नरहने र हावाजस्तै वा बत्तीको सिखाजस्तै अनवरत चलिरहने हुन्छ । अत यसलाई स्थीर राख्न विभिन्न उपाय गरिन्छ । त्यसमध्ये एउटा हो ध्यान र ध्यानमध्ये निकै सफल मानिएको एउटा विधि हो विपश्यना जसमा मनलाई श्वास–प्रश्वास आएको–गएको हेरिरहनमा केन्द्रित गरीराख्ने प्रयास गरिन्छ ।

ध्यान गर्नु भनेको मनोनिग्रहको यस्तो अभ्यास हो जसमा मनलाई कुनै सोच वा विचार नगरी निर्विचार राखिन्छ । यस अवस्थालाई आफूलाई भगवान् र पछि ओशो पनि भन्ने सुपरिचित विचारक आचार्य रजनीश ‘सचेत तर चिन्तनहीन, जीवित तर क्रियाहीन अवस्था’ state of not doing anything, only being, only awareness भन्दछन् भने अर्का अमेरिकाली अध्यात्मचिन्तक बाबा रामदास चैँ ‘अमन वा मनहीनताको अवस्था’ no mind or state of no mind  भन्दछन् (मनस्तरङ्गिणी पृ ५६) । अर्थात् ध्यान गर्नु भनेको मनलाई मन नभएसरह भावनात्मकताका दृष्टिले सोच वा चिन्तन वा भावना रहित र गतिका दृष्टिले अचल, निश्चल वा गति रहित पार्नु हो ।

तर एउटा गज्जबको अलङ्कार परेको देखिन्छ यी दुई पश्यना र विपश्यना शब्दमा कारण दुवैको अर्थ भने एकै हो:  हेर्नु वा निगरानी गर्नु अर्थात् मनलाई उसको चालामाला थाहा पाइरहनमा केन्द्रित गरिराख्नु ।

खूब प्रचलनमा रहेको वि उपसर्गले शब्दको अगाडि आएर अनेकता, निषेध, विशेषता र विपरीतता वा प्रतिकुलता बोधक पार्दछ । जस्तो अनेकता तर्फ भिन्न(एकार्कामा नमिल्दा)– विभिन्न (धेरै किसिमले एकार्कामा नमिल्दा धेरैवटा), जोड दिने विशेषता तर्फ शुद्ध–विशुद्ध(सम्पूर्ण शुद्ध), किरण–विकिरण(विशेष किरण), खण्डन(टुक््रयाउनु)–विखण्डन (टुक्राटुक्रा पार्नु), क्षुब्ध–विक्षुब्ध(अति क्षुब्ध), जय–विजय (खास/ठुलो जीत), पश्यना–विपश्यना(अझ राम्ररी हेर्नु, आफ्नै भित्री मनको निरीक्षण गर्नु) इत्यादि ।विपरीत तर्फ: कर्म–विकर्म (गर्नु नहुने काम/पापकर्म), सुकृति–विकृति(कुकृति/त्य), चलन–विचलन(चलनमा नभएको, चलनको विपरीत), चेत/सचेत–विचेत(चेत नभएको), तृष्णा–वितृष्णा(अनिच्छा/अरुचि) इत्यादि ।
यसरी पश्यना र विपश्यना शब्दमा पहिलो अलङ्कार देखिन्छ शब्दको बनोटजन्य अलङ्कार अर्थात् उपसर्ग रहित र सहित । दोस्रो, शब्दार्थको अलङ्कार देखिन्छ सामान्य र जोड वा विशेष बोधक । पश्यना भनेको सामान्य हेर्नु । जसमा हेरेको वस्तु देखिनु सम्म मतलब हुन्छ । त्यसको रंग–आकृति र त्यो को हो, के हो भन्ने पहिचान । तर विपश्यना भनेको गम्भीरता पूर्वक सम्पूर्ण ध्यान केन्द्रित गरेर हेर्नु, त्यसको रंग–आकृति र बढी चैँ त्यसको प्रकृति, गति प्रयोजन, आपसी सम्बन्ध आदि । तेस्रो, बाह्य र भित्र हेर्नु । यसलाई अलिकति प्रष्ट्याउनु पर्ला । हेर्नु भन्नाले आफू भन्दा बाहिरका कुरामा नजर पुरयाउनु र देख्नु हो । सामान्यत जीवन बँचाइका क्रममा मान्छेलाई र अरु जीवलाई पनि आफू बाहिर रहेका वस्तु वा जीव वा तिनका गति, परिणाम आदिलाई नै हेर्नुपर्छ । तिनैसँग वास्ता पर्छ वा रहन्छ पनि । हेर्ने इन्द्रिय आँखा पनि शरीरको बाहिर नै हुन्छन् र तिनले बाहिरै हेर्छन् । दृष्टि पनि बाहिरै प्रवाहित भैरहने बहिर्मुखी नै हुन्छ । त्यसले भित्र देख्नै सक्तैन । त्यसैले भित्र हेर्नु भनेको इन्द्रियजन्य हेराइ होइन, भावजन्य हेराइ हो । मनले, चिन्तनले, कल्पनाले हेर्नु वा देखेको भान गर्नु । खासमा थाहा पाउनु, बोध गर्नु, अनुभव गर्नु, अनुभूतगर्नु, महसुस गर्नु जुन परा दृष्टि हो ।

चौथो अलङ्कार हो नदेखिने वस्तुलाई देखेको मान्नु । अर्थात् के श्वास–प्रश्वास हेरिने वा हेर्दा देखिने वस्तु हो र ? श्वास–प्रश्वास भनेको सास फेर्दा वायु वा हावा तान्ने र छोड्ने काम हो । श्वास–प्रश्वासलाई हेरिरहनु भनेको त्यही तानिने र छोडिने हावालाई हेरिरहनु हो । हावा अदृष्ट वस्तु हो । आँखाले नदेखिने । साथै नाकका प्वालको मार्ग हुँदै घाँटीको मार्ग भएर लिइने–छोडिने वा आउने– जाने उक्त हावा र त्यसको मार्ग आँखाको दृष्टि क्षेत्रभित्र पनि पर्दैन ।
त्यसकारण विपश्यना भनेर जुन अभ्यासलाई भनिन्छ त्यो सम्पूर्ण शब्दालङ्कार र भावालङ्कार मात्र हो ।

खासमा श्वास आउँदा र जाँदा हुने शारीरिक अनुभूति थाहा पाउनु हो ।
तर यसलाई सम्पूर्ण अलङ्कार भनेर मात्र पनि हुँदैन किनकि यो विश्वका विभिन्न भेगमा गम्भीर रूपमा लिइने एउटा प्रतिष्ठित मनोक्रिया हो जसमा धेरै विद्वान् विचारक र प्रतिष्ठित व्यक्तित्वको संलग्नता रहेको पाइन्छ ।
खासमा विपश्यना भनेको भगवान् बुद्धले स्वयं अभ्यास गरेको र उनले उनका अनुयायीलाई मनोनिग्रहको उपायका रूपमा बताएको र गराएको मनोअभ्यास हो ।

तर यसमा गजबको अर्को अर्थालङ्कार परेको देखिन्छ । त्यो के भने मनलाई अरु कुरामा अल्झिरहन वा विभिन्न कुरामा दौडिरहन नदिएर श्वास–प्रश्वास आए गएको हेर्नमा केन्द्रित गरिराख्नु पनि केहीमा त अल्झाइ राख्नु नै हो भने यसलाई उसकै तालमा किन नछोड्दिनु ? त्यसैले यो त अरुसँग बस्न नदिएर आफूसँगचैँ बस्न बाध्य पारे जस्तो भएन र ? भनिन्छ मनोवैज्ञानिक दृष्टिले पनि मन स्वतन्त्र रहनुपर्छ । यसलाई बन्धित वा कुण्ठित पार्नु हुँदैन । अन्यथा त्यसबाट विकृति उब्जिन्छ र व्यक्तिको व्यक्तित्वमै विकार आउनसक्छ ।

अर्थात् मन नै मान्छे हो । कुनै मान्छे ठुलोसानो, सुखीदुखी, साहसीकायर, रिसाहा शान्त, उदार संकीर्ण, मिलनसार छुच्चो जे हुन्छ मनले नै हुन्छ । अत मन स्वस्थ हुनुपर्छ । हुनपनि आम जीवनमा के देखिन्छ भने संसारका कुनै मानिस पनि एक समान हुँदैनन् । जति मान्छे त्यति किसिम हुन्छन् । अर्थात् प्रत्येक मान्छे अलगअलग वा आफ्नै आफ्नै किसिमका हुन्छन् । भन्नुको मतलब सबै मानिस एकर्काकामा भिन्न हुन्छन् । कुनै पनि मान्छे एउटा जस्तो अर्को हुँदैन । मानिसमा जुन भिन्नता हुन्छ सो शारीरिक बाहेक मुख्यत मनकै भिन्नता हो ।
त्यसो त मान्छेमा समानता पनि हुन्छन् र भिन्नता पनि ।
तर यसमापहिलो सवाल उठ्छ स्वस्थ मन भनेको कुन वा कस्तो मन हो ?
त्यसपछि दोस्रो सवाल उठ्छ त्यस्तो स्वस्थ मन कसरी बनाउन सकिन्छ ?
अझ यी प्रश्नका उत्तरमा विचार गर्नभन्दा पहिले त मन कसरी बनिन्छ वा उत्पन्न हुन्छ भन्ने प्रश्न नै मुखर भएर आउँछ । त्यसकै पूरक हो यसलाई कसले कसरी बनाउँछ ?

मनचेतना, चैतन्य अर्थात् सचेतना हो । जेले वा जसले चिसो तातो, सजिलो अप्ठ्यारो, आफ्नो बिरानो, ठीक बेठीक थाहा पाउँछ त्यो चेतना हो, त्यही मन हो । मन हर हमेसा सचेत हुन्छ र नै कुनै प्राणी सचेत, सक्रिय र सजग हुन्छ । हो, कहिलेकाहीँ मन कुनै कुरामा केन्द्रित भैदिन्छ जसले गर्दा समयान्तरमा मनले थाहा पाउनुपर्ने कुनै कुरा वा कुराहरु छुट्न सक्छ जुन कहिलेकाहीँ हानिकारक वा दण्डीय पनि हुनसक्छ । त्यसैलाई भूलचूक भनिन्छ । जस्तो त्यो साइनबोर्ड हेर्न थाल्दा मेरो गाडी छुट्यो । त्यसैले सदैव सजग र सतर्क रहनु मनको दायित्व पनि विशेषता पनि हो ।

यो चेतना अर्थात् मन, जसको कुनै दृष्ट अङ्ग हुँदैन, जसले शरीर, खासगरी ज्ञानेन्द्रिय  मार्फत व्यक्ति का तर्फबाट थाहा पाउने र तदनुसार गर्नुपर्ने काम गराउँछ वा नगराउँछ । यो मानव शरीरमा कसरी उत्पन्न हुन्छ ? यो कम रहस्यको कुरा होइन ।

यसबारे मनोविज्ञानमा विभिन्न सिध्दान्त प्रतिपादन भएका छन् । तर यहाँ विपश्यनामै केन्द्रित हुने सोच भएकाले यति मात्र भनौँ : चेतना तीन तहको देखिन्छ : स्वत चेतना वा जड वा वस्तुगत चेतना(बालुवाले पानी आएको थाहा पाए जस्तो, मट्टितेलले कपडा भेटेको थाहा पाए जस्तो); जीवचेतना बिरुवाले फेदमा मल वा पानी आएको थाहा पाए जस्तो, बाघले मृगको मृगले बाघको गन्ध पाए जस्तो सीमित ज्ञान दिने र मानवीय चेतना आएको वस्तु–व्यक्ति–स्थिति इ बारे सतही र अन्तर्यसमेत विस्तृत ज्ञान दिने । (मनस्तरङ्गिण्ी, पु. ९६)

यस्तो मानव मनलाई, जो निद्रामा बाहेक सधैँ सचेत र चन्चलिइरहेको हुन्छ, स्थीर केन्द्रित पारेर राख्नु आफैँमा एउटा संघर्ष हो लाप्पा खेल्नु जस्तै । मन कहीँ जान्छ, पकडेर ल्याएर फेरि श्वासप्रश्वासमा लगायो, फेरि कहीँ जान्छ फेरि ल्यायो र यही गरिरह्यो । तब त भन्छन् विपश्यना गर्न गएका कति मान्छे तीन दिनमा वा पाँच दिनमा दिवाल नाघेर भाग्छन् अरे कारण विपश्यना दश दिनको कोर्स हुन्छ र बन्दी जस्तै बसेर ध्यान गर्नुपर्छ ।

जो भाग्दैनन् (धेरैजसो भाग्दैनन्)र कोर्स पूरा गर्छन् । के उनिहरुको चैँ मन श्वासप्रश्वासमा केन्द्रित हुन्छ ? त्यसबाट जीवनको बुझाइ र बँचाइमा सकारात्मक फरक पर्छ ?यो अर्को अलङ्कार देखिन्छ र झन् गहन अलङ्कार । कारण प्राणीमध्ये मान्छे नै यस्तो प्राणी हो जो बहाना बाजी लगायत स्थिति अनुसारको भूमिका गर्न सक्छ । खासमा व्यक्तित्वको आधारनै सफल बहानाबाजी हो भन्ने देखिन्छ नत्र आज पचासौँ किसिमले बदनाम व्यक्ति पचासौँ किसिमको ओहोदा धारण गरेको बहानाबाजी गरिरहेको हुने थिएन । अर्को, कुनै व्यक्तिले कुनै कुरा अपनाएको सार्वजानिक गरिसकेपछि उसलाई त्यसको विपरीत अभिव्यक्ति गर्न सजिलो हुँदैन र झुट्टै भएपनि उसले आवश्यकतानुसार भन्नै पर्छ ।(ताप, शरदा शर्मा पृ.)

विपश्यनालालई जतिसुकै उच्चकेटीको ध्यान भनेपनि त्यो त्यतिको लोकप्रिय भने हुन नसकेको गलत होइन । नत्र त त्यसका शिविर जतातता हुनेथिए र विपश्यना नगरेका मान्छे पाउनै मुस्किल पर्ने थियो ।

तर ध्यान, कुनै पनि ध्यान जो मनलाई वशमा राखेर निर्मन वा मनहीन हुने कामना गरिन्छ त्यो सजिलो कुरा होइन । ध्यान गरेको भनेर डिंग हाँक्नेका लागि पनि यो जंगली हात्ती नै हो जुन हतपत सधिँदैन । हात्तीलाई त सधाइन्छ । त्यसको प्रक्रिया हुन्छ, साधन हुन्छन् । त्यो बाह्य वस्तुगत यथार्थ हो । तर ध्यान भित्र मनमा गुप्त रूपले एक्लै हुने प्रक्रिया हो र आत्मसंयम बाहेक त्यसको न कुनै उपाय हुन्छ न साधन ।

तब त यूभल हरारी भन्छन् : यदि साँच्चै मनलाई उद्देश्य अनुरूप त्यसको स्वरूप र गतिविधिलाई अध्ययन गर्ने हो भने विराट् अनुशासनको आवश्यकता पर्दछ । मानौँ तपाईं मनलाई कुनै खास गतिविधिमा लाउनुहुन्छ, भनौँ श्वास आए गएको निगरानीमा । तर त्यतिबेला तपाईंलाई थाहा हुन्छ मन कति जबर्जस्त जंगली र अधीर रहेछ भन्ने यथार्थ । श्वास–प्रश्वासलाई एक् वा दुई सेकेन्डमै छोडेर मन त कुनै विचार वा स्मृति वा आकांक्षामा ढौँटारी मार्न गैसकेको हुनेछ (21 Lessons, p 369)

उनी भन्छन् : चैतन्य वा सचेतना यस्तो ठुलो रहस्य हो जुन अति सामान्य तातो लाग्ने वा चिलाउने वा ब्रह्माण्डीय एकाकारको आनन्द जस्तै हो । त्यसैले त विपश्यनामा मनलाई यस्ता कुनै अन्य अनुभूति तिर जान नदिई केन्द्रित गर्न कडा निर्देशन दिइन्छ त्यो जे जस्तो होस् । ऐ. पृ. ३६७ ।

वस्तुत चेतना वा चैतन्यको उच्चताले नै माान्छेलाई हरेक कुरा सोच्नसक्ने सर्वोच्च प्राणी बनाएको हो । तर यो यस्तो अराजक पनि हुन्छ जुन जे पनि सोच्न थाल्छ र उसलाई मजा लाग्नेमा त गँजेडीझैँ  केन्द्रितै भैदिन्छ र मान्छेलाई थाहै नपाई अमान्छे बनाइसक्छ । त्यसैले चैतन्य दोधारे तरवार हो जसलाई अति सावधाननी सँग चलाउनुपर्छ ।

लाग्छ विपश्यना बेकारीले मनलाई सैतानको कारखाना हुनबाट बचाएर अलमल्याइख्ने राम्रो अभ्यास हो तर श्वास–प्रश्वासलाई हेरेरै समय व्यतीत गर्नु एउटा सारसौँतो र सक्रिय मान्छेका लागि सजिलो छैन । अर्को त्यो अभ्यास पूरा गरेपछि मान्छेलाई शारीरिक, मानसिक, आध्यात्मिक, आर्थिक आदि लाभ भएको पनि प्रत्यक्ष हुँदैन । अर्थात् त्यस्तो खासै फलिफाप हुँदैन । हुन्थ्यो भने यसले व्यावसायिक रूप नै लिइहाल्ने थियो ।

यो एउटा आत्मावलोकनको राम्रो अभ्यास भने अवश्यै हो जुन बुद्धप्रवृत्तिका मान्छेलाई उपयोगी होला नत्र हानि रहित बसि बियाँलो । अस्तु ।


प्रकाशमणि दहाल
[email protected]