• २०८१ श्रावाण ११ शुक्रबार

‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’

काठमाडौं

चर्चित कवि तथा गीतकार दिनेश अधिकारीले आफ्ना गीतका स्रोता र पाठकका लागि एउटा पृथक कोसेली सुम्पिएका छन्, ‘कविताको कथाः गीतको कथा’ । शिखा बुक्सले कवि अधिकारीको यो कृति प्रकाशनमा ल्याएको हो । जसमा सैयौँ चर्चित गीत तथा कविताका सर्जक अधिकारीका लोकप्रिय कविता तथा गीतहरूको रचनागर्भ समेटिएको छ ।

दिनेश अधिकारी भन्छन्, “यो कविता र गीतहरूको रचनागर्भ मात्रै नभएर सिर्जनाले गरेको यात्रा हो ।’’
यस कृति भित्र ‘हर्क बहादुर’, ‘नीलो वह’, ‘सिपाही’, ‘बिहे’, ‘हट घोडा हट’ लगायतका ११ वटा कविता र ‘तिमी जुन रहरले’, ‘सोचे जस्तो हुन्न जीवन’, ‘यो सम्झिने मन छ’, ‘जीवन भन्नु त घात छ’, ‘पहाडमा जाडो बढे’, ‘रक्सी बेचेँ आलु बेचेँ, ‘पहाड झुक्नु पर्छ’ लगायत १८ गीतहरूको यात्रा कथा समेटिएको छ ।

अधिकारीका अनुसार पुस्तकमा समेटिएको गीत र कविताको कथामा त्यस विषयमा लेखिएका, बोलिएका र संगतबाट थाहा पाएका सबै प्रसंगहरू राखिएको छ ।

उनी भन्छन्, “मैले गीत र कविताको यात्रालाई छर्लङ्ग बनाउने प्रयास गरेको छु । मलाई लाग्छ, यो किताब अनुसन्धान गर्ने, सिर्जनशील लेखनमा लाग्नेहरू र रेडियोकर्मीहरूका लागि बढी उपयोगी हुनसक्छ ।’’

यो किताब प्रकाशित हुनुको कारण बताउँदै अधिकारीले बाह्रखरीसँग भने, “एउटा पत्रिकामा मेरा केही गीतहरू जन्मिँदाको विषयलाई लिएर एउटा आलेख प्रकाशित भयो । मेरो शिक्षक कथाकार भुवन ढुङ्गानाले त्यो पढनु भएछ । अनि उहाँले मलाई भन्नु भयो, ‘दिनेश जी, गीतका कुराहरू धेरै छोटो भयो । बरु त्यसको रचनागर्भ आफैले लेखे हुन्थ्यो नि !’ त्यसपछि मलाई आफ्ना गीत र कविताका बारेमा केही लेख्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्यो । मलाई लाग्यो सर्जकको हैसियतले मेरो सिर्जनाले गरेको यात्राका बारेमा त म साक्षी भएर लेख्न सक्छु । त्यसैको परिणाम हो, यो किताब ।’’

बजारमा आएको यो पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको उनले बताए ।


दुखों की पोटली

Leather Heart

साँझ