• २०८२ बैशाख ७ आइतबार

सोफाजद्वारा सम्मानित/पुरस्कृत कार्यक्रम सम्पन्न

ललितकला पत्रकार समाज (सोफाज) ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको छ । समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता सम्मान प्रदान गरिएको छ ।

त्यसैगरी पत्रकारद्वय सुशिला तामाङलाई सोफाज लक्ष्मीमाया कुमाले पुरस्कार, र नारायण ढुङ्गानालाई नारायणबहादुर सिंह पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा सम्मान तथा पुरस्कार प्राप्त गर्नुहुने व्यक्तित्वहरू सबैलाई जनही एघार हजार १११ रूपियाँ नगद सहित सम्मानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले कलाकारिता र इन्जिनियरिङ विषय एक अर्कासँग जोडिएको विषय भएको बताउनुभयो । पुस्तौंदेखि कलालाई व्यवसायिक रूपमा गरिरहनु भएका कलाकारलाई आफ्नै घरमा कला सिर्जना गर्दा प्रयोगात्मक अभ्यास गर्न पाउने गरी कलाका पाठ्यक्रम तयार गरी उहाँहरूलाई सैदान्तिक र शैक्षिक योग्यता सहित अगाडि बढ्न मौका दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व मधुपर्कका सम्पादक जयदेव भट्टराईले ललितकला पत्रकार समाजले सम्झेर सम्मानित गरेर आफुलाई काम गर्न थप प्रेरित गरेको बताउनु भयो । समाजका अध्यक्ष केशवराज खनालले ललितकला पत्रकारितामा कलम चलाउने पत्रकार तथा यस कर्मका लागि प्रेरित गर्ने व्यक्तित्वलाई हौसला प्रदानगर्न समाजले विगत सातवर्ष देखि पुरस्कार प्रदान गर्दै आएको बताउनु भयो ।

समाजका उपाध्यक्ष मधु शाहीले ललितकला विधामा पत्रकार खोज्नुपर्ने सङ्ख्यामा रहेको बताउनुभयो । यस विधामा पत्रकार कम टिक्ने, कलाकार, कलाक्षेत्रको साझा प्रयासले पत्रकारलाई प्रेरित गर्नुपर्ने उहाँको भनाई छ ।