समाचार

पोखरा महानगरपालिका र जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको संयुक्त आयोजनामा जनकवि केशरी धर्मराज थापाकै जन्मस्थल बाटुलेचौर जित इभेन्समा “लोकगीत प्रतियोगिता” भव्य रुपमा सम्पन्न गरिएको छ ।
उक्त प्रतियोगितामा प्रथम अडिसनमा ५७ जना लोक गायक गायिकाहरूले भाग लिएका थिए । ५७ जनाबाट छानिएर दोस्रो चरणको सेमिफाइनलको लागि २८ जना गायक गायिका छानिएका थिए । चैत्र ९ गते भएको सेमिफाइनलमा १० जना अन्तिम चरणको लागि छनौट भएका थिए ।
यसै गरी तेस्रो चरण अथवा फाइनल तथा समापन कार्यक्रम यही चैत्र ११ गते भएको थियो । ११ गतेका दिन १० जनाबाट क्रमशः पदम नेपाली, समीर पुन र सम्राट गायक पहिलो दोस्रो र तेस्रो भएका थिए । पहिलोको लागि २५०००/ दोस्रोलाई २००००/ र तेस्रोलाई १५००० नगद पुरस्कार थियो । चौथो २ जनालाई १००००/ १०००० हजारको पुरस्कार थियो । बाँकी ५ जना गायकलाई ५/५ हजार र अनि प्रोत्साहन पुरस्कार ३ जनालाई ५/५ हजारका दरले प्रदान गरिएको थियो ।
प्रतियोगिताका प्रतिस्पर्धी निर्णायक संयोजकको भूमिकामा गण्डकी प्रदेश लोकगीत प्रतिष्ठानका सचिव राजन कार्की र पुर्व अध्यक्ष चोलेन्द्र पौडेल हुनुहुन्थ्यो भने सङ्गीत तर्फको निर्णायक भूमिकामा दिलिप कार्की हुनुहुन्थ्यो । उक्त कार्यक्रम जनकवि केशरी धर्मराज थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यबहादुर खड्का विखर्चिले गर्नुभएको थियो । पृथ्वीनारायण क्याम्पसका प्रा. डा. कुसुमाकर न्यौपाने, पोखरा प्रज्ञाका कुलपति पदम ढकाल, वरिष्ठ गायिका हरिदेवी कोइरालाले विशिष्ट आतिथ्य ग्रहण गर्नुभएको थियो । फाइनल तथा समापन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घोषण पालै पालो लोक गायक रामजी पौडेल र सुर्य सुवेदीले गर्नुभएको थियो ।