• २०८१ असोज २४ बिहीबार

फेरि पनि रङ्गमञ्च- तृष्णामै बिते उनी

रमण घिमिरे

रमण घिमिरे

 

विष्णुभक्त फुयाललाई सानैदेखि नाटक खेल्ने धोको थियो । ‘म पनि नाटक खेल्छु’ भन्दा ठूलाबडाहरू ‘यति फुच्चेले पनि कतै नाटक खेल्छ होला नि !’ भनेर उल्याउँथे । यो ढिपी गर्दा उनी पाँच वर्षका थिए । उनलाई त्यस वेला त भारतीय प्रसिद्ध गायिका लता मङ्गेशकरले पाँच वर्षमै मञ्चमा पिताजीसँग गीत गाएको सायद थाहा थिएन । ठूलो भएर रङ्गमञ्चमा लागेपछि मात्र थाहा पाए होला । तर त्यस वेला ठूलाबडाहरूलाई नटेरी नाटकमा खेलेको भए उनले पनि कीर्तिमान बनाउने रहेछन् । १७ वर्षका हुँदा २०११ सालमा उनी कोलकाता गए । त्यहाँ बङ्गाली नाटकको ठूलो प्रभाव थियो । नबिराई नाटक हुन्थे । उनले भाषा नबुझी-नबुझी पनि बङ्गाली नाटक हेर । भाषा नबुझे पनि कलाकारहरूले गरेको अभिनय हेरेर उनको मनमा नाटकमा खेल्ने पुरानो धोको बल्झियो । तर त्यहाँका पारङ्गत रङ्गकर्मीहरूसँग मिसिएर नाटकमा खेल्न असम्भव थियो । त्यसमाथि काम गर्न गएका उनी नाटकमा काम पाइहाले पनि रिहर्सल गर्न समय हुँदैनथ्यो । अनि यस्तै धङधङे बोकेर सात वर्षपछि काठमाडौँ फर्किए । अनि बोरिसको रोयल होटेलमा काम गर्न थाले । यही होटलमा काम गर्नेहरूसँग मिलेर २०१९ सालमा उनी एउटा नेवारी नाटकबाट रङ्गमञ्चमा ओर्लिए । यो नाटकको नाम थियो- ‘कर्मया भोग’ (कर्मको भोग) ।

उनलाई सुरुमा रङ्गमञ्चले खुब छक्यायो । ०१९ सालमा यस नाटकमा खेलेउता अर्को नाटक पाउन उनले आठ वर्ष कुर्नुपर्यो । एकैचोटि ०२७ सालमा एउटा नाटक पाए, त्यसपछि पनि अर्को नाटकमा अवसर पाउन अर्को चार वर्ष कुर्नुपर्यो । त्यो नाटक थियो ‘सुकुलगुन्डा’ । मुकुन्दकिशोर भट्टराय, राजन बस्नेत (पछि सरस्वती क्याम्पस प्रमुख) लगायत पाँच- छ जनाको समूहले त्यो नाटक गरेको थियो । यो ०३१ सालको कुरा हो ।

फेरि पनि उनको रङ्गमञ्चयात्रा सुचारु हुन पाएन । र अविराम गतिमा रङ्गकर्ममा लाग्न ०४२ सालसम्म पर्खिनुपर्यो । त्यो साल उनले आफ्ने निर्देशनमा अग्नि शिखाको ‘इज्जत’ नाटक मञ्चन गरे । त्यसपछि आफैँले लेखेका ‘सहिदकी आमा’, ‘ऊ फेरि आउने छ’ लगायत तीनचारवटा नाटक गरे ।

यस वेलासम्म उनी ‘माले’ को ‘सिर्जना सांस्कृतिक परिवार’ सँग आवद्ध भइसकेका थिए । उनी जहाँ भए पनि र जे गरे पनि नाटक मात्र उनको अभीष्ट थियो । हुन त ‘माले’ मा आवद्ध भइसकेकाले उनी राजनीतिक रङमा डुबिसकेका थिए र यसको तातो-चिसो दुवै अनुभव गरेका थिए । उनले राजनीतिक विचारधारालाई नाटकमा ढालेर मञ्चमा प्रस्तुत गरे तर नाटकमा राजनीतिक नाराबाजी गरेनन् । राजनीतिक झुकाव वामपन्थी विचारधारातिर भए पनि नाटक संयोजन गर्ने तत्कालीन विद्यार्थी मित्रहरूको बानी- व्यवहार उनलाई त्यति मन परेन र उनले त्यो परिवार छाडेर स्वतन्त्ररूपमा रङ्गमञ्चमा काम गर्ने सोचाइ बनाए । यस प्रसङ्गमा उनले भनेका थिए- ‘एक ‘नक्सलाइट’ फिल्म हेरेपछि र माओको ‘लङ्मार्च’ पढेपछि म पहिलोपटक कम्युनिस्ट भएँ । तर हिजो जसले जुन कुराको विरोध गरेर आन्दोलनलाई चम्काए पछि तिनीहरूले नै पहिला आफैँले नगर्नु भनेको काम गरिरहेका देख्दा म खिस्रिक्क भएँ । म एउटा विचारधारालाई पछ्याउने कम्युनिस्ट हुँ । तर राजनीति अझै बुझेको छैन । जसरी मैले रङ्गमञ्च बुझेको छैन ।’

फुयाँल मित्रहरूले धोका दिएको तोडले रनथनिरहेका थिए । यही वेला उनको वामपन्थी विचारधाराका सङ्गीतकार, गायक रामेशसँग भेट भयो । यस भेटमा उनले रामेशसँग ती सारा गुनासो फुकाए । अनि रामेशले उनलाई आरोहणका निर्देशक सुनील पोखरेलसँग भेटाइदिए । ‘त्यसपछि सुनील सरसँग मेरो बाक्लै भेटघाट हुन थालेपछि उहाँले मलाई फ्रेन्च कल्चर सेन्टरमा हुने नाटकमा खेलाउन थाल्नुभयो’, उनले भनेका थिए- ‘त्यहाँ पहिला कुन नाटकमा काम गरेँ, त्यो मलाई अहिले सम्झना भएन तर ‘न्यायप्रेमी’ मा अभिनय गरेको चाहिँ सम्झना छ ।’

त्यसपछि उनी राजनीति विचारधाराको भारी बिसाएर नाटकमा फुक्का भएर सहभागी हुँदै आए । आरोहण शनिवारदेखि आरोहण गुरुकुलसम्मको निरन्तर यात्रा गरेका फुयाँलले त्यसपछि पोखरेलको क्याम्प छोडेनन् । सचेतनामूलक सडक नाटक ‘सावधान’ मा विभिन्न जिल्लाका ४५ गाविसमा पुगेर ६० प्रदर्शनीसम्म उनले अविराम अभिनय गरे । अर्को सडक नाटकमा त ६८ प्रदर्शनीसम्म अभिनय गरे तर बिरामी परेकाले त्यसपछिका प्रंदर्शनीमा सहभागी हुन पाएनन् । यस सडक नाटकको एक सय १५ प्रदर्शनी भएको थियो । आरोहणकै पछि लागेर आफूले किरोवस्थामा छाडेको कोलकाता र बङ्लादेशसम्म पुगेर रङ्गमञ्चको धित मारे । तर उनी भन्थे- ‘पाँच वर्षको उमेरमा रङ्गमञ्चको जुन तिर्सना मलाई लागेको थियो, त्यसको धित अहिलेसम्म पनि मरेको छैन ।’ रङ्गकर्मीद्वय हरिहर शर्मा र सुनील पोखरेल उनका आदर्श रङ्गकर्मी हुन् । उनी यी दुईजनाको जति योगदान राज्यले पनि पुर्याउन नसकेको विचार प्रकट गर्थे ।

खाट ओछ्याएर बाँसले छाना छापेको डबलीनाटकबाट अभिनय सुरु गरेर आधुनिक रङ्गमञ्चको तिरिमिरीमा पाउ राख्दा पनि तृष्णा मेट्न नपाएका यी रङ्गकर्मी जीवनभरि त्यही तृष्णाकै पछि दौडिरहे र डौडिँदा डौडिँदै पाँच दर्जनजति नाटक, तीन सयजति टेलिफिल्म र ४८ वटा ठूला फिल्ममा खेले । अन्ततः अभिनय गर्दागर्दै रङ्गमञ्चमै जीवनयात्रा बिसाउने भाग्यमानी अभिनेता हुनपुगे । उनी अभिनय गर्दागर्दै रङ्गमञ्चमै जीवनयात्रा बिसाउने विरलै भाग्यमानी अभिनेता हुनपुगे ।

सङ्गीतकर्मी, चलचित्रकर्मी या रङ्गकर्मीहरूलाई उनीहरूको अन्तिम इच्छा सोध्दा अधिकांशको उत्तर हुन्छ, त्यही क्षेत्रमा काम गर्दागदै मर्न पाऊँ !’ गायक गायिकाहरू भन्छन् स्टेजमा गाउँदा गाउँदै मर्न पाए हुन्थ्यो । चलचित्रका अभिनेता- अभिनेत्रीको पनि जबाफ यस्तै हुन्छ- क्यामेराअघि ‘सट’ दिँदादिँदै मर्न पाऊँ । झन् रङ्गकर्मी त यस मामलामा अझ स्पष्ट हुन्छन् । भन्छन् ‘मञ्चमा अभिनय गर्दागर्दै मर्ने इच्छा छ ।’

तर सारै नगण्यले मात्र यो अवसर पाउँछन् । रङ्कर्मी विष्णुभक्त फुयाँललाई यो अवसर प्राप्त भयो । १७ पुस २०७३ को सन्ध्या, राष्ट्रिय नाचघरमा सत्यमोहन जोशीलिखित तथा वद्री अधिकारीद्वारा निर्देशित ‘याज्ञवल्क्य’ नाटकमा राजा जनकको भूमिका निर्वाह गर्दागर्दै उनी मञ्चमै ढले र त्यहीँ बिते ।


रमण घिमिरे
[email protected]