संस्मरण

हिजो आइतबार हरिशयनी एकादशी २६ असार छिन्नलता गीत पुरस्कार गुठीद्वारा सातदशकदेखि हालसम्म नेपाली गीत संगीतमा साधनारत विशिष्ट साधकहरूलाई पूर्व प्रधानमन्त्री केपी ओलीले नगदसहित प्रमाणपत्र प्रदान गर्नु भयो ।
गुठीका सचिव गीतकार दिनेश अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । दुई वर्ष कोरोनाका कारण स्थगित भएको सम्मान पुरस्कार पनि यसै वर्ष प्रदान गरिएको छ । छिन्नलता गीत पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत हुने बि सं २०७६ का लागि जसयोञ्जन प्यासी (गीत रचना) हरि लम्साल (संगीत रचना ) सुनिता सुब्बा (गायन)लाई सम्मान पुरस्कार प्रदान गरिएको छ ।
बि सं २०७७ का लागि आनन्द अधिकारी (गीत रचना) शान्तिराम राई (संगीत रचना) शम्भु राई (गायन) यसैगरी बि सं २०७८ का लागि वसन्त चौधरी (गीत रचना) आनन्द राई (संगीत रचना) पवित्र सुब्बा -गायन)लाई सम्मान पुरस्कार प्रदान गरिएको छ । छिन्नलता गीत युवा प्रतिभा पुरस्कार अस्मिता अधिकारी (२०७६) मिलन नेवार (२०७७) एलिना चौहान(२०७८)लाई सम्मान पुरस्कार प्रदान गरिएको छ ।
बि सं २०७८ को छिन्नलता गीत विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई प्रदान गरिएको छ । गुठीको सह सचिव डा गीता त्रिपाठीद्वारा सम्मानित प्रतिभाहरूको परिचय सम्मानित सभालाई राख्नु भएको थियो । सम्मानित प्रतिभाहरूको तर्फबाट श्रीमती जसयोन्जन प्यासीले बोल्नु भएको थियो । प्यासी अस्वस्थ भएको कारण श्रीमती प्यासीले उक्त सम्मान पुरस्कार ग्रहण गर्नु भएको थियो ।
यसैगरी गायिकाको तर्फबाट सुनिता सुब्बाले बोलेकी थिइन । बि सं २०७८ को गीत रचनाबाट सम्मानित हुने प्रतिभा गीतकार वसन्त चौधरीले वरिष्ठ गीतकार श्रीमती रमोलादेवी शाह छिन्नलताको १००औं जन्मजयन्तीमा आफू सम्मानित हुन पाउँदा गौरवबोध भएको र आफ्नो अश्रुमिश्रित नयनबाट श्रद्धा व्यक्तगर्नु भयो र छिन्नलताको नाम युगौँसम्म रहने बताउनु भयो ।
छिन्नलता गीत विशेष सम्मान प्राप्तगर्नु हुने वरिष्ठ संगीतकार कर्म योन्जनले आफूले निरन्तर साधनागर्दै आएकोमा गुठीले सम्मान गर्दा खुशी लागेको बताउनु भयो । गुठीको उत्तराधिकारी छिन्नलताको पनाती १३ वर्षको कविले वातावरण सम्बन्धि अंग्रेजी कविताको रचनावाचन गरेका थिए । गायिका मिलन नेवारले उनको चर्चित गीत“फूलबुट्टे सारी’गाएकी थिइन ।
गायक शम्भु राईले झुपडीमा बस्नेलाई नूनको पीर, महलमा बस्नेलाई सुनको पीर गाएका थिए । उक्त कार्यक्रममा छिन्नलताको रचना, गायक फत्तेमान राजभण्डारीको स्वरको गीत सांगीतिक समूहका एक गायकले प्रस्तुत गरेका थिए । कार्यक्रम गुठीको अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सञ्चालन भएको थियो । कार्यक्रम सञ्चालन नरेश भट्टराईले गरेका थिए ।