जसरी गाउँछ
बर्सातको कामुक कोरस बादलले
उसैगरी गाउँथ्यौ
यो वनको प्रिय झ्याउँकीरी गीत !
र त्यही गीतको धागो बाटेर
म बेस्सरी उडाइरहन्थेँ
बादलको फूलमाथि त्यो पिरतीको चङ्गा !
वयस्क शिशिरजस्तै,
ह्रदयका लजालु डालीहरूमा
कति वेला पलाउँथे- रहरका पालुवाहरू
र पिठारीको छायाँ जिस्क्याउँदै
बैँसको चाल्नामा टेकेर
कसरी हिँड्थे- ती उद्दाम दिनरातहरू ?
अहँ, पत्तै भएन !
म त जुरेली चरी
फिरफिर- फिरफिर फिरफिराउँदै
नाचिरहन्थेँ- तिम्रै गुऐँली गुम्बजको वरिपरि !
००
जसरी सल्काउँछ
साउने घनघटाले पीडाको ज्वाला
उसैगरी सल्काइरहन्थ्यौ
आफैँभित्र भीषण आक्रोशको ज्वालामुखी !
र विचारको कुलेसो बनेर
काकाकुल रोएका मनहरूमा
निरन्तर बगिरहन्थ्यौ- विद्रोही आवाजको भेल
करमको बोटमा खोपिएको
एकअर्काको नाम मेटिएझैँ गरी
कसरी मेटिन्थ्यो- ती खुसीहरूको बाह्रखरी
र मक्किएको सुरुवालको इझारझैँ
कति वेला चुँडिन्थ्यो
पिरतीको दुबधागो आफ्नै अनुहारको गलाबाट ?
अहँ, थाहै हुन्नथ्यो
म त लालप्रेमी !
तिम्रा हरेक कासनहरूको सलेदो बाटेर
आँसुका तृषित थोपाहरूले,
जीवनको टुकी जलाईहेँ- रित्तारित्ता साँझहरूमा !
००
जसरी भत्काउँछ
धैर्यको अग्लो बाँध दुःखको बाढीले
उसैगरी भत्काउँछु भन्थ्यौ
यो धर्तीका हज्जारौँ असमान पर्खालहरू !
जसरी फुटाउँछ
चकमन्न रातको दैलो मिरमिरेले
उसैगरी फुटाउँछु भन्थ्यौ
यो शैतानी सत्ताको नस्लिय मस्तिष्क !
र मीठो सपना भएर
सीमटारमा छरिएको मकैको बिउझैँ
लहलहाउँदै उम्रिन्छु भन्थ्यौ
यो समयले कुल्चिएको मनको वियाडभरि !
००
बिडम्बना !
धनुषकाँणबाट छुटेको तीरजस्तै
निसानी तारो हान्दा- हान्दै
अकस्मात् अनुवाद भयौ
लालीगुराँसका थुँगाहरूमा
नअस्ताउने तारा बनेर !
००
जसरी फैलिन्छ
वसन्तको रूमानी बैँस वनैभरि
उसैगरी फैलाउँछु भन्थ्यौ
विचारको नदी रसाउने त्यो जरुवाको मूल !
जुन लोरी सुनेर
लुपुक्कै निदाउँछन- कन्हैयाजस्ता नानीहरू
त्यही लोरीको तान हालेर
सुटुक्क बुन्छु भन्थ्यौ
यो पृथ्वी सुताउने एउटा फराकिलो गुन्द्री !
र जसरी बजाउँछन्
विरह फुटाउने पिपिरी- पात गोठाल्नीहरूले
उसैगरी बजाउँछु भन्थ्यौ
यो संसार ब्यूँझाउने बारुदको धमाके धुन !
००
बारुदसँग,
वालन खेल्दाखेल्दै
तिमी आफैँ बारुदको धूवाँ बन्यौ !
र त्यही धूवाँको निवले
म आज लेखिरहेछु- एउटा विद्रोही गीत !
जुन गीतको मूच्र्छनाहरू सुनेर
अजम्मरी अनेकोट
अब मुस्कुराइरहनेछ- क्रान्तिका हजारौँ रङहरू !