• २०८१ भाद्र २४ सोमबार

बीचैमा अलमलिएकी उम्दा गायिका

रमण घिमिरे

रमण घिमिरे

सम्हालेर राख, सजाएर राख
फेरि फुल्ने हो कि होइन, यौवनको फूल

यो गीत नगुनगुनाउने सायदै कुनै पुस्ता होला । झन् यो गीत नसुन्ने त सायदै कुनै पुस्ता होला । आजसम्म नेपाली आधुनिक गायनमा गायिका शान्ति ठटाललाई यो एउटै गीतले स्थापित गरेको छ ।

त्यस वेलाको दार्जिलिङभर्खर सहरमा विकसित हुँदै थियो । मानिसका अवधारणाहरू विस्तारित भइसकेका थिएनन् । त्यसैले परम्पराको लट्ठी टेकर हिँडिरहेको थियो समाज । यही सामाजिक परिवेशको काखमा जन्मिएकी थिइन् शान्ति ठटाल । बुबाले बिहान- बिहान भजन गाउँथे । सङ्गीत- गायन भनेको भजन थियो र मनोरञ्जनको एक मात्र माध्यम पनि भजन नै थियो । ठटालको स्वर सानैदेखि सुरिलो थियो । उनी सुरुसुरुतिर बाबुकै स्वरमा स्वर मिलाएर भजन गाउँथिन् । तर विस्तारै आधुनिकताको अलि फराकिलो ‘चौरस्ता’ टेकेपछि दार्जिलिङ डाँडामा हिन्दी सिनेमाका गीत पनि बज्न थाले । यद्यपि सिनेमाका गीत त अलइन्डिया रेडियोबाट अघिदेखि नै प्रसारित भइरहेका थिए तर शान्तिले भने अलि पछि सुन्न थालिन् । यसमा पनि लता मङ्गेशकरका गीतहरू उनको गायकीलाई तिखार्ने माध्यम हुनपुगे ।

लताका नयाँ गीतहरू नसिकेसम्म उनलाई निद्रा नलागेजस्तो हुन्थ्यो । यति सीमान्त फ्यान थिइन् उनी लताका गीतको । वास्तवमा लताका अति नै अप्ठ्यारा गीतहरू गाउनुपर्छ भन्ने जिद्दीले नै उनलाई गायिका बनायो । जति नै कठिन मूच्र्छनामा गाइएकाभए पनि लताका गीत उनी सिकेरै गाउँथिन् । यसो गर्दा उनको मन प्रफुल्ल हुन्थ्यो । हृदयमै घाम लागेको अनुभव गर्थिन् । पछि स्थापित गायिका भएपछि उनलाई अलि घमण्डी, कसैलाई नटेर्ने भन्थे समकालीन, अनुज पुस्ताले । सायद उनमा यो स्वभाव सानोमा लताका यस्ता अप्ठ्यारा गीतहरू सिक्दा नै विकसित भएको हुनुपर्छ । लताका गीतहरू गाउन थालेपछि उनलाई सङ्गीतको सारेगम पनि सिक्नु परेन ।

यी पाँच–छ कक्षामा पढ्दाका कुरा हुन् । उनी घरमा लताकै गीत गुनगुनाउँथिन् तर कसैले वास्ता गर्दैनथे । आफ्नै परिवारमा भविष्यकी एक धुरन्धर गायिकाको स्वर गुन्जिँदैछ भन्ने कसैलाई कल्पना थिएन । उनी स्वयम्लाई त थाहा थिएन । उनले भनेकी थिइन्– ‘कालान्तरमा आज यही सङ्गीत मेरो जीवन भयो, यो मैले पनि सोचेकी थिइनँ ।’

घरमा अनुशासन पहिलो पाठ थियो । बुबा आर्यसमाजका परम् अनुयायी थिए । भजन छोडेर सिनेमाका गीत गाउनु, त्यो पनि छोरीले– उद्दण्डै हुन्थ्यो । टाउको नउठाई किताब र कापीमा घोप्टिएको मन पराउने बुबा पढेर मात्र जीवन सार्थक हुन्छ भन्ने मान्यतामा विश्वास राख्थे ।

तर मनले विद्रोह गरिसकेपछि कसैले बाटो छेक्दैमा यात्रा रोकिँदैन । र, शान्ति ठटालको गायनयात्रा पनि रोकिएन । त्यसवेला नेपालबाट दार्जिलिङ जाने कविहरूको स्वागत–सम्मानमा सांस्कृति कार्यक्रम हुन्थ्यो दार्जिलिङमा । उनले यस्तै कार्यक्रममा पहिलोपटक गोर्खा दुःख निवारक सम्मेलन (जिडिएनएस) को हलमा गीत गाएकी थिइन् । ‘त्यसपछि म सङ्गीतमा लागेको लाग्यै भएँ ।’

उनको स्कुल सेन्ट तेरेजाबाट सुरु भयो । तर गीत–सङ्गीतले यति हुरुक्क पा¥यो, उनी कक्षा आठमा पढ्दापढ्दै किताब–कापी झोलामा थन्क्याएर गायनमा लागिन् । उनलाई पढाइमा खासै चासो थिएन पनि । त्यसैले उनी लद्दु विद्यार्थीमा गनिन्थिन् । तर गाउन पाए खानुपिउन नै पर्दैनथ्यो, गाएरै भोक–तिर्खा मेटिन्थ्यो । छोरीको गायनको यस्तो हत्ते बुझेपछि उनलाई पढाइमा घोटाउन नसकिने रहेछ भन्ने बुझे बा–आमाले छोरीले पढेर खान्न बरु गाएर खाली कि भन्ने निष्कर्षमा पुगे । अनि उनलाई कोलकातामा सङ्गीत सिक्न सिलिगुढीबाट बाबुले रेल रेल चढाइदिए आमासँगै ।

यसरी उनले त्यहाँको रवीन्द्र–भारती सङ्गीत विद्यालयमा गायनकलामा शिक्षा लिइन् । यो सन् १९५७ को कुरा हो । पछि स्वरसम्राट नारायणगोपालले पनि दि महाराजा सायजीराव विश्वविद्यालय बरोदामा यस्तै शिक्षा लिएका थिए । ठटाल र नारायणको विचार संयोगले अर्को एक सन्दर्भमा पनि ठ्याक्कै मेल खान्छ । रवीन्द्र–भारतीमा तीन वर्ष अध्ययन गरेपछि यहाँ भन्दा बढी घोटियो भने शास्त्रीय गायिका भइन्छ भनेर ठटाल तीन वर्षपछि पढाइ छोडेर दार्जिलिङ फर्किइन्, त्यसरी नै नारायणगोपाल पनि आधुनिक गायनका लागि योभन्दा बढी सिक्यो भने शास्त्रीय गायक भइन्छ भनेर नै बीचैमा अध्ययन छाडेर बरोदाबाट फर्केका थिए ।

ठटालको हकमा भने अर्को एउटा घटना पनि घट्यो । उनको स्वरमा हस्कीपन आयो । स्वर परिवर्तन भयो । त्यसैले उनी पढाइलाई निरन्तरता नदिने निर्णय गर्दै दार्जिलिङ फर्किन् ।

दार्जिलिङ आएपछि लोक–मनोरञ्जन शाखामा डेढ वर्षजति काम गरिन् । त्यसपछि फेरि पहिला आठ कक्षामा छोडेको स्कुले शिक्षालाई निरन्तता दिइन्, प्राइभेटबाट । र लरेटो कलेजबाट स्नातक पूरा गरेर उनी सिक्किम गइन् । यो सन् १९६८ तिरको कुरा हो । त्यतिवेला सिक्किममा राजा नामग्यालकै शासन चल्थ्यो ।

यसिअघि अर्थात सन् १९६५ देखि उनले सङ्गीतसिर्जनामा पनि हात हालिन् । भानुभक्तमाथि उनकै शिक्षिका भाउजू शशी ठटालले लेखेको गीतमा पहिलो सङ्गीत गरिन्–

‘साहित्याकाशमा उदाए भानु
उज्यालो नेपाली संसार
रहला याद अनन्तसम्म
यो उन्तीस गते असार ।’

पछि उनै शशीले ‘मायालुले सम्झे कि कसो, बाडुली लाग्यो नि, लाग्यो नि, लौ मलाई’ बोलको गीत लेखेकी थिइन्, जुन गीत दावा ग्याल्मोको स्वरमा औधी लोकप्रिय भएको थियो ।

लोक–मनोरञ्जन शाखामा उनी आवद्ध हुँदा नेपाली सङ्गीतका मूर्धन्य सङ्गीतज्ञ अम्बर गुरुङ, गोपाल योञ्जन, इन्द्र थपलिया, रन्जित गजमेर, मनबहादुर गुरुङ आदि त्यहीँ थिए । त्यही वेला अम्बर गुरुङले ‘सम्हालेर राख’ रचेका हुन् । तर गुरुङले बनाएको ‘सम्हालेर राख’ को पहिलो लय ठटाललाई मन परेन् । ‘त्यहीँ काम गर्दा मलाई उहाँले यो गीत सिकाउनुभएको थियो, त्यो अर्कै लयमा थियो’, ठटालले मसँग भनेकी थिइन्– ‘कुन्नि किन मलाई त्यो त्यति मन परेन र गाउन चासो देखाइनँ अनि उहाँले अर्को लय बनाउनुभयो, जुन मैले आफ्नो स्वरमा रेकर्ड गरेँ ।’

उनले २०२१ सालमा पहिलोपटक रेडियो नेपालमा यो गीत रेकर्ड गराएकी थिइन् । त्यसताका राजा महेन्द्रको जन्मोत्सवमा दार्जिलिङका कलाकारहरू बोलाएर साङ्गीतिक–सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थ्यो । यसै सिलसिलामा ढटाल, शरण प्रधान, अरूणा लामाहरू काठमाडौँ आएका थिए । यो गीत यसअघि रेकर्ड भएको थिएन, उनी कार्यक्रमहरूमा गाउँथिन् मात्र । हो, रेडियो नेपालमा रेकर्ड भएर प्रसारण हुनथालेपछि ‘सम्हालेर राख’ औधी लोकप्रिय भयो । यो एउटै गीतले शान्ति ठटाललाई आजसम्म उच्चकोटिको गायिकामा स्थापित गराएको छ ।

उनी उमेर घर्केपछि लरेटो कलेजमा भर्ना भए पनि कम्मर कसेर पढाइमा लागिन् । यो कन्या कलेज थियो । कत्तिले उनलाई प्राध्यापक सम्झिन्थे र आफूजस्तै विद्यार्थी भएको थाहा पाएपछि जिस्काउँथे पनि । तर त्यहाँ आफ्नो विलक्षण गायनका कारण उनले छोटो समयमै सबैको मन जितिन् र सबैको प्रिय भइन् । त्यही वेला कवि ईश्वरवल्लभको निबन्धात्मक कविता ‘एउटा नीलो सूर्यास्त’ लाई ठटालले ‘क्यान्टेटा’मा रूपान्तरित गरी धुनवद्ध गरिन् ।

उनी कलेज जाँदा बाटोमा माला देख्थिन् र त्यसमा आफूलाई एकाकार गर्थिन् । सोच्थिन्– आफूले राम्रो कम्पोज गर्न सकिन् भने यो माला गलामै बस्छ, सकिनन् भने त्यो माला तल झर्छ र सबैले लत्याउँदै हिँड्छन् । यही सोचर उनले ‘एउटा नीलो सूर्यास्त’ मा माला गलामै पहिरौने गरी कस्सेर धुनहालिन् । यो धुन उनको यात्रामा चहकिलो र उज्यालो सूर्योदय सावित भयो । अनि उनी नेपाली सङ्गीतमा साँच्चिकै उदाइन् ।त्यसवेलाका स्थापित लेखकहरूले उनको प्रशंसामाअनेकौँ मालाहरू पहिराईदिए ।

त्यसपछि उनले भवानी भिक्षुको कथा ‘त्यो फेरि फर्कला’ मा काम गरिन् । कथालाई कवि अगमसिंह गिरीले गीतिनाटकमा रूपान्तरण गरेका थिए । त्यो दार्जिलिङको ल्याम्प्स (लिटरेचर, आर्ट, म्युजिक, पेन्टिङ्, स्कप्चर) भन्ने संस्थाले गरेको थियो । यो गीतिनाटक आफैँमा अविस्मरणीय हुनपुग्यो ।

त्यसपछि हो उनले प्रताप सुब्बाको चलचित्र ‘परालको आगो’ मा कर्णप्रिय सङ्गीत दिएकी । त्यसलगत्तै उनीगान्तोक (सिक्किम) पुगेर २३ वर्ष त्यहीँ त्यहीँ भासिइन् ।‘परालको आगो’ को सफलतापछि निर्देशक सुब्बाले अर्को चलचित्र ‘बाँच्न चाहनेहरू’ को सङ्गीतको जिम्मा पनि उनैलाई लगाए । गान्तोकमै बसेर सङ्गीत गरिन् । यसरी उनी चलचित्रकी पहिलो अहिलेसम्म एक्लो नारी सङ्गीतकार हुनपुगिन् ।

सिक्किमबाट फर्केपछि दार्जिलिङमै बसेर उनले रेडियो खर्साङका लागि सङ्गीत भर्ने र गाउने काम गरिरहिन् ।

सङ्गीतको आरोह–अवरोहमा यात्रा गर्दा उनको आफ्नै जीवनमा पनि अनकौँ आरोह–अवरोहहरू आए । खर्साङ रेडियोमा एकजना तबला ओस्ताद थिए, बल्लु खाँ । उनले ठटालको स्वरको विलक्षणतालाई बुझेका थिए । रउनलाई कुनै ठूलो सङ्गीतकारसँग भेटाइदिन भनेर भुटभुटिइरहन्थे । यही वेला पटनामा एक बृहत् सङ्गीत सम्मेलन भयो । त्यहाँ भारतका प्रख्यात सङ्गीतज्ञहरू आएका थिए । तिनै खाँले उनलाई त्यहाँ पुर्याए र सङ्गीतका एक खास व्यक्तिसँग भेटाइदिए । तिनलाई भेटेपछि ठटालले ती मानिस असाधारण रहेछन् भन्ने बुझिन् । उस्ताद खाँले ठटालको परिचय दिँदै भनेका थिए ‘बम्बैकी प्रसिद्ध ठुमरी गायिका निर्मलाकै कोटिकीगायिका हुन् यिनी ।’ त्यस्तो प्रसिद्ध कलाकारसँग दाँजेपछि ठटाललाई कहाँ आएछु, कसरी इज्जत जोगाउनु जस्तो लागेछ । सुरुमा त ती प्रभावशाली व्यक्तिले पनि उनलाई सामान्य गायिका नै ठानेका रहेछन् र सोधे– ‘गाना जानता ?’ यो सुनेर उनी रिसले भित्रभित्रै मुरमुरिइन् । केही नबोली बसिन् । उस्तादले एकदमै नम्र भएर अनुरोध गरे– ‘तिमी एउटा भजन गाइदेऊ न !’ अनि उनले हार्मोनियम तानेर रागमा आधारित कृष्णको एउटा भजन गाइदिइन् । गायनले तिनलाई असर गरेछ, उनी गाइसकेर बाहिर बगैँचाको फोहोराको छेउमा बसेर टोलाइरहेको वेला ती व्यक्ति उनलाई खोज्दै आएर छेउमा बसे र नम्र लवजमा भने– ‘तिमी रिसायौ, हो ?’ तिनले ठटाल रिसाएको थाहा पाइसकेछन् । तिनले थपे– ‘म तिमीलाई एउटा कुरा भन्छु– मेरो घरमा इन्डियाका टप–टप शास्त्रीय गायक–गायिकाहरूले गाइसकेका छन् । तर आज मलाईतिम्रो एउटै भजनले मोहित पार्यो । यो म जीवनभरि सम्झी रहने छु ।’ यो सुनेर उनको भित्री मनमै खुसीको फोहोरा झरझराएजस्तो भयो । अनि उनका रिस, आवेग, असन्तुष्टि जेजति थिए ती सबै त्यही फोहोरामा मिसिएर तलाउमा खसे ।

सिक्किम जानुअघिको घटना हो । उनी दार्जिलिङ घरमा एक्लै बसिराखेकी थिइन् । अग्लो, गोरो, सेतो अल ओएदरको कोट लगाएको, काँधमा ब्याग भिरेको एउटा मान्छे भित्र पस्दै गरेको देखिन्, दैलोको ऐनामा । नियालेर हेरेको त नारायणगोपाल पो रहेछन् । ‘कताबाट’ भनेर सोधिन् । उनी बरोदाबाट आएका रहेछन् । त्यसपालि उनी केही दिन नै बसे दार्जिलिङ । नारायण बिहानै ठटालको घरमा छिर्थे र दिनभरिजसो हार्मोनियममा गीत गाउँथे । उनले एक दिन भनिन्– ‘मैले दुइटा गीतमा लय हालेकी छु, तिमीले पत्याउँदैनौ होला ।’ उनीहरू एकअर्कालाई तिमी सम्बोधन गर्थे । उनलाई थाहा थियो नारायणगोपालजस्तो गायकलाई गाउन लगाउन ठूलो आँट चाहिन्छ । लरतरो गीत उनले गाउँदै गाउँदैनन्, एकदमै ‘चुजी’ गायक हुन् उनी । त्यसैले उनले कहिल्यै आफ्नो विशिष्ट गलालाई सामान्य गीतमा खर्चेनन् । ‘तिमीलाई नै सम्झेर कम्पोज गरेकी हुँ, होइन भने यी हेर’ भनेर मैले डायरीको पाना पल्टाएर नै देखाइदिएँ । त्यसमा मैले फर ‘एन’ लेखेकी थिएँ ।’ नारायणले त्यो डायरी हेरे । ठटालले ‘मेरो कथा खालीखाली पिञ्जडामा खोज’ सुनाइन् । नारायणले मन पराए । ‘मैले बोल्नै भएन’ पनि सिकाइन् । ‘मेरो कथा’ गगन गुरुङ र ‘मेरो कथा’ मनबहादुर मुखियाका शब्द हुन् । उनले दुइटै गीत सिकेर काठमाडौँ फर्किए । ठटाल नारायणले दुइटा गीत गाइदिने भए भनेर सुखी भइन् । तर रेडियोमा ‘मेरो कथा’ मात्र गाए । अर्को गीतचाहिँ शरण प्रधानको मृत्युपछि अम्बर गुरुङले आयोजना गरेको अरुणा लामा साँझमा एकपटक गाएका रहेछन् ।तर ‘सानो कुरामा पनि आशङ्का गर्ने तत्कालीन पञ्चायती रेडियो नेपालले ‘मैले बोल्नै भएन, …मनको कुरा गर्नै भएन, …सत्यहरू मरेजस्तो, असत्यले जितेजस्तो’ शब्दहरूलाई पञ्चायत विरोधीको मोहर लगाएर रेकर्ड गर्न भाँजो हालेछ । पछि यो गीत रामकृष्ण ढकालको स्वरमा रेकर्ड भयो ।

वास्तवमा शान्ति ठटाल थोरै आफ्नो खरो स्वभावको कारण कसैसँग सजिलै नमिल्ने भएकी र सिक्किमको जागिरे व्यस्तताका कारण मूलधारको गायन र सङ्गीतबाट पाखा लागिन् । तर उनी विशिष्ट प्रतिभा भएकी गायिका थिइन् । वरिष्ठ सङ्गीत–समीक्षक, दार्जिलिङमा अम्बर गुरुङको बेस गिटारिस्ट् पिटर जे. कार्थकले त्यसवेलाको नेपाली सङ्गीत र सङ्गीतकार, गायक–गायिकाहरूलाई नजिकबाट परखेका छन् । यही परख समेटेर कार्थकले ‘नेपाली सङ्गीतस्रष्टा’ नामक एक पुस्तक लेखेका छन् । यस पुस्तकमा उनले ठटालको गलाबारे जे लेखेका छन्, त्यो आफैँमा टिप्पणीयोग्य छ । पुस्तकमा उनले ठटालको व्यक्तिगत बानीव्यहोराको सारै तीतो टिप्पणी गरेका छन् तर स्वरको बारेमा उनैले लेखेका छन्– ‘नेपाल र भारतका एक दर्जनभन्दा बढी प्रमुख नेपाली बसोवासका ठाउँ सिक्किम, भुटान र अन्यत्रका गरी सम्पूर्ण नेपाली विश्व के कुरामा सहमत छ भने शान्ति ठटाललाई टक्कर दिने अर्को गायक (गायिका) छैन, उनीपछि यसबीचमा कोही यस्तो गायक (गायिका) आएको पनि छैन ।’ तर उनले पछि आफ्नो गायनमा कुनै करामत देखाउन सकिनन् । यसको कारण पनि उनै पिटरले औँल्याएका छन् । लेख्छन्– ‘उनको स्वरनली अथवा रुद्रघन्टीमा सानो खटिरा वा कुनै गाँठो थियो, जसले अतुलनीय प्राविधिक क्षमता भएर पनि स्वरलाई समधुर ढङ्गले पूरै फुकाउन बाधा पाथ्र्यो । …यदि त्यो खटिरा वा गाँठो निकाल्न सकेको भए उनले मङ्गेकर दिदी–बहिनी, गीता दत्त र अरू बम्बैया फिल्मका गायिकाहरूलाई सजिलै पछार्ने थिइन् ।’


रमण घिमिरे
[email protected]