• २०८१ श्रावाण १ मङ्गलबार

ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

काठमाडौँ/१३ चैत २०७८

मुलुकको अन्तरदेशीय सिमानाको इतिहास बुझाउने पुस्तक ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स रिलेटेड टु नेपाल’ शनिबार प्रकाशित भएको छ । वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठको शुक्रबार सार्वजनिक उक्त पुस्तकमा नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रका ९० विभिन्न नक्साहरू र ४४ विस्तृत विवरण भएका नक्साहरू र तिनको व्याख्यासमेत छ ।

सीमाविद् श्रेष्ठले विभिन्न पुस्तकालयबाट किनेर र अनुमति लिएर मुलुकको अन्तर्राष्ट्रिय सीमाको यथार्थ बुझाउने नक्साहरू हात पारेका थिए । उनले हावर्ड विश्वविद्यालय, बृटिस म्युजियम, जोन एफ केनेडी प्रेसिडेन्सियल लाइब्रेरीलगायत पुस्तकालयबाट नक्साहरू प्राप्त गरेका हुन् ।

उनको पुस्तकले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूभाग कसरी शताब्दियौंँदेखि नेपालको थियो र हो भन्ने ऐतिहासिक नक्साहरूले बोल्छन् भन्ने प्रस्ट पारेको छ ।

सन् १९१८, सन् १९२७, सन् १९५० र सन् १९६५ का नेपाल-भारत सिमानाका नक्साहरू पाएको र त्यसले प्रस्टसँग काली नदीको मुहान उल्लेख गरेको भन्दै भारतले २ नोभेम्बेर २०१९ मा आफू खुसी नक्सा जारी गरेर नेपालको भूभागमा आफ्नो दाबी जनाएको पुरस्तकका लेखक श्रेष्ठले बताए ।