दोबाटोको सङ्गममा
दुइटा गुराँस हाँसेजस्तै
भेटिएका थियौँ तिमी र म
बसेका थियौँ त्यही चैतारीमा
एक- अर्कालाई
छोएर मनदेखि मनसम्म
तिमी भेट्टियौ र
दौडिएको थियो संसार
तय गर्न मन थियो
माइलौँमाइलको यात्रा
समाएर एक- अर्काको हात
तर थाहा नै छ प्रिय
कुनै मोडको दोबाटोमा
फेरि हाम्रो बाटो छुट्ने छ
र याद बनेर बस्ने छौँ
हामी एक- अर्काको मुटुमा !
दोबाटोमा पुगेपछि
सायद बाटोले पनि
दिनेछ मौन स्वीकृति
तिमी जाने छौ,
म छुट्ने छु
तर तिम्रा यादहरू
सँगै रहने छन् !
हामी छुट्ने छौँ प्रिय
अहिलेसम्म कस्सिएर समाएका
हातहरू छुट्ने छन्
अँगालोमा बेरिएका
साथहरू छुट्ने छन्
सहस्र चुम्बनका
मिठासहरूसँगै
न्यानो स्पर्शको
आभासहरू छुट्ने छन्
तटस्थ बस्ने छन्
सँगै हिँडेका बाटाहरू
मात्र हाम्रा पाइला
जाने छन्
तिनै पाइलाले मुटुमा
बनाएका डोबहरू
अल्झिरहने छन्,
बल्झिरहने छन्
आँसु झर्दाझर्दै ओठ
मुस्काउने छन्
सायद अघिल्लो मोडमा
हामी छुट्टिने छौँ
यो निश्चिततापछिका
शेष दिनहरू
तिमी एक्लै, म एक्लै हुनेछौँ
मिलन भत्केको त्यो दोबाटोको
बेस्सरी याद आउने छ र
सम्झनामै अङ्कमाल गरी
मनाउने छौँ बेस्सरी रोएर बिछोडको पीडा
हामी छुट्टिनुभन्दा अगाडि
मेरी प्रिय !
हाम्रो यो प्रेम भोलिको इतिहास नबन्दै
यौटा ऋतु फुल्नु छ
रमाएर एक टुक्रा जीवनले
एक युग बाँच्नु छ
उमङ्गका फूलहरू फुलिसक्न नपाउँदै
सपनाको मीठो रहर मेटिनसक्दै
उत्सवजस्तै रमाइलो यात्रा
छोडिने छ डोब बनेर
त्यही डोबभित्र तिम्रो आकृति
ढुकढुकाउने छ बाडुली बनेर
स्वीकार्दै जीवनको गति
आऊ हामी छुट्टिनुअघि
कहिल्यै नछुट्टिने कसम खाऔँ
मुटुदेखि मुटुसम्म
सम्झनादेखि सम्झनासम्म !!