जंगली फूलहरु फुलेको भिरालोमा
पैतालाको काँडा झिक्तैथेँ, हजूर!
बाघ चितुवाको शिकार
खेले जस्तो होइन
मान्छेहरु जस्तै
मान्छेहरुले जस्तै
सुसेल्दै, गीत भन्दै
छिल्लिँदै र जिस्किँदै
बनपाले र उनका मतियारहरुले
मेरो ज्यानसँग
जथाभावी गरे
मेरो इज्जत सबै लुटे
मलाई रक्ताम्मे पारे
काल नआएकी म
मर्न सकिनँ, हजूर ।
माइती एकादेशमा
लोग्ने निम्छरो
ठूला- बडाको मुख हेरी
गाउँलेहरुले मलाई यहाँ ल्याइदिए, हजुर ।
बाहिर मेरो रक्षे गर्ने कोही छैन
मलाई ऊ त्यो झ्यालखानाभित्र
राखिदिनुहोस्, हजुर !
झ्यालखानाभित्र ।