• २०८० मंसिर १५ शुक्रबार

अवसर भन्नु नैं समय

विष्णुविभु घिमिरे

विष्णुविभु घिमिरे

जीवन हामीले सोचेजस्तो पनि हुँदैन, हामीले नसोचेजस्तो अलौकिक चमत्कारीपूर्ण पनि छैन । जे हुन्छ, त्यो भोग्नुपर्छ । भोग्नु एउटा नियति हो । मानव सृष्टिदेखि आजसम्म यही क्रम छ । मानिसको शक्ति, सामथ्र्य र उपायभन्दा बाहिर कुनै कुरा हुन्छ भने यसलाई नियति भनेर चित्त बुझाउन बाहेक हामीसँग विकल्प नैं के छ र ! समयको आफ्नै प्रवाह छ, बाँच्नुको अनुभुति र सत्य आ-आफ्नै छ । बुद्धले सबैभन्दा दुःखी जीवनलाई देखे । संवेदना, चिन्तन, भावना र विवेकजस्ता कुराहरू यो दुनियाँमा रहेसम्म मानिस सधैँ कुनै न कुनै चोटबाट आक्रमित छ । फेरि यी कुराहरू नभए जगतको अस्तित्व र जीवनको प्रतिष्ठा नैं कहाँ रहन्छ र ? ‘जस्तो पर्छ उस्तै टर्छ’ भन्ने यो उक्ति सुन्दा अवश्य कठोर लाग्ला । तर यथार्थ यही हो, यथार्थ- यथार्थ नै हो यसबाट उम्केर बाँच्नु भनेको जगत् र जीवनप्रतिको सम्बन्धबाट मुक्त हुनु हो । मुक्ति भोगाइबाट भाग्दैमा अथवा भोगाइमैं लीन भएर बाँच्दैमा प्राप्त हुन्छ जस्तो लाग्दैन । बाँच्नु अझ चेतनामा बाँच्नु एउटा निरन्तर साधना हो, निरन्तर अभ्यास हो । यी साधना र अभ्यासको क्रममा मानिसको मन सङ्गठित र दुर्घटित भइरहन्छ । नियमित आकस्मिकता भित्र पर्ने यी यावत भूमण्डल आरम्भदेखि अहिलेसम्म समयको चक्रव्यूहबाट मुक्त छैन ।

समयको बदलिँदो मूल्य, मान्यता र स्थितिसँगै आफूलाई सँगसँगै लान सकेनौँ भने समयले हामीलाई वसन्तले छोडेर गएको एउटा उदास रुखजस्तो बनाउँछ । त्यस्तो जीवनमा न कुनै उमङ्गको मुना पलाउँछ, न कुनै रहरको पालुवा जगमगाउँछ । त्यसवेला न कुनै साहसको इतिहास हुन्छ, न कुनै लक्ष्यको टुङ्गो हुन्छ । अवसर भनेको नै समय हो- त्यो हरेक मानिसको जीवनमा आँउछ । बुझेर अवसरको सदुपयोग गर्नेले नै साँचो मानिसको व्यक्तित्वमा बाँच्न सक्छ । बाल्यकाल, किशोरवस्था, जवानी, बुढ्यौली- एउटा- एउटा समय हो, एउटा- एउटा अवसर हो- ती सबै सत्य छन् र ती सबैको समुचित प्रयोगमा नैं जीवनले सार्थकता प्राप्त गर्छ । समयलाई घडीमा हेरेर होइन, आफ्नो उन्नति, प्रगति र व्यक्तित्व- प्रतिष्ठाका प्रसङ्गमा जाँच्नुपर्छ । बगिसकेको नदी र समय कहिल्यै फर्कंदैन । राष्ट्रका मुस्कान बालकहरू हुन्, युवाहरू- राष्ट्रका मेरूदण्ड हुन् र बृद्धहरू राष्ट्रका प्रतिष्ठा हुन् । सबै उमेरले आफनो दायित्व बोक्नैपर्छ । अन्यथा राष्ट्रको परिचयले स्पष्टता प्राप्त गर्न सक्दैन ।