• २०८१ पौष २८ आइतबार

छेत्रीको कवितासङ्ग्रह सार्वजनिक

काठमाडौँ/फागुन २९ २०७८

शनिबार पोखरामा युवाकवि अमृत छेत्रीको कविता कृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित समारोहमा शनिबार वरिष्ठ साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठले कृति लोकार्पण गरेका हुन् ।

कविता लेखनमा कविले स्वतन्त्र उडान गर्न पाउनुपर्ने बताउँदै कवि सरुभक्तले कविता स्वयंमा शालीन र कोमल हुने भएकाले कवितालाई कित्ताकाट गर्न नहुने, कविलाई सीमामा बाँध्नु उचित नहुने उल्लेख गर्दै नेपाली कवितामा छेत्रीको उपस्थिति निकै भरोसालाग्दो बनेर उभिएको बताए ।

अर्का कवि श्रेष्ठले सूत्रात्मक अभिव्यक्तिमा कविता बुन्न कवि अमृतले कुशलता देखाएको उल्लेख गर्दै कविता आफैँमा छोटो अभिव्यक्ति भएकाले यसलाई अनावश्यक शब्दको बोझ बोकाउनु उचित नहुने कुरामा विशेष जोड दिए । कवि सरस्वती श्रेष्ठ ‘सरू’ले कवि अमृत पछिल्लो समय निकै क्षमतावान् बनेर उदाएकोमा आफूलाई खुसी मिलेको बताइन् ।

समीक्षक सञ्जीव पौडेलले कविताङ्ग्रहमा कवि अस्तित्ववादी, विसङ्गतिवादी, प्रकृतिप्रेमी भएको र उनमा देशभक्तिको भावना प्रमुख रूपमा मुखरित भएको सुनाए । उनले बहुविषयमा आधारित रहेर कोमल अभिव्यक्ति दिने कार्यमा कवि छेत्री सफल रहेको भन्दै कवितामा कोमलता हराउँदै गएको वर्तमान अवस्थामा त्यसलाई फेरि जगाउने कार्य गरेको उल्लेख गरे ।

विमोचित कवितासङ्ग्रहका कवि छेत्रीले आफ्ना कविताका रचना गर्भ र जीवनका अनुभूतिहरू सुनाएका थिए । कार्यक्रममा कवि ईश्वरमणि अधिकारी, दीपक समीप, चन्द्रवीर तुम्बापो, मीना श्रेष्ठ, मोहन भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।