भूकम्पदिवस,
अर्थात् माघ २ गते जन्मेकाले होला
जीवनमा सधैँ पराकम्पन आइरहन्छ ।
नक्सालमा जन्मे
तीन-चार क्लाससम्म शिवपुरी मावि
त्यसपछि प्याफलको कान्ति ईश्वरी अनि
तौलिहवा, बुटवल र एसएलसी पाल्पाबाट
पाल्पापछि फेरि काठमाडौँमा
यसरी बुवासँगै मेरो पढाइपनि
सरूवा र बढुवा भइरह्यो ।
मलाई गीत गाउन र नाच्न
खुबै मनपथ्र्यो
कलाकार बन्नेचाहिँ मन थिएन
रेडियो नेपालमा गीत नगाई त
मर्दिनँ भन्ने अठोट थियो ।
तर हुने कुरा अर्कै रै’छ
बसु दी (वसुन्धरा भुसाल)
मेरी साथी करूणा (आइजीकी छोरी) को
घरमा आइरहनु हुन्थ्यो,
त्यहीँ चिनजान भएको थियोे
एकचोटि उहाँले प्रकाश थापाले
नयाँ हिरोइन खोज्दै हुनुहुन्छ भन्नुभो
आन्टीले मलाई देखाउँदै
यसलाई लैजा खुब गीत गाउँछे/नाच्छे भन्नुभो
त्यसपछि मेरो फोटो लिएर जानुभो ‘बसु दी’
पहिले त ‘रिजेक्ट’ भएँ
तर पछि फेरि बोलाइएँ ‘स्क्रिन टेस्ट’का लागि
सायद आइजीकी साली भएर हो कि ?
त्यही फिल्मको अफिसमा
मैले करिश्मालाई पहिलोचोटि देखेकी हूँ
कस्ती राम्री, म त मोहित भएँ
उनी पनि हिरोइन बन्न आएकी
मैले आफूले नबुझेको ‘स्क्रिन टेस्ट’ दिएँ
जाबो लेखेको ‘डायलग’ बोल्नुपर्ने
त्यस्तो त म स्कुल पढ्दादेखि नै
मज्जाले खरर बोल्न सक्थेँ ।
पछि प्रकाश थापाले नै मलाई
आइजी क्वार्टरसम्म छोडिदिनुभो
बाटोमा केही प्रश्न गर्नु भो-
(हाइट- ५’ ३”
पहिले नाटक गर्या छौ- छैन
गीत गाउँछौ- गाउँछु
फिल्ममा इन्टरेस्ट छ- छैन)
पछि ४/५ सयजना मध्ये म छानिएँ
नारायणध्वजले एग्रिमेन्ट साइन गराउनुभो
आठ हजार पारिश्रमिक- खुसी लाग्यो
प्रथम नायिका लेखेको देखेर छक्क परेँ
यसरी म जबरजस्ती कलाकार बनाइएँ ।
चाहन त म नर्स बन्न चाहन्थेँ
आर्मीमा जान चाहन्थेँ तर हिरोइन भएँ ।
अँ, यही बीचमा मैले
‘हर्स राइडिङ्’ (घोडसवारी) सिक्नुपर्ने भो
बुबाले भनिदिनु भो र
सिंहदरबारभित्रै सिक्न थालेँ
घोडाबाट लडेर नराम्रोसँग
अनुहारको देब्रे पाटो ताछियो ।
अनुहार नै त्यस्तो भएपछि
अब त हिरोइन हुन्नहोला जस्तो लाग्यो
तर १५ दिनजतिमा ठीक हुँदैगएँ
काँचो सुपारी घोटेर लाउन सिकायो कसैले
त्यसैले चमत्कार गर्यो
र एक महिनापछि फिट भएँ
र ‘सन्तान’ को नायिका भएँ ।
सुटिङ् सकेर फर्किंदा त
माइती छोडेर जानलागेजस्तो रुवाबासी
त्यो आत्मीयता र सद्भावले
मलाई यो क्षेत्र आफ्नो जस्तो लाग्यो
र ‘सन्तान’ सकेर
खाली बसेको एकवर्ष
मैले वसन्त श्रेष्ठकहाँ डान्स सिकेँ
उहाँले गर्दा नै एकेडेमीमा
डान्सरको जागिर खानपुगेँ
यो २०४५ सालको कुरो हो
तीनसय साठी रुपिया तलब आउँथ्यो
‘एनएचके’ को डकुमेन्ट्री गरेँ
‘पिरती’, ‘चेलिबेटी’, ‘कन्यादान’ अनि
यादव खरेलको ‘लोभीपापी’, ‘आँधीबेरी’
त्यसपछि सिनेमाको क्रम बढ्न थाल्यो
मेरो व्यस्तता पनि बढ्दै गयो,
यसरी सत्तरी-अस्सीवटा फिल्म गरेँ ।
मैले अघि नै भनेजस्तै
मेरो जीवनमा पराकम्प आउन छोडेन
वैवाहिक जीवनपनि सोचेजस्तो भएन
यही बीचमा म ठूलो बिरामी परेँ
र उपचारका लागि जापान पुगेँ
जापान बसाइकै क्रममा
धेरै ठूला निर्णयहरू लिएँ
आफूलाई फेरि बलियो बनाएँ
यहाँका सपनाहरू यतै रहे
तीन/चारवर्ष जापानको बसाइपछि
नेपाल फर्कें र केहीपछि
फेरि अमेरिका गएँ
हुन त कार्यक्रम गर्नै गएको हो
तर सँगै अलिक व्यापार पनि गर्ने सोचले
सोह्र-सत्र लाखको उलन सामान लगेको थिएँ
त्यसमा फसेँ र त्यही पैसा उठाउन
तीन वर्षभन्दा बढी न्यूयोर्क बसेँ ।
२०१४ मा मुमालाई हार्टअटेक भयो
र सबै छोडेर फेरि काठमाडौँ फर्किएँ ।
म बाहिर गएँ
तर जतिपटक गएर फर्केपनि
मान्छेहरूले मलाई स्वीकारे
‘रिस्टाब्लिस’ गराइदिए
आएर ‘सिंहदरबार’ को दुई सिजन गरेँ
अहिले ‘टिकटक स्टार’ र ‘डान्सिङ् स्टार’मा
निर्णायक भएर काम गर्दैछु
अब चाँडै एउटा कवितासम्बन्धी
रियालिटी शो लिएर आउँदै छु ।
फिल्ममा चाहिँ तुलसी घिमिरेसँग
काम गर्ने धोको अझै छ ।
यस्तै हो
मान्छेलाई कहिले सन्तोष हुन्छ,
कहिले पछुतो लाग्छ
तर यो दुवै नै अस्थायी हुन्
समयसँगै सबै परिवर्तन हुँदै जान्छ
समयनै सबैभन्दा बलवान् हुन्छ
र म समयसगैँ हिँड्दै छु ।
राजेन्द्र शलभ
[email protected]