• २०८१ श्रावाण ११ शुक्रबार

‘समग्रमा एक सय ६० र ‘दर्पणछायाँ– २’ मा ४५ गल्ती गरेँ’

तुलसी घिमिरे, निर्देशक

तुलसी घिमिरे, निर्देशक

अहिले के गर्दै हुनुहुन्छ ?
काम खोज्दैछु ।

कति वर्षदेखि खोज्दै हुनुहुन्छ ?
कोभिडको लकडाउनमा भएका सबै काम सकेँ । अब थप काम के कसरी सुरु गर्ने भनेर सोज्दैछु ।

कस्तो काम ?
मैले जानेको एउटै काम त हो- फिल्म बनाउने ।

अहिले आएर फिल्ममा पछि परेँ कि जस्तो अनुभव भएको छैन ?
पटक्कै छैन । सबैभन्दा बढी फिल्म मैले नै बनाएको छु । सिल्भर जुवली तीनवटा फिल्म- लाहुरे, कसुमे रुमाल र चिनो मेरै भागमापरेको छ । आफूले काम गरेको अतीतलाई वर्तमानसँग जोड्छु र मनन गर्छु म पछि परेकै छैन ।

औसतमा ?
सफल र असफल बराबरी छन् । सबै गरेर २३ वटा फिल्म बनाएछु । २५ वटा फिल्म बनायो भने गाई दान गर्नु पर्दैन, वैतरणी तर्छ भनेका थिए राजेन्द्र शलभ भाइले । अब दुइटा फिल्म बनाउँछु त्यो वैतरणी पनि तर्छु ।

आफू पछि आएका कुन निर्देशक मन पर्छ ?
सबै नयाँ भाइहरूको काम मन पर्छ । यो मैदानबाट भाग्ने कुरा भयो । उसो भए सबैभन्दा मन परेको फिल्म त भन्न मिल्छ होला नि ! भर्खरैका फिल्मचाहिँ मैले हेर्नपाएको छैन । अहिलेसम्मको भन्दा ‘लूट’ हो ।

तपाईंले एकचोटि भन्नुभएको थियो- कुनै पनि निर्देशकको मूल्याङ्कन गर्नुपर्यो भने उसले निर्देशन गरेको अन्तिम फिल्म हेर्नुपर्छ । तपाईंको अन्तिम फिल्म के हो ?
दर्पणछायाँ– २

यो त सफल भएन । भनेपछि तपाईंको मूल्याङ्कन कसरी गर्ने ?
खासमा कुनै पनि फिल्मलाई राम्रो र नराम्रो मापदण्डका आधारमा जाँच्ने हो । सफल र असफल होइन ।

अर्थात् बजारमा नचले पनि दर्पणछायाँ- २ राम्रो फिल्म हो ?
हो, म निर्धक्क भन्नसक्छु ।

किन दर्पणछायाँ-  २ ले बजार तान्न सकेन ?
प्रदर्शनीको समय । गलत तरिकाले रिलिजि भयो ।

अर्थात्…?
फिल्म बनाएको डेढ वर्षपछि बल्लतल्ल पालो आउँदा पनि २५ वटा मात्र हल मेरा भागमा परे । केही चलचित्र निर्माताहरूले राम्राराम्रा १५ वटा हलहरू जबरजस्ती कब्जा गरे । ‘हामी राष्ट्रका लागि काम गर्ने हौँ, राष्ट्रक लागि मरिरहेका छौँ र राष्ट्रलाई चिनाउने फिल्म बनाएका छौँ । त्यसैले तपाईहरूको व्यावसायिक फिल्महरू अन्तै चलाउँदै गर्नुहोला तर हाम्रा फिल्म यी हलमा लगाउँछौँ’ भनेर कब्जा गरे । तर उनीहरूले कुन राष्ट्रलाई चिनाउने फिल्म बनाएका थिए, थाहा पाइएन । तर म निर्धक्क भन्छु- दर्पणछायाँ- २ गलत समयमा रिलिज भएर असफल भएको हो ।

तपाईंलाई उहिल्यै बनाउनुपर्ने फिल्म अहिले बनाएछु जस्तो लागेन ?
बनाउनुपर्ने त अहिल्यै हो । अर्थात् त्यो जहिले बनाइयो, त्यो समय उपयुक्त थियो । तर त्यसमा चाहिने तत्व पुगेको थिएन । त्यस फिल्ममा गल्ती अनगिन्ती छन् । तर त्यसको दोष आफूलाई मात्र दिन्छु । म ‘क्याप्टेन अफ सिप’ हुँ अर्थात् निर्देशक हुँ ।

दोष त निर्देशकै हुन्छ नि ! होइन र ?
हो । मेरै गल्तीले त्यो डुबेको हो । र जानीजानी गरेको गल्ती हुन् यी । खासमा अभिनेता- अभिनेत्रीले मैले भनेको काम नगरिदिँदा यस्तो भएको हो । उनीहरू तयार भए भन्ने विश्वासमा परेर सुटिङ् सुरु गरेँ तर तयार भएकै रहेनछन् । सबै ठोकठाक गरेर पूरा गर्न बाध्य हुनपर्यो ।

यसरी फ्लप भएको यो तपाईं पहिलो फिल्म हो है ?
हो, यो पहिलो फिल्म हो ।

भान्छे धेरै भएर पनि यो फिल्म फिल्मजस्तो नभई उँट जस्तो बन्यो पनि भनिन्छ नि ?
हो । कसै यो, कसैले त्यो गर्नुपर्ने भनेर पनि यस्तो भएको हो । तर मलाई त ग्रहदसा बिग्रेर यस्तो भएको हो भन्ने पो लाग्छ । आत्मविश्वास पनि हरायो । कन्फिडेन्डको ठाउँमा कन्फ्युजन भयो । तर अहिलेको यु ट्युबको रिजल्ट हेर्दा म असफल निर्देशक होइन भन्ने ठहरमा पुगेको छु । तपाईंले अघि भन्नुभएको कुरा सत्य हो । कुनै पनि निर्देशकको अन्तिम फिल्म फ्लप भयो भने त्यो अभिशाप हुन्छ । भन्न सकिँदैन- जीवन एउटा लहर हो कहाँ गएर ठोकिन्छ ! कहिले मरिन्छ। आगामी योजनामा रहेका दुइवटा फिल्म बनाइहालेँ भने २५ वटा पुग्छन्, वैतरणी पनि गर्नुपर्दैन । म पहिलेकै ताल र लयमा फर्किन्छु । म फ्लप फिल्म दिएर चाहिँ मर्दिनँ ।

अहिले सोच्दा पहिला आफूले बनाएका फिल्ममा गल्ती भेट्नु हुन्छ ?
अवश्य भेट्छु

कतिवटा जति गन्ती गर्न भ्याउनुभयो?
झन्डै एक सय ६० वटा । अब बनाउने फिल्मका यीमध्ये एउटा पनि गल्ती दोहोर्याउँदिनँ ।

अनि दर्पणछायाँ- २ मा चाहिँ कतिवटा गल्ती गन्न भ्याउनु भयो त? यसमा ? ४३ वटा ।

पीडा हुँदो हो नि अहिले यसरी गन्ती गर्दा ?
मलाई सबैभन्दा ठूलो पीडा के छ भने आउँदा दुई फिल्ममा ती गल्ती सिनित्त मेटाएर सबै थरी ऋण मैले तिर्नु छ । म त्यो गर्छु । र म तपाईंलाई ग्यारेन्टी दिन्छु- म फ्लप फिल्म दिएर मर्न चाहन्नँ ।