रूपान्तरित मनहरू’ संयुक्त कविता सङ्ग्रहको सार्वजनिक गरिएको छ ।नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ’रूपान्तरित मनहरू’ को लोकार्पण गरिएको छ । उक्त सङ्ग्रहमा महिलावादी साहित्यिक मञ्चमा सहभागी भएका मध्ये १३ जना कविले अभियानस्वरूप आआफ्ना कविता सङ्गृहीत गरेका छन् । ती कविहरूमा रोशनीदेवी कार्की, प्रतिमा पन्थी, प्रतिमा शर्मा, धनकुमारी अर्याल, रिङ्कु वाग्ले, दिलकुमारी बुढामगर, शान्तालक्ष्मी श्रेष्ठ, सीता ओझा, पङ्कजा जोशी, पवित्रा पौडेल र भवानी पौडेल रहनु भएको छ ।
’हजारौँ वर्षदेखि पितृसत्ताले महिलामाथि लादेको विभेदको शृङ्खला लामो छ ।पूर्वीय सभ्यतामा महिलाको इतिहास लुकाएर अन्याय गरिँदै आएको छ।यसका विरुद्ध १३ जना कविद्वारा प्रतिरोधी धारलाई आत्मसात् गर्दै ’रूपान्तरित मनहरू’मा अभिव्यक्त हुनु भनेको सुखद कुरा हो ’कुलपति राईले भन्नुभएको थियो । उक्त सङ्ग्रहबारे अतिथि वक्ताहरू प्रा. डा. सुधा त्रिपाठी ,प्राज्ञ चेतनाथ धमला ,डा.शैलजा पोखरेल, डा.रेणु अधिकारी, डा. रेणु थापा सोलु, विमला तुम्खेवा, प्रणीता कोयू, सरु जोशी श्रेष्ठ , युवराज काफ्ले र रजनी मिलाले आआफ्नो धारणा राख्नु भएको थियो ।
महिलावादी साहित्यिक मञ्चका तेस्रो संयोजक कवि शान्तालक्ष्मी श्रेष्ठको अध्यक्षता र मञ्चका दोस्रो संयोजक कवि रोशनीदेवी कार्कीले उद्घोषण गर्नुभएको उक्त कार्यक्रममा मञ्चका प्रथम संयोजक प्रतिमा शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उक्त मञ्च’को स्थापना भएको एक वर्ष पूरा भएको छ।यसको वैचारिक पक्ष ’साहित्यमा पितृसत्तात्मक भाष्य परिवर्तन’ गर्नु रहेको छ। सामाजिक न्यायबाट बञ्चित रहेका महिला र तिनले भोग्नु परेका अनेकौँ भूईँ उत्पीडन र हिंसाबाट मुक्त गर्ने उद्देश्यका साथ भर्चुअल माध्यमबाट आन्दोलन स्वरूप शुरु भएको शृङ्खलाबद्ध कविता वाचनको संयुक्त सङ्ग्रह ’रूपान्तरित मनहरू’ प्रस्तावनाको रूपमा नेपाली साहित्यमा देखापरेको छ । उक्त सङ्ग्रहमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको शुभकामना, संविधानसभा सदस्य डा.विन्दा पाण्डेको भूमिका र सो मञ्चका चौथो संयोजक प्रतिमा पन्थीको अवधारणा रहेको छ। प्रस्तुत सङ्ग्रहका कविताहरूले प्रायः पितृसत्तात्मक यथास्थितिवादको विरुद्ध प्रतिरोधी चेतनालाई आत्मसात् गरेको पाइन्छ ।