• २०८१ श्रावाण २ बुधबार

डा. तुलसी आचार्यको कृति ‘मृत्यु डायरी’ लोकार्पण

डा. तुलसी आचार्यको संस्मरणात्मक कृति मृत्यु डायरीको शुक्रबार राजधानीमा लोकार्पण गरिएको छ । चलचित्रकर्मी प्रकाश सायमी, चिकित्सकद्धय डा. अम्बुज कर्ण र डा. पुष्पमणि खराल, समालोचक डा. गीता त्रिपाठी, गायिका संगीता शाक्य थापा, सञ्चारकर्मीद्धय गोपीकृष्ण ढुंगाना र मोहराज शर्माले कृतिको विमोचन गरेका हुन् ।

उक्त कृतिबारे बोल्दै सायमीले लेखक इमान्दार भएर नयाँ धारबाट घटना र सन्दर्भलाई जस्ताको तस्तै प्रस्तुत गरेकाले मृत्यु डायरी राम्रो बनेको बताए। उनले भने, ‘सन्तानले पनि बिरामीलाई तनाव होला भनेर क्यान्सरजस्तो रोगबारे नखुल्ने र बिरामीले पनि सन्तानलाई तनाव होला भनेर रोगबारे नसुनाउने अन्योलको स्थिति कृतिमा रोचक पाराले आएको छ।’

समालोचक त्रिपाठीले अनुभूतिहरूको आख्यानीकरण भएको र जीवनलाई साहित्यमा जोड्ने काम भएको बताइन्। उनले भनिन्, ‘मृत्यु शाश्वत छ किन लेख्नु प¥यो भन्नेहरूलाई यस कृतिले जवाफ दिएको छ।’ पुस्तकका सम्पादक एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले मृत्यु आफैंमा रहस्यमय रहेको सन्दर्भ सुनाउँदै मृत्यु डायरी रहस्यमय चलचित्र हेरिरहेको शैलीमा लेखिएको बताए ।

लेखक आचार्यले जन्म दिने बुवाआमाको निधनले छोरीलाई कतिसम्म पीडा दिन्छ र क्यान्सर लागेपछिको पीडा सन्तानलाई कसरी पर्छ भन्ने सन्दर्भलाई जस्ताको तस्तै पुस्तकमा उतारेको बताए । कार्यक्रममा चिकित्सकद्धयले रोग र रोगीसँगको चिकित्सकको व्यवहार र रोगसँग सम्बन्धित रहेर लेखिएको कृतिबारे बोलेका थिए भने क्यान्सर बिजेता गायिका शाक्यले आत्मकथा सुनाएकी थिइन् ।