समाचार

प्रजापति उपाध्याय र उनकी श्रीमती देवकी उपाध्याय इलाम बजारभन्दा ३ किलोमिटर माथि शीतलपाटी भन्ने गाउँमा बसोवास गर्थे । भण्डारी थरका प्रजापतिका पुस्ता खासमा भट्टराई थिए । वरिष्ट गोत्री कुनै पिताका दुई छोरा थिए । तीमध्येका एउटा भट्टराई नै रहे तर अर्को छोराले चाहिँ कुनै रजौटाको भण्डारमा काम गरेकाले भण्डारी भए । भण्डारीलाई जनजिब्रोले अपभ्रंश पारी भँडारी बनाए । भण्डारी र भट्टराई पुस्ता छुट्टिएपछि भट्टराईतिरका एक पुस्ताले चालीस अध्याय वेद खर्लप्प खाएको हुनाले ती चालिसे कहलाइए । यिनै भँडारीतिरका सन्तान थिए प्रजापति उपाध्याय ।
शीतलपाटीमा नीलकाडाँहरू थिए । पाटीेभन्दा अलि माथि खरी र गोगनेका बोट र सुन्दर जङ्गली फूलहरू पनि थिए । अम्बकका रुखहरू थिए । तर त्यहाँ सबैभन्दा बडेमानको एउटा बरको वृक्ष थियो । अजिङ्गरजस्ता त्यसका जराहरू यताउता फैलिएका थिए । कतै फलैँचाजस्तो, कतै सुरुङजस्तो थियो । केटाकेटीहरू आफ्ना दौतरीहरूसँग त्यही बरको फेदमा खेल्ने गर्थे । पछि त्यही विशाल बरको नाममा शीतलपाटी बरबोटे हुनपुग्यो । त्यही बरको बोटभन्दा ५०/५५ कदम मुन्तिर आजभन्दा ८७ वर्षअघि तिनै प्रजापतिका जेठा छोराको रूपमा विसं १९९१ असार ९ गते तारानाथ शर्माको जन्म भएको थियो ।
हजुरआमाले सारै पुलपुल्याएर हुर्काएका नाति थिए तारानाथ । उनीमुनिका १० भाइबहिनीहरूलाई ध्यान दिनुपर्ने भएकाले माया र स्नेह सबै सन्तानमा बराबरी गर्दा आमाबाट बाँडिएको माया मात्र पाए तारानाथले । तर हजुरआमाले पहिलो नातिलाई सबैले दिएभन्दा कता हो कता बढी माया दिएर हुर्काइन् । हजुरआमाबाट यति धेरै स्नेह पाउनुको अर्को कारण पनि थियो । उनी ११ महिनाको हुँदा उनलाई माई अर्थात् बिफरले आक्रमण गर्यो । बरबोटे समग्र गाउँ माईको सङ्क्रमणमा पर्यो । अनि हजुरआमाले सरे आफूलाई मात्र सरोस् भनेर आफ्ना छोरोबुहारीलाई छुनै नदिई तारानाथको एक्लै हेरचाह गरिन् ।
उनलाई असाध्य माया गर्ने एकजना मितबा थिए- दीपबहादुर कार्की । यी मितबा बरबोटेभन्दा अलि तल पुवाखोला नजिक बस्थे । प्रजापति र दीपबहादुरले मित लगाएकाले उनीहरू धेरै मिल्थे पनि । उनीहरू जागिर खान सँगै इलाम बजार जान्थे । प्रजापति मालअड्डाका बहीदार र दीपबहादुर श्रीनाथ पल्टनका हल्दार थिए । तारानाथलाई माई भएको वेला मितबा दीपबहादुर उनलाई हेर्छु भनेर आए र सुतिरहेको ओछ्यानबाट तारानाथलाई जुरुक्क उचालेर डोकोमा हाले र बाहिर निकाले । घाम भरखर लागेको थियो । उनले तारानाथलाई घामतिर फर्काएर राखेछन् । मितबाले घाममा राख्यो भने माई जाती हुन्छ भन्ने सुनेका रहेछन् । नभन्दै तारानाथका शरीरमा टनटनाइरहेका माईका फोकाहरू घामको तापले बिस्तारै साम्य हुँदै गए । त्यही वेला हजुरआमाले नातिलाई हेर्दा तारानाथ मुसुक्क हाँसेछन् । अनि हजुरआमा अब नातिको रोग बिसेक भयो भनेर हर्ष र उन्मादले उफ्रिइछन् । तारानाथको त्यही मुस्कान कारण उनले आजीवन सबैको माया, स्नेह र मित्रता पाइरहे ।
बरबोटेमा सुन्दर अक्षर भएका, लेखपढ जानेका बोधनारायण घिमिरे थिए । उनका अक्षर छापाका जस्ता सुन्दर थिए । उनी बोधनारायणसँग संस्कृतका वेद, कौमुदि, चण्डी आदि पढ्थे । बोधनारायणले उनका हात समाएर बाँसको कलमले लेख्न सिकाएका थिए । त्यसैले तारानाथका अक्षर पनि छापाका जस्तै सुन्दर भए । विसं १९९९ सालसम्म अर्थात् आठ वर्षसम्म तारानाथ उनीसँगै पढे ।
बरबोटेमा प्रजापतिमाथि एउटा घटना घट्यो । त्यसपछि उनको परिवार इलामबजार भन्दा धेरै मुन्तिरको फिक्कलमा बसाइँ सर्यो । प्रजापतिलाई बडाहाकिमले सरसामान किन्न पठाएछन् कलकत्ता । प्रजापति आसाममा पढे, हुर्केकाले भारततिरको कुरा यिनलाई थाहा हुन्छ भनेर बडाहाकिमले उनलाई कलकत्ता पठाएका रहेछन् । उनले कलकत्तामा सामान किनेर वासस्थानमा फर्किंदा बाटो भुलेछन् । उनले अलि पर अग्लो, चिटिक्क परेको, घाँटीमा टाई, टाउकोमा ह्याट, खुट्टामा टल्किने जुत्ता लगाएको एउटा गोरे उभिएको देखेछन् । उनले अङ्ग्रेजहरू शिष्ट, सहृदयी र सहयोगी हुन्छन् भन्ने सुनेका थिए । त्यसैले उनले त्यो गोरे नजिक गएर ‘बाबुजी यह ट्राम किधर जाती है ?’ भनेर सोधेछन् । गोरेले उनलाई टोपीदेखि जुत्तासम्म सरसर्ती नियालेर हेरेछ । दौरासुरुवाल र टोपी लगाएका उनलाई गारेले अर्कै ग्रहबाट आएको एलियन या पाखे ठानेछ क्या हो ! घमण्डले फुलेर झर्किंदै छेउमा झुन्ड्याइएको एउटा साइनबोर्डतिर देखाउँदै भनेछ- ‘तुम्हारा आँख नही है, देखता नही है ? वहाँ पर लिखा हुवा तो है।’ यो सुुनेर प्रजापतिका दुवै आँखामा पुवा र माई रसाएछन् । उनी अङ्ग्रेजी बुझ्दैनथे । यसले त मलाई तुच्छतामै पुगेर हेप्यो भनेर प्रजापतिले मनमनै सङ्कल्प गरेछन्– ‘पख्लास् कुइरे, तैँले मलाई हेपेको ! म अब मेरो तारालाई संस्कृत र वेद पढ्न छुटाएर अङ्ग्रेजी पढाएरै छोड्छु ।’ अनि तारानाथ शर्मालाई पढाउनै भनेर बरबोटेबाट फिक्कल बजारमा बसाइँ सारेर, अङ्ग्रेजी स्कुल खोलेर पढाउन लगाएछन् । पहिला तारानाथलाई र त्यसपछि अरू सन्तानलाई त्यहाँ लगे । त्यहाँ प्रजापतिले अर्को बिहे गरे । तारानाथले यस पङ्क्तिकारसँग भनेका थिए- ‘त्यो बिहे हामीलाई हेर्नकै लागि उहाँले गर्नुभएको हो ।’ यिनै आमाका सन्तान मध्येका एक थिए- प्रसिद्ध सञ्चारकर्मी स्व. दुर्गानाथ शर्मा ।
फिक्कलमा समेश्वरायनन्द भन्ने एक सन्तले वेद पढाउन भनेर एउटा सिमेन्टको भव्य विल्डिङ् खडा गरेका थिए । तर त्यो पाठशाला त्यति चलेन, उनी पनि त्यहाँबाट अन्तै गए । त्यो बिल्डिङ् खाली थियो । प्रजापतिको जेठो छोरोलाई अङ्ग्रेजी शिक्षा दिने सङ्कल्पको श्रीगणेश त्यही बिल्डिङ्बाट गरे । दोस्रो विश्वयुद्ध भरखर सकिँदै थियो । वृटिस सेनाका नेपालीहरू बिदा भएर फर्किने क्रममा प्रजापतिले चिनेका राजबहादुर राई त्यहाँ आइपुगे । उनीसँगै वृटिस सेनामै हरहिसाबको काम गर्ने चन्द्रभक्त कसजू पनि आए । वृटिसहरूसँग काम गरेका र दार्जिलिङमुन्तिरको खर्साङमा पढेकाले कसजूको अङ्ग्रेजी छुरा थियो । उनी सहिद गङ्गालालका मित्र पनि रहेछन् र राणा शासकले झुन्ड्याउला भनेर उनी भागेर वृटिस सेनामा पुगेका रहेछन् । राजबहादुरले उनलाई ल्याएर प्रजापतिको हिल्ला लगाइदिए । र, पुरानो श्री चन्द्र पाठशालाबाट नवीकृत आदर्श चन्द्र पाठशालामा प्रधानाध्यापक भई शिक्षण गर्नथाले । त्यही विद्यालयमा तारानाथको अङ्ग्रेजी शिक्षारम्भ भएको हो । त्यहाँ उनले छ कक्षासम्म अध्ययन गरे ।
एक दिन तारानाथलाई प्रधानाध्यापक चन्द्रभक्तले पारसमणि प्रधानको एउटा कथा पढ्न दिए । उनले किताबमा लेखिएको कथा फररर एकै सासमा पढे र गुरु कति खुसी भए होलान् भने टाउको उठाएर पुलुक्क गुरुतिर हेरे । गुरुको अनुहार त अँध्यारो पो रहेछ । यति राम्रो पढ्दा पनि किन यिनले अँध्यारो मुख लगाएका होलान् भन्ने सोच्दैथिए, गुरुले भनिहाले- ‘सुन्न त तिमीले पढेको सुनेँ तर तिमीले अहिले पढेको कुरा बुझ्यौ ।’ उनले ‘बुझ्नुपर्छ र सर’ भने । अनि गुरुले राम्ररी सम्झाए– ‘कुनै कुरा पढ्नु भनेको ज्ञान बढाउनलाई हो । यहाँ लामो धर्को छ, पूर्णविराम भन्छन्, यो भनेको केही क्षण अडिनु भनेको हो । अर्को कुकुरको पुच्छरजस्तो बाङ्गेको छ नि ! यो अल्पविराम हो, यस चिन्हमा एकै छिन मात्र अडिनु भनेको हो । तिमीले त वेद पढेका छौ, केही बुझेका छौ ? रुद्री बाइस आवृत्ति गर्छु भन्छौ, त्यो केही बुझेका छौ ?’ यसरी उनलाई कसजू सरले पढ्नुको अर्थ छर्लङ्ग पारिदिए । अनि बुझ्न सिकाइदिए । थामिँदै पढ्ने, पढेर बुझ्ने तरिका सिकाइदिए । कसजू सर लेख्थे । लेख्ने प्रेरणा उनैबाट प्राप्त गरे तारानाथले । भारती पत्रिका दार्जिलिङबाट निस्किन्छ भनेर तिनै गुरुले जानकारी दिए । अलि पछि उनले ज्ञान जति छ, त्यो साहित्यमै हुन्छ । साहित्य र शिक्षा एकैहो भन्ने गुह्य पनि बुझे र लेख्न थाले ।
डा. तारानाथ शर्माले एक दिन उनैको घरमा डाकेर यस पङ्क्तिकारलाई भनेका थिए- ‘हो रामभक्त कसजू सरले नै मलाई लेख्ने प्रेरणा दिएका हुन् । कुनै पुस्तकको कथा, लेख पढेर उनी भन्थे–‘हेर बाबु ! यसले कति छर्लङ्ग हुने गरी लेख्यो । हो, तिमी हामीले पनि यसरी नै छर्लङ्ग हुनेगरी सबैले बुझ्ने र सबैको घतमा पुग्नेगरी लेख्नुपर्छ । तिमीले आफ्नै फिक्कलका बारेमा लेख ।’ तर तारानाथले पहिलो लेख पिक्कलका बारेमा होइन, इलाममाथि लेखेर दार्जिलिङबाट प्रकाशित ‘साथी’ पत्रिकामा छपाएका थिए । यही लेख तारानाथको साहित्यलेखनको प्रथम आवृत्ति हो ।
२००७ सालको क्रान्तिबाट नयाँ युगको अभ्युदय हुँदैथियो । ती कसजूलाई आफन्तहरूले काठमाडौँ फर्काए । त्यसपछि तारानाथ आफैँले त्यहाँ छ महिनासम्म पढाए र घरमा जानकारी नै नदिई सुटुक्क झापा झरेर राजनीति गर्न थाले । यो थाहा पाएर छोरो राजनीतमा लागेर बिग्रेला भन्ने संशयले पिताजीले उनलाईदार्जिलिङतिर पढ्न धपाए । यता ६ कक्षा मात्र उत्तीर्ण गरेका उनी त्यहाँको गान्धी नाइट स्कुलमा ९ कक्षामा भर्ना भएर प्रथम भए ।अनि कक्षा १० चाहिँ खर्साङको सेन्ट अल्फन्सेसमा पढे र त्यहाँ पनि प्रथम भए ।उनी स्कुल फाइनलमा त डिस्ट्रिक फस्र्ट नै भए । अनि पछि दार्जिलिङको प्रसिद्ध सेन्ट जोसेफ कलेजमा अध्ययन गरे ।
एक दिन तारानाथले त्यहाँको एउटा घटना सुनाएका थिए । उनलाई टाइसुट लगाउन मन पर्दैनथ्यो । उनले ‘म दाम्लो बाँध्दिनँ’ भनेर एउठा लेख नै लेखे ।पहिलो दिन कलेज पस्दा पहिलो क्लास अङ्ग्रेजी कविताको थियो । उनी दौरासुरुवाल, कोटटोपीमा नेपाली संस्कृति फरफराउँदै क्लासमा पसेर अघिल्लो बेन्चमा बसे । सबै केटाहरू टाइसुट र केटीहरू स्कटमा सजिएका थिए । उनको पहिरन देखेर सबै आश्चर्यमा परे । केटीहरू उनलाई देखेर खितित्त खितित्त हाँसे । फादर पढाउन आए, लामो कोट लगाएर ।मञ्चमा उक्लिँदा पहिलो दृष्टि त तारानाथ माथि पर्ने नै भयो । फादरले उनको टोपीतिर सङ्केत गर्दै अङ्ग्रेजीमा उनलाई फड्कारे– ‘तिमीलाई क्लासमा ‘ह्याट’ लगाएर आउनु हुँदैन भन्ने थाहा छैन ? तुरुन्तै खोलिहाल तिम्रो यो ह्याट !’ सुनेर तारानाथ बेन्चबाट जुरुक्क उठे, मुसुक्क हाँसे र यस्सो पछाडि हेरेका त एकजना पन्जाबी विद्यार्थी शिरमा फेटा गुथेर बसिरहेका रहेछन् । छेउका केटीहरू खितखिताइ नै रहेका थिए । अनि तारानाथले निहुँ पाइहाले । तिनै पन्जाबीलाई देखाउँदै भने- ‘फादर ! तपाईं त्यसकेटालाई उसको ‘ह्याट’ फुकाल्न किन भन्नुहुन्न ?’ एउटी केटीले प्याच्च भनिहाली- ‘द्याट्स नट ह्याट !’ अनि उनले आफ्नो टोपी देखाउँदै अङ्ग्रेजीमै भनिदिए- ‘यो ह्याट होइन, टोपी हो । म सगरमाथाको देशबाट आएको हुँ । यसले मेरो सगरमाथाको प्रतिनिधित्व गर्छ । हामी कसैको मृत्युमा मात्र टोपी फुकाल्छौँ । फादर ! के यहाँ कसैको मृत्यु भएको छ र ?’ उनको कुराले क्लास स्तब्ध भयो, सियो खसेको आवाज पनि सुनिने स्तब्धता ।पहिलो क्लासमै शिक्षकसँग विवाद भए पनि उनी पहिलाजस्तै फस्र्ट हुँदै गए । बिस्तारै टाईसुट लगाउन पनि थाले ।
आइए पूरा गरेपछि उनी बङ्गाली माक्र्सवादीहरूको सङ्गतलेबीए पढ्न बनारस गए । बनारस हिन्दू विश्वविद्यालयबाट बीए पूरा गरे । त्यहीँ अध्ययन गर्दा बालकृष्ण पोखरेल, वल्लभमणि दाहाल र चूडामणि रेग्मीसँग भेट भयो । ‘नौलो पाइलो’ नामक साहित्यिक पत्रिकाको सम्पादन गर्नथाले । उनले यिनीहरूसँगै मिलेर २०१३ सालमा झर्रोवादी भाषा आन्दोलन छेडे । यही आन्दोलनले पहिलोपल्ट तारानाथ शर्मालाई प्रसिद्धिको शिखरमा उभ्याएको हो । यस आन्दोलनपछि उनले कम्युनिस्ट विचारधारा र बनारस एकैचोटि छोडे र पटना गएर स्नातकोत्तर गरे ।
पटना जानुको किस्सा पनि रोचक छ । उनी बनासरबाट स्नातक गरेर फिक्कल आए । बाले अलिक वर्ष तिमी यहीँको स्कुलमा हेडमास्टर भएर शिक्षण गरेर भाइबहिनीलाई पढाउन मद्दत गर भने । छजना भाइ र चारवटी बहिनीका जेठा दाजु थिए उनी । अनि उनले भने- ‘बा मलाई अहिले मात्र ७० रुपियाँ दिनूस्, यतिले मलाई पुग्छ एमए पढ्न ।’ ७० रुपियाँमा कसरी एमए गर्छ भनेर बाले उनको कुरा पत्याएनन् । तर एकजना शङ्कर महाजनसँग ऋण काडेर ७० रुपियाँ उनको हातमा राखिदिए । त्यो ७० रुपियाँ खल्तीमा घुसारेर भोलिपल्टै उनी पटना होइन, काठमाडौँतिर हान्निए । अङ्ग्रेजीमा एमए गर्ने १० वटा छात्रवृत्तिका लागि दुई सयले परीक्षा दिएका थिए। उनले ती सबैलाई उछिन्दै एउटा सिट पाए । उनी एमए पढ्नपटना गए । छात्रवृत्तिबापत मासिक भारु दुई सय पाउँथे । यति रकम त्यस वेला राम्रै मानिन्थ्यो । त्यसमध्ये पनि एक सय रुपियाँ भाइ पुष्पनाथलाई पठाउँथे । यही पैसाले दार्जिलिङमा पुष्पनाथले इन्जिनियरिङ पढेको बताउँथे डा. तारानाथ । एमए गरिसकेपछि उनी काठमाडौँ फर्केर पढाउन थाले ।
तर सुरुमा यहाँ पनि उनलाई काम पाउन ढुङ्गा चबाउनुजस्तै भयो । राम्रो अङ्क ल्याएर एमए त गरे तर सिफारिसको अभावमा उनको प्रमाणपत्रतिर कसैले चासो नै राखेनन् । उनी पद्मकन्या कलेजले निकालेको दरबन्दीभित्र छिर्न सकेनन् । यही वेला वामपन्थी नेता पुष्पलाल श्रेष्ठसँग उनको भेट भयो । बनारसमा हुँदै उनको पुष्पलालसँग हिमचिम थियो । या भनौँ पुष्पलालको सङ्गतले नै उनी कम्युनिस्ट विचारधारातिर डोरिएर थिए । पुष्पलालले उनलाई प्रतिमहिना तीन सय रुपियाँ पायने गरी तीनजना विद्यार्थी खोजिदिए, अङ्ग्रेजीको ट्युसन पढाउन । उनले यसरी केही समय ट्युसन पढाएर जीविका गरे ।
अर्कोपल्ट फेरि पद्मकन्या क्याम्पसमै पढाउन दरवन्दी निकालेलगत्तै एक बिहान जनकविकेशरी धर्मराज थापा उनको डेरामा टुपुल्किए । तिनले भने– ‘तिनीहरूले तपाईमाथि अन्याय गर्र्दैछन् । तिनीहरूले ‘तारानाथ शर्मा अन्तर्वार्तामा सर्वश्रेष्ठ भए पनि महिला कजेलमा पढाउन महिलालाई दिनुपर्ने हुनाले महिलालाई नै भर्ना गरेका छौँ’ भन्ने निर्णयपुस्तिकामा लेखिसके । अब प्रधानमन्त्रीकहाँ जाऊँ !’
त्यतिवेला त्रिपुरेश्वरमा थियो– प्रधानमन्त्री क्वार्टर । त्यहाँ पुग्दा प्रधानमन्त्री बार्दलीमा हिँड्दै रहेछन् । बनारसबाटै उनलाई प्रधानमन्त्रीले चिनेका थिए । अनि बार्दलीबाटै भने– ‘तारानाथजी बिहानबिहानै तपाईं कता ?’ उनले कतै काम पाइएन र आएको भने । प्रधानमन्त्रीले माथि नै बोलाए । त्यस वेला परशुनारायण चौधरी शिक्षामन्त्री थिए । प्रधानमन्त्रीले उनलाई फोन गरेर तुरुन्त आउनू भनेर बोलाए । ती प्रधानमन्त्री थिए– विश्वेश्वरप्रसाद कोइराला । अनि मन्त्री चौधरीलाई तारानाथसँग परिचय गराउँदै प्रधानमन्त्री कोइरालाले भने– ‘अहिलै मन्त्रालय गएर १० बजेसम्ममा उहाँको नियुक्तिपत्र तयार पारेर दिनूस््, उहाँको नियुक्ति आजै हुनुपर्छ ।’ यसरी प्रधानमन्त्रीको ठाडो आदेशमा उनले नियुक्ति पाए र पद्मकन्यामा अध्यापन गर्न थाले । त्यस वेला तारानाथ शर्मा २४ वर्षका थिए ।
पढाउन थालेको तीनचार दिन भएको थिए, एक दिन एक विद्यार्थी आइन् र उनलाई नमस्कार गर्दै आफ्नो परिचय दिइन्– ‘म शैलजा आचार्य हुँ, प्रधानमन्त्रीकी भान्जी । म उहाँसँगै बस्छु । मामाले तपाईंलाई बोलाउनु भएको छ, जाऊँ !’
उनले भोलि बिहानै आउँछु भने तर शैलजाले आजै जाऊँ, मेरो गाडीमा भनिन् । तारानाथ शैलजासँगै प्रधानमन्त्री कार्यालय पुगे । अनि विश्वेश्वरले भने- ‘तपाईंलाई दुई सय रुपियाँले काठमाडौँ बस्न खर्च पुग्दैन । अब तपाई ट्युसन पनि पढाउनूस् !यहाँ तीनवटी छन्, महिनाको एक- एक सयले तीन सय दिन्छन् । म गाडी पठाउँछु, तपाई यिनीहरूलाई पढाइदिनूस् !’अनि उनले शैलजा र अरू दुई छात्राहरूलाई ट्युसन पढाउन थाले । त्यसपछि विश्वेश्वरसँग विश्वसाहित्यको वाद र विवादबारे छलफल हुनथाल्यो । एक दिन विश्वेश्वरले सोधे- ‘तारानाथजी भारत र अन्य विश्वसाहित्यका अङ्ग्रेजी भाषाका पुस्तक नेपाल आउनासाथ पढ्ने पहिलो नेपाली को होला ? ! तारानाथले भने- ‘अरू को हुन्छ ? तपाईं नै त हो ।’ विश्वेश्वरले भने- ‘होइन ! म पनि होइन, तपाईं पनि होइन ।’ तारानाथ सोधे- ‘अरू को हो त ?’विश्वेश्वरले भने- ‘सूर्यप्रसाद उपाध्याय ।’
‘सूर्यप्रसादको घरमै विशाल लाइब्रेरी थियो । पुस्तक छापिना साथ विश्वको जुनसुकै ठाउँको प्रकाशकले पनि उनीकहाँ एक प्रति पठाइदिन्थे । विश्वेश्वर पनि उनैकहाँबाट मगाएर पढ्दा रहेछछन् ।’ तारानाथले यो रहस्य थाहा पाए । अनि कोइरालाले सूर्यप्रसाद कहाँबाट मगाएर तारानाथलाई पुस्तक पढ्न दिन्थे । यसरी आठ- नौ महिना विश्वेश्वरप्रसाद कोइरालासँग उनले सङ्गत गरे । त्यसपछि कोइरालालाई सत्ताच्युत गरियो । तारानाथ र विश्वेश्वरको अन्तरङ्गज्मा पनि यहीँ विराम लाग्यो ।
०००
डा. तारानाथ शर्मा यही मोडदेखि चर्चित हुने क्रम सुरु भएको हो । मवीवि शाहको कविता माथि खरो आलोचना गरेर पहिलो झमटमैउनी आममानिससम्म चिनिए । त्यसपछि त उनले जीवनमा प्रसिद्धिका लागि कहिल्यै पछि फर्केर हेर्नु परेन । एउटा सामान्य नागरिक परिवारसँग सम्बन्ध राख्ने डा. तारानाथले उच्च वर्गले भन्दा बढी विश्व घुमे। बेलायतमा छात्रवृत्ति पाएर एक वर्ष बिताएर फर्किंदा ‘बेलाइततिर बरालिँदा’ को पाण्डुलिपि लिएर आए र त्यस वर्षको ‘मदन पुृरस्कार’ थापे । यसले उनले सुरु गरेको साहित्यको नवीनविधा ‘नियात्रा- साहित्य’ लाई स्थापित गर्यो, उनी स्थापित नियात्राकार भए । यसै मेसोमा पछि लेखिएको उनको नियात्रालेख ‘घनघस्याको उकालो काट्दा’ आजसम्म एकनास लोकप्रिय छ ।
डा. तारानाथ शर्मा एक सम्पूर्ण लेखक थिए र उनी लेख्नकै लागि जन्मेका थिए भन्दा अर्गेल्याइँ नहोला । उनले नियात्रामा मच्चिएर कलम चलाए । आख्यान, निबन्धमा पनि चोटिलो कलम चलाए । झन् समालोचना त उनको खाँटी रोजाइको विधा नै थियो । उनले गीत पनि लेखे, इलाममाथि । इलाम त उनको साहित्ययात्राको बाह्रखरी नै थियो । इलाम उनलाई कति प्यारो थियो ? शान्त भाउजू र इलाममध्ये कुन प्रिय भनेर सोध्दा एक छिन पनि नगमी भनिदिन्थे- इलाम मेरो पहिलो र शान्त मेरी दोस्री प्रेमिका हुन् । उनी इलाम पुगेर रुन्थे कि रुनलाई इलाम पुग्थे भन्न कठिन छ, त्यस वेला सोधिएन पनि । तर २०४५ सालमा उनी इलाम पुगेर अन्तिमपटक धुरुधुरु रोएको बताउँथे । त्यस वेला छेउमा शान्ता भाउजू पनि थिइन् । उनले एकदमै भावुक भएर भनेका थिए- म धेरै वर्षपछि आफ्नो जन्मस्थान बरबोटे पुगेर अतीतमोह (नोस्टालजिया)ले भावुक भएँ । बालापनमा खेलेको त्यो विशाल बरको रुख पनि रहेछन् । अम्लिसोघारी फाँडेर घर उभ्याएछन् । मैले छोडेको बरबोटे त कतै पनि बाँकी रहेनछ । अनि भावनाले निथ्रुक्क भिजेँ र भुइँको माटो उघाएर अनुहारभरि दलेरम ती पुराना सम्झनामा पुगेर कहालिएर रोएँ ।’
डा. तारानाथ शर्मालाई चिन्नेहरूका लागि यी कुनै नयाँ कुरा होइनन् । उनी भावुकतामा शिशुमनका हुन्थे । आफैँमा उनी निर्मल, निर्दोष र निःस्वार्थी थिए । खुसीले जति हाँस्थे, कुनै पनि वेदनामा त्यति नै रुन्थे पनि ।
साहित्यको आरम्भमा जो पनि कवि हुन्छ, अलि पछि अरू विधामा पनि कलम चलाउन थाल्छ । सिर्जनाबाट असफल भयो भने समालोचकचाहिँ पक्कै बन्छ । किनभने उसलाई साहित्यको कमजोरी थाहा हुन्छ । तर डा. तारानाथ शर्मा यी तमाम मान्यता, सारा सिद्धान्त र सम्पूर्ण अनुभवलाई भत्काएर जन्मेका प्रतिभा थिए । साहित्यको लेख्य भाषा आमपाठकहरूले बुझ्नेगरी बोलीचालीकै भाषामा लेखिनुपर्छ, अङ्ग्रेजी, हिन्दी आदि विदेशी भाषालाई वहिस्कृत गरी संस्कृतलाई माउ भाषा मानेर ठेट नेपाली भाषाको प्रयोग गरिनुपर्छ भनेर भाषा आन्दोलन नै चलाए– ‘झर्रोवादी आन्दोलन’ । आन्दोलन सफल भएर सत्तासीन भएपछि आन्दोलनमा गरेका बाचा बिर्सिने आन्दोलनकारीजस्ता थिएनन् उनी । त्यसैले उनले आन्दोलनका क्रममा क्रममा गरेका घोषणा र प्रयोग गरेका सिद्धान्तबाट एक इन्च दायाँबायाँ नबङ्ग्याई झर्रो नेपालीलाई नै आजीवन मान्यता दिइरहे ।
कुनै समय कोलकातामा अङ्ग्रेजी लिपि पढ्न नजानेर अपमानित भएका पिताका पुत्र डा. तारानाथले पछि अङ्ग्रेजी मात्र बोलिने अमेरिकामा गएर अङ्ग्रेजी साहित्य नै पढाए । नेपालमै पनि पद्मकन्या कलेजपछि त्रिचन्द्र, सरस्वती, पाटन र केन्द्रीय कजेल कीर्तिपुरसम्म पढाए– अङ्ग्रेजी नै ।
यस्ता महान् विद्वान् तथा विविध भाषामा सशक्त कलम चलाउने डा. तारानाथ शर्मा पृथ्वी प्रज्ञा–पुरस्कार, श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा प्रदान गरिने ‘इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान’ लगायत अन्य विभिन्न पुरस्कार र सम्मानद्वारा सम्मानित थिए । डा. शर्माको निधनबाट नेपालीभाषा र साहित्यमा ठूलो क्षति पुगेको छ । यस घडी म साहित्यकला मन्दिर, अक्षरङ्ग- परिवार तथा व्यक्तिगतरूपमा समेत दिवङ्गत डा. शर्माप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । डा. शर्मा पार्थिवरूपले हामीबाट बिदा भए पनि उनका साहित्यले उनलाई नेपाल र नेपाली रहुञ्जेत जीवित राख्ने छन् ।
रमण घिमिरे
[email protected]