संस्मरण

जब साथ छोड्छ
वर्षौंवर्ष सँगै डुलेका गोडाका मांसपेशीले
जब धमिलो हुन्छ दृष्टि
ऐनामा नचिन्ने गरी आफैँलाई
कानमा गुन्जिरहन्छ
अस्पष्ट आवाजको प्रति ध्वनी
विलीन हुन्छन् मोती जस्तै दन्तलहर
अनुहार भरी सल्बलाउँछन् समयका बक्ररेखा
जतिबेला हाँसो बिसाइसकेको हुन्छ
शीरमा हिमालले
बज्रजस्तै हड्डीसँग टाँसिइरहेको हुन्छ
छालाको आवरण
जतिबेला हातका औंलाहरूसँग बडो दूरीमा हुन्छ
आफ्नै प्रेमको स्पर्श
त्यतिबेला मसँग मजस्तै तिमी हुन्छौ
र हामी अहिले जस्तै हुन्छौँ ।
आऊ,
एकैछिन प्रेमको रिहर्सल गरौँ !
छवि अनित्य
[email protected]