• २०८१ पौष २९ सोमबार

मेरो प्रेमको हर बिहानी तिमीबाटै सुरु होस् !

उषा शेरचन

उषा शेरचन

उहिल्यैदेखि आजपर्यन्त
मान्छेले
प्रेमको गीत गाइ नै रहेको छ
प्रेमसँग मित लाइ नै रहेको छ

लाएर कहिल्यै अघाउन्न रहेछ प्रेम
लेखेर कहिल्यै सकिन्न रहेछ प्रेम
जोखेर कहिल्यै जोखिन्न रहेछ प्रेम
मासेरे कहिल्यै मासिन्न रहेछ प्रेम

त्यसैले त
यो चन्द्रागिरिको शिखरमा बसेर
घाम र जूनलाई साक्षी राखेर
म तिमीलाई
सर्तसहितको प्रेम होइन
सर्तरहितको प्रेम गर्न चाहन्छु

जसरी बादलले पानीसँग गरेको हुन्छ
जसरी नदीले समुद्रसँग गरेको हुन्छ
जसरी धरतीले आकाशसँग गरेको हुन्छ

चाहे तिमी धेरै टाढा हौ
वा मेरै नजिक
बतासजस्तै
हरदम महसुस गर्न सकूँ म तिमीलाई
र, तिमीलाई नै सम्झेर
गुलाफजस्तै
हरदम मुस्कुराइरहन सकूँ

तिमी आगो हुँदा
पानी हुन सकूँ म
तिमी पानी हुँदा
आगो हुन सकूँ म

तिमीसँग रिसाउँदा पनि
तिमीलाई नै प्रेम गरूँ
तिमीसँग खुसी हुदाँ पनि
तिमीलाई नै प्रेम गरूँ

हर बिम्ब र प्रतिबिम्बहरूमा
मात्रै तिमीलाई देख्न सकूँ
हर मोड र उकाली ओरालीहरूमा
मात्रै तिमीलाई भेट्न सकूँ

उदाहरण जतिसुकै फेरियोस्
तर नफेरियोस् मेरो प्रेमको उदाहरण
परिभाषा जतिसुकै बदलियोस्
तर नबदलियोस् मेरो प्रेमको परिभाषा

आँखा खोल्दा पनि तिमीलाई नै भेटूँ
आँखा चिम्लिदा पनि तिमीलाई नै देखूँ

म चाहन्छु
मेरो प्रेमको हर बिहानी
तिमीबाटै सुरु होस् !
र, मेरो प्रेमको हर रात
तिमीमा नै अन्त्य होस् !!


उषा शेरचन