परदेशतिर मोडियो यो पैसाकै लागि
सयौंको पाउँ ढोगियो यो पैसाकै लागि
ए प्रियसी बरु मेरो अङ्ग काटेर बेचिदेऊ
कठै चन्दनझैँ घोटियो यो पैसाकै लागि ।
भोक, तिर्खा हुन्छ सधैं अभाव आउँछ सधैं
अभावबाटै हुने सिर्जित तनाव आउँछ सधैं
खोज्दै छु, कागजी नोटमा कुनशक्ति रहेछ ?
परिवार, आफन्तजनको दबाब आउँछ सधैं ।
जति धेर बुझ्दै गयो हृदयउति नै गजब छ
हृदयभित्रै मानव छ, हृदयभित्रै दानव छ
निकै विशाल र’छ हृदय यो आकाशभन्दा
हृदयभित्रै पाण्डव छ, हृदयभित्रै कौरव छ।
गन्तव्यमा उकालो आउँछ ओरालो आउँछ बुझेको खै. ?
चक्र न हो अँध्यारो आउँछ उज्यालो आउँछ बुझेको खै. ?
जिन्दगी जिउन निरर्थक छ भन्नेलाई मेरो एक अनुरोध,
“पत्थर“को नि त भगवान बन्ने पालो आउँछ बुझेको खै. ?
अफ्ठ्यारा होस् सफर तर यी पाइला चाल्न सकुँ
अवरोधका पत्थरहरू जोशले तताएर गाल्न सकुँ
यो ठूलो भीडलाई पन्छाएर, सबैको मान्छे बन्नु छ
अन्याय गर्नेका विरुद्ध यी आवाज निकाल्न सकुँ ।
रेहित सैजु
[email protected]