• २०८१ माघ २ बुधबार

नभने पनि

राजेन्द्र शलभ

राजेन्द्र शलभ

आउँछु भनेकै होइन तिमीले
तर, म पर्खिरहेको हुन्छु
किन तिमीले केही नभने नि !
म धेरै थोक सुनिरहेको हुन्छु
कति कुरा–
तिमीले भन्न चाहेर पनि भन्दिनौ
तर म नभनीकनै बुझिरहेको हुन्छु

नभनीकनै बुझ्नु
सायद गल्ती पनि हुनसक्छ
जस्तो कि–
तिमीले नभनीकनै मैले बुझेँ
तिमी पनि मलाई माया गर्छौ

यो सबै मैले
यतिकै बुझेको पनि होइन
तिमीले अरूसँग
मेरोबारे गर्ने कुराहरू
अनि मेरा लागि तिम्रो पीर
सबैसबै तिम्रा आँखाले मलाई भन्छन्
र तिमीले नभनीकनै
म तिम्रा कुराहरू सुन्छु/बुझ्छु

र त,
आउँछु नभने पनि
म पर्खिंदा तिमी आउँछौ ।


राजेन्द्र शलभ
[email protected]