यौवनका रसहरूसँग लतपत्तिएको तिम्रो र मेरो
जिन्दगिको हाँसो
प्रेमका बाछिटासँग पौठाजोरी खेल्दाखेल्दै उब्जाएका
सपनाका भण्डारहरू
समयको अनुहारमा तिम्रो सौन्दर्य भरेर हिडेका
पैतालाका डोवहरू
मलाई एक्लै दौडाएर
उतै कतै छुटिसकेछन्
कहिल्यै नफर्किने बाचा गरेर
आँखाले ठम्याउनै नसक्ने अक्षरहरूको
बूढो चिठी बोकेर
प्रेमिल गोरेटोहरूमा
जिन्दगीहरूको सारांश खोज्दै
गुडिरहेको एउटा बटुवालाई देख्छु
र
सम्झन्छु
अभावको आश्रय खोजिरहेको
हर रात काल्पनिक सपनाको अध्यायमा
अवतरण गरिरहेको
आफ्नै तन्नेरी मुटु
जहाँ, तिम्रो चेहेरा माथी
मेरा हरेक दृष्टि केवल
मौन प्रेम सन्चय गरिरहन्छ।
तिम्रो अनुहारको हँसिलो आभा
हावाको आवरणमा छरपस्ट पोखिन्छ
जसले हरेक शैथिल्य सन्ध्यामा
नयाँ उत्साह रोपिरहन्छ ।
कयौँ कालदेखि हृदयभरी अड्किएका
अनेक जिज्ञासाको जवाफ
प्रतिक्षा गर्दागर्दै
समयले पढ्नै नसक्ने पीडाको
गहिरो पुस्तक पढेर
प्रेमको परीक्षा दिँदा
आफ्नै अस्तित्वको लडाइँमा
आफैँसँग हारेर आएको छु
एकछिन किनारामा बिसाएर जिन्दगी
यौवनको पाना पल्टाउँदा पल्टाउँदै
म आफ्नै गति पछ्याउन नसक्दा
तिम्रो अभिन्न बाट भिन्न भएको छु
तर
निरर्थक सपनाको छातीभरी
यादहरूको हुरि
बिसाउन खोज्दैगर्दा
अचानक !
एउटा प्रश्न मेरो वरिपरि मडारिन्छ..
हृदयको सुकुलभरी एक अँगालो जिन्दगी सुकाएर
प्रेम महोत्सव मनाउन निदाएका एक जोडि
किन ब्युझिएनन् ?
बरुण रिजाल
[email protected]