• २०८१ श्रावाण ११ शुक्रबार

महाशय सावधान

असल चरित्र

असल चरित्र

हिजो !
मेरा बाले सिलाएको दौरा
सुरूवाल, इस्टकोट र जुहारी कोट
सिरको ढाकाटोपीले
महाशयको सम्पूर्ण शरीर स्पर्श गर्दा
उहाँको मानले छलाङ मार्यो

आज !
म चाहिँ जातले हो कि कुजात
कुरीति हो कि वर्ण व्यवस्था
वर्गीय भेद हो कि पुर्वजन्मको फल
दुःखी भएर भन्नू कि गरिब भएर भन्नु
म अझै एउटै धर्तीको कुवामा अछुत छु महाशय

भोलि !
मैले पनि समान अस्तित्व चाहेँ भने
मेरो वास्तविक पहिचान मागें भने
कुरीतिले लेखिएको इतिहास पढ्न खोजे भने
युगौँ खपेर महाशयहरूकै जिउ ढाकि दिन मग्न मेरा बा
बर्षौ बाँचेर महाशयहरूकै हतियार साँध्न मग्न आरने काका
दुःख र व्यवस्थाहरूलाई पुर्वजन्मको पाप सम्झने
मेरि आमा जस्ती हजार आमाहरूलाई
युगौ देखि चलिरहेको वर्ण र वर्ग, धनी र गरिब,
जात र कुजातयी सबै भ्रम मात्र हुन भनिदिएँ भने
महाशयलाई प्रश्नको बोझ पर्न जाला

पर्सि !
सावधान ! महाशय
तयार रहनुस्
प्रश्नहरू अब यक्ष भइसके,आँधी भइसके
तिनीहरूले तपाइँको मगज माथी टेक्दै
शिथिल बनाउछ सक्छन्
तिनीहरूले तपाईंको देहप्रति निर्घात प्रहार गर्न सक्छन्
हुनसक्छ, तिनीहरूले तपाईंको पतन रोजेका छन्
त्यसैले उत्तर खोज्नुस महाशय
जात के हो, कुजात के हो ?
मान्छे के हो, जनावर के हो ?
परिवार के हो, समुदाय के हो ?
एकता के हो, राष्ट्रियता के हो ?
प्रतिशोध के हो, परिवर्तन के हो ?
अन्त्यमा यसको पनि उत्तर खोज्नुस महाशय
प्यास, प्रेम र जातको कस्तो सम्बन्ध हुन्छ ।।।


असल चरित्र, साँझा बस्ति, खोटाङ
[email protected]