• २०८१ माघ ३० बुधबार

कवि मायादेवी गुरुङका दुई कविता

माया देवी गुरुङ

माया देवी गुरुङ

१. ऐना

कहीं कतै देखेको
थिएँ मैले
ऐनालाई पुकारेर
भन्दै थियो कसैले
र अनुरोध गर्दै थियो ऊ
ए ऐना ! अनुहार होईन
मलाई मान्छेको
नियत देखाई देऊ…

साँच्चिकै यस्तो अद्भुत
ऐना हुँदो हो त
दुनियाँ यस्तो
किन हुन्थ्यो र ?
कालो मनलाई
मुस्कानको पर्दाले
छेक्न के सक्थ्यो र ?
हाँस्नु पर्ने मान्छेले
आँशुले मुहार
धुन किन पर्थ्यो र ?

२.अगुवा

आफू जस्तै दुई चारजना
व्यक्तिहरूको गुटद्वारा
बल र छलले
दल र कलले निपूर्ण
ठूलो स्वर गर्दै बुट बजाएर
अनेकौँ  युक्ति चलाएर
सक्ने जतिलाई पेलेर
सत्यलाई ताला लगाएर
ओहदामा बसेको
तिमीलाई म कसरी अगुवा मानुँ ?

रैतीको हक अधिकार र
ठूला साना आशाहरूमा
तुषारापात गरिदिने
विध्वंस मच्चाउनेलाई
थच्चाउने होईन बरु
नीति नियम पन्छाएर
काँधमा चढाईदिने
अनेक चलाखी गरी
निर्दोषलाई दोषी देखाउन
हरथोक गर्ने
अविवेकी काम गर्न
किंचित नहिच्किचाउने
तिमीलाई म कसरी अगुवा मानुँ ?

सधैं कसै न कसैको
मनलाई प्रहर गरिरहने
मौका खोजी खोजी
अर्काको स्वाभिमान
व्यर्थ कुल्चिरहने र
त्यसमै आनन्द मानिरहने,
आफूजस्तै एउटा समूह बनाएर
भित्रभित्रै धमिरा लगाएर
माया र छाँया दिने
रुखहरू ढालिरहने
तिमीलाई म कसरी अगुवा मानुँ ?
अँह म तिमीलाई अगुवा
मान्न कदापि सक्दिन ।


माया देवी गुरुङ, पञ्चमूल सिरुबारी (बिरौटा) हाल वेलायत
[email protected]