• २०८१ भाद्र २४ सोमबार

स्मृतिमा आसाम

बाबुराम न्यौपाने ‘उत्स

बाबुराम न्यौपाने ‘उत्स

देशमा दुई दशक लामो रक्तरन्जित राजनीतिको कहालि लाग्दो कालखण्ड व्यहोरेर जनप्रतिनिधिको चुनाव भईसकेको थियो ।
चुनाव हुनुभन्दा अगाडी जनताको काम गर्न अन्तरिम सरकारबाट स्थानीय स्तरमा वडामञ्च, टोल विकास समिति जस्ता अस्थायी निकाएहरु गठन भएका थिए ।
स्थानीय चुनावपछि वडामञ्चको औचित्य सकिएको थियो ।
दमक नगरपालिका वडा नंं नौको वडा मञ्चमा संलग्न हामीले सम्झाउँने बिर्साउने एउटा भ्रमण गर्ने निधो गर्यौं ।
छिमेकी देश भारतको आसाम क्षेत्रको भ्रमण गर्ने लामो समय देखिको धोको थियो । आसाम घुम्म जाने प्रस्तावमा सबैको सहमति भयो ।
मञ्चमा प्रतिनिधित्व गर्नेहरुका पति भए पत्नीलाई र पत्नीभए पतिलाई यात्रामा समावेश गराउने सल्लाह पनि मिल्यो ।
चौतिस जनाको समूह लिएर आसाम राज्यको चेरापुञ्जी सम्मको भ्रमण गर्ने गरि मिति वि.सं.२०७५ मंसिर पाँच गते (21th Nov 2018 A.D.) त्यसतर्फ प्रस्थान गर्यौं ।
भारतको पश्चिम बंगाल राज्यको एनजेपी रेल्वे स्टेसनबाट रेल चड्ने गरी साँझ सात बजेको टिकट बुक थियो । दमकबाट काँकडभिट्टासम्म बसबाटै जाने सल्लाह भयो । बेग्लाबेग्लै बसबाट गएपनि सबैजना नेपालको सुदूरपूर्वी सिमाना काँकडभिट्टामा जम्मा भयौँ ।
जीवनसाथी मुना, बहिनी सुशीला/भाइ देवराज एउटा बसमा चड्यौं ।
काँकडभिट्टामा सबैजना जम्मा भएपछि सानू सानू समूह बनायौं र ट्याक्सीमा एनजेपी प्रस्थान गर्यौं ।
काँकडभिट्टाबाट मेची नदी तरेर समयमै रेल्वे स्टेसन पुग्यौँ । मैले मेची नदीको पक्की पुल तर्दै गर्दा टीस्टा नदीसम्म पुगेको पुर्खाको वीरता र गौरव सम्झिएँ।

रेलवेको टिकट काउन्टरमा समय बुझ्दा रेल डेढ घण्टा ढिलो छुट्ने कुरा थाहा भयो । प्रतीक्षा गर्नुभन्दा अर्को विकल्प थिएन । रेलभित्र गुणस्तरीय खाना नमिल्ने जानकारी मिलेकोले स्टेसन छेउका होटलमा आ–आफ्नू इच्छा अनुसारको खाना खायौँ ।
सामान चोरी हुनसक्ने र पकेटमारबाट सावधान रहँन नयाँ साथीहरूलाई सजग गरायौं । अब हामी ट्रेनको प्रतीक्षामा थियौं ।
मैले छेउको पुस्तक पसलबाट पचास रुपियाँमा आसाम क्षेत्रको गाइड म्याप किनेँ ।

रातको साढेआठ बजे हामी जाने रेल विरक्तलाग्दो हर्न बजाउँदै तोकिएको प्लेटफर्ममा आइपुग्यो । यहाँ रेल दस मिनेटमात्र रोकिने रहेछ । स्टेनमा रहेका यात्रुहरूको दौडधुप सुरु भयो ।
रेलबाट उत्रने र चड्नेको धकम धक्का दिक्क लाग्दो थियो । सलह जस्तो भीडमा घचेटा घचेट गर्दै हामी सबैजना रेलमा चड्यौं ।

टिकट रुजु गरेर आफ्नू सिट नम्बर पत्ता लगायौं । दुईवटा डिब्बामा बस्नेगरि हाम्रो टिकटबुक थियो । पदम कोइराला दाजु/पुष्पलता, कृष्ण सुवेदी दाजु /द्रोपदा र जानुका बाँस्कोटा/धनञ्जय सर, जीवनसाथी मुना, बहिनी सुशीला /भाइ देवराज एउटा डिब्बामा बस्यौं ।

रातको समय बाहिरको प्राकृतिक दृश्य देखिने कुरा भएन । रेल आफ्नेै ताल र गतिमा दौडिरहेको थियो । पदमदाइ तीसबर्ष अगि आसाम बस्नु भएको रहेछ तर यो अन्तरालमा धेरै कुरा परिवर्तन भईसकेको थियो । उहाँसँग पनि विगतको धुमिल याद मात्र बाँकी रहेछन् ।
अरु हामी सबै पहिलोपटक आसाम जाने यात्रु थियौं । अझ पच्चीस छब्बीस जना त पहिलोपटक रेल चड्ने साथीहरू थिए । घरीघरी निद्राको झप्किलिंदै र रमाइला गफ गर्दै रात ढल्कियो ।

बिहानको चारबजे आसाम राज्यको राजधानी गुवाहाटी छेउ कामाक्षा रेलवे स्टेसनमा रेल रोकियो । हामी त्यहीँ उत्रियौं । वातावरणलाई हुस्सुको बाक्लो खास्टोले छोपेको थियो । चिसो सिरेटो चलेकोले मुटु काम्ने जाडो थियो ।लगेजबाट न्याना लुगा निकाल्यौं । भएका ताता कपडा लगायौं ।
ट्याक्सीमा चढेर प्रसिद्ध कामाक्षा देवीको दर्शन गर्न मन्दिर तर्फ लाग्यौं ।मन्दिरको केही तल ट्याक्सी स्टेण्डमा उत्रिएर करिब पाँच सात मिनेटको उकालो चढेपछि मन्दिरको गेटमा पुगियो । प्रतिव्यक्ति ट्याक्सी भाडा चालिस रुपियाँ लियो ।

रातीदेखि नै देवीको दर्शनको लागि लाइन लाग्दोरहेछ । हाम्रा साथीहरू पनि देवीलाई चढाउने फूल प्रसादी किनेर लाइनमा थपिदै गए । म र भाइ देवराज बाहिरबाटेै देवीको दर्शन गरेर फर्किनेमा पुग्यौं ।
मलाई आफ्नू स्वास्थको चिन्ता पनि थियो । Lower back pain को कारण लामो समय उभिएर लाइनमा बस्न सजिलो थिएन । तर मलाई यहाँसम्म आईसकेपछि किन किन मन्दिरमा प्रवेश गरेर अवलोकन दर्शन गरौं गरौं लाग्यो ।

समस्या थियो ! यो दुईहजार बढीको भीडमा लाइन लागेर कसरी मन्दिरभित्र पुग्ने । देवराज भाइ र मैले सल्लाह गर्यौं । सरासर जाने लाइनमा बस्नेले बिरोध गरेमा थपक्क फर्कने ।
हामी लाइनको छेउछेउबाट मन्दिरको ढोकातर्फ अगि बड्यौं । कसैले अवरोध गरेन ।
तर मन्दिरको ढोकामा पुगेपछि मन्दिरको गेटमा लगाएको तालाले भने हामीलाई नमज्जाले रोक्यो ।

मन्दिरको ढोका खोल्ने समय भएको रहेनछ । कि बस्नु पर्यो कि फर्कनु पर्यो । आधाघण्टाको प्रतीक्षापछि पनि ढोका नखुलेपछि हामी दुबैजना फर्कियौं ।तर तीनसय जतिको भीड क्रस गरिसकेपछि पदम दाजु र कृष्ण दाइभाउजूसँग भेटभयो ।
“एकघण्टादेखि पचहत्तर बर्षका बुढा त लाइनमा बसेका छौं तपाईंहरु कहाँ फर्कन मिल्छ ?“ पदम दाजुको जोशीलो भनाइपछि हामी लाइनमा बस्यौं ।छेउमा बाँस्कोटा धनञ्जय पनि मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । हामीबीच रमाइला गफ सुरु भए।

“हामी भगवान भेट्ने चक्करमा खोरमा बाँधिएका भेडाबाख्रा नेै भयौं ।” मेरो भनाइमा साथीहरू सहमत हुनुभयो । एकघण्टापछि पौने आठबजे मन्दिरको ढोका खुल्यो । हामी मन्दिर प्रवेश गर्यौं ।

दुबैतिर फलामे रडको साँघुरो बार थियो । केही दुर्घटना भएमा धेरैको ज्यानजाने निश्चित थियो । देवराज भाइ र मसँग हातमा फूल थिएन । अझ मसँग त मन्दिरमा चडाउने पैसा पनि थिएन।भएको पैसा जीवनसाथी सँगै थियो ।
मैले पवित्र मन साक्षी राखें । पदमदाजुको हातको एकथुँगा फूल मागें ।सबैतिर निर्मल मन चढाउँदै हिंडे । मनमनै भनेँ, “देवीलाई मेरो मन र मेरो साथमा पैसा नभएको विषयमा सबै थाहा छ।“
ईश्वर सर्वव्यापी हुन्छन् ! भन्नेकुरामा म ढुक्क थिएँ ।
देवीको दर्शन सकेर बाहिर निस्कियौं ।
“हेर्नु न ! मेरो पर्सबाटै पण्डा (पुजारी)ले पाँचसय तानेर लग्यो।“ बाहिर जानुका सिस्टरको गुनासो थियो ।

मन्दिरबाट केही तलको होटलमा सबैजना जम्मा भएर चिया नास्ता खायौं । त्यसपछि बसबाट हामी गुवाहाटीका लागि हिड्यौं । गुवाहाटीको एक होटलमा खाना खायौं । होटल राम्रो थियो तर खाना चै राम्रो थिएन । पल्टन बजारमा लजको बन्दोबस्त भयो । लज सञ्चालक नेपाली मूलका रमाइला भाइ रहेछन् । कोठामा सामान थन्क्यायौँ ।

अपरान्ह तीनबजे ब्रम्हापुत्र नदीको बीचमा रहेको उमामहेश्वर मन्दिर दर्शनका लागि त्यसतर्फ लाग्यौं । ब्रम्हापुत्र नदीको बीचमा रहेको मन्दिर जान सानो स्टिमरको व्यवस्था रहेछ । हामी स्टिमरबाटै मन्दिर गयौं ।
आ–आफ्नो आस्था अनुसार भगवानको दर्शन गर्यौं । हातमा मोबाइल थियो यात्रा क्रममा तस्बिरहरू खिच्थ्यौं र सामाजिक सञ्जालमा पोस्ट गर्थ्यौं ।

ठूलै समूह भएकोले बेलुकी लजमा सुत्ने व्यवस्थापन गर्न भने समय लाग्यो । हामी दुई, सुशीला बहिनी र जानुका बहिनीको जोडीलाई तीनबेडको एउटा कोठा लियौं ।
अरु साथीहरुलाई पनि हल र कोठामा सुत्ने व्यवस्था भयो । साथी नरेश बंजरा/गीता, बहिनी चन्द्रा भटराई, बहिनी गीता बुढाथोकी, विक्रम अधिकारी/सुनिता, तेजप्रसाद तिवारी भावना, खिना पराजुली/मेघराज, प्रेमकुवर/सर्मिला, रणबहादुर रसाइली/पत्नी, राजेन्द्र दिवाली/पत्नी लगाएत यात्रामा सामेल थियौं ।
भ्रमण टोलीमा राजनीतिकर्मी, साहित्यकार, समाजसेवी र संघसंस्थाका प्रतिनिधिको मिस्रित सहभागीता थियो ।
हामीले सुत्नेबेलामा रात अबेरसम्म धर्म, राजनीति र यात्राको विषयमा कुराकानी गर्यौं । भोलिको यात्राको लागि योजना बुन्यौं । म र धनञ्जय सर केहीबेर राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रको साहित्यिक कुराकानीमा पनि रमायौं ।
पण्डाले ठगेको कुरा गर्नपनि छुटाएनौं । जबर्जस्ती पैसा चढाउन दबाब दिएको कुरा पनि उठ्यो । तर मैलेचाहिं पवित्र मानिएको स्थलमा त्यो कुरुप व्यबहार व्यहोर्नु परेन ।
मन्दिर व्यवस्थापनले मन्दिरको छवि सुधार्न यस्ता गलत प्रवृत्तिलाई रोक लगाउन जरुरी छ । मन्दिर दर्शनगर्न जाने भक्त श्रद्धालुले स्वेच्छाले केही न केही दानदक्षिणा दिन्छन् नेै मैले थाहापाएसम्म मन्दिरहरुमा विशेष पूजामामात्र शुल्क तोकिएको हुन्छ ।

“साथीहरू जोडीजोडी सुतेका छौं । कोही पनि चट्पटाउँन नपाई है…।“सुत्नेबेलामा भाइ देवराजको रसिक कुराले हामीलाई निकैबेर मज्जाले हँसायो ।
यात्राको दोस्रोरात गुवाहटीको काखमा रमाइलोसँग बित्यो ।
आज बिहानै सीलोन (Shillong) को लागि प्रस्थान गर्ने तयारी भयो ।लजवाला भाइलाई भनेर एकजना गाइड लियौं । नेपाली मूलका गाइडको पारिश्रमिक खाना नास्ता ख्वाएर दिनको एकहजार दिने तय भयो ।
चेरापुन्जी Cherrapunji पुगेर फर्कनेगरि दुईदिनको लागि बाईस हजार IC मा एउटा बस रिजर्भ गर्यौं । ट्याक्सीमा भन्दा टाढाको यात्रा बसबाट गर्न आरामदायक हुन्छ, मेरो अनुभवले यस्तै भन्छ ।
बिहान सातबजे गुवाहाटीको बजार छिचोल्दै बस अगि बड्यो ।
मेघालय राज्यमा पर्ने बाटोको कुनै एक होटलमा स्वादिलो खाना खायौं । बाटोबाट देखिने नेपाली मूलका मानिसको पातलो पातलो बसोबास रहेको घरगाउँ देखाउँदै हाम्रो बस अगि बढिरहेको थियो । नेपालीहरुको बस्ती देख्दा भित्रैबाट कताकता भावना जोडिन्थ्यो ।
सिलोङ्गमा रहेको डनबस्को म्युजियम (Don–Bosco Museum )अवलोकन गर्यौं । म्युजियम निकै व्यवस्थित थियो । यसको माथिल्लो छतबाट सिलोङ्ग बजारको मनोरम दृश्यले मन लोभ्यायो ।
सिलोङ्गमा नेपाली भाषीहरुको राम्रै बसाइ रहेछ । त्यहाँका होटल पसलमा नेपाली भाषामा कुराहुँदा नेपालकै कुनै ठाउँमा भएको अनुभूति गरायो । मेरो मनमा एक किसिमको खुशीको तरङ्ग उठ्यो ।
त्यहीँ कपडाको पसल गरेर बस्ने एकजना नेपाली मूलकी बहिनीबाट केही बर्ष अगाडी नेपाली जाति माथि भएको दुर्व्यवहारको कुरा सुन्दा दुःख लाग्यो । ती घटनामा नेपाली मूलका निकैजना मानिसले ज्यान समेत गुमाउनु परेको रहेछ । मनमनै प्रार्थना गरेँ ! अब फेरि कहिले यस्तो नहोस् ।
यात्राको क्रममा नजिकबाट महसुस भयो आसाम, मेघालय, सिलोङ्ग क्षेत्रतिर नेपाली भाषासाहित्य र संस्कार संस्कृति अझै त जिवित रहेछ ।

सुन्दर झील घुम्यौं । झीलमा कसैले डुङ्गा/वोट सयर गरे। हामी केहीेले स्थानीय खासी जातिको पहिरन लगाएर तस्बिर खिच्यौं, खिचायौं । कपडा लगाएको प्रतिव्यक्ति एकसय तिर्नुपर्ने रहेछ । क्यामेराबाट तस्बिर खिचाएको पचास रुपैयाँ अतिरिक्त लाग्यो । तर मोबाइले आजकल क्यामेरा वालाको पेशामा धावा बोलेको छ ।

आजको रात सिलोङ्गमा रहेको एउटा चर्चको गेष्ट हाउसमा बस्यौं । ठूलोहल भएकोले धेरैजना अँटाइने रहेछ । हामी मध्ये केहीले क्याबिनमा बस्नेगरि मिलाएका थियौं । तर महंगो थियो ।
सुत्नेबेलामा गेष्ट हाउस व्यवस्थापकले किन हो ? सुरक्षाको कारण देखाउँदै एउटै हलमा बस्नेगरि पुनः व्यवस्था मिलाएका थिए ।
रेलको डिब्बामा जस्तो एउटै हलमा सबैजना सुत्यौं । रात निकै चिसो थियो । म भने आजको रात राम्ररी निदाऊँन नै सकिन ।

सिलोङ्गबाट बिहान सखारै चेरापुञ्जी आसामको लागि हिड्यौं । बाटोमा पर्ने Eco–Park अवलोकन गर्यौं । यहाँको सरकारले सामान्य ठाउँलाई पनि व्यवस्थित गरेर पर्यटनको विकास गरेको रहेछ । मैले मेरो देशको प्राकृतिक वैभवलाई सम्झिएँ ।
बसका बंगाली चालक बहुत अनुसासित र अनुभवि रहेछन् । यो कुरा उनले यात्राको क्रममा हामीलाई महसुस गराए । उनले नेपालीभाषा बोल्न नसके पनि गुहाटीमा भने राम्ररी नेपाली भाषा बोल्न सक्ने बंगाली दाजुभाइ भेटिएका थिए ।
हामी बिहान एघारबजे संसारकै सबैभन्दा बढी बर्षाहुने स्थान चेरापुञ्जी पुग्यौं ।
हामीलाई मौसमको भरपुर साथ थियो । पुग्दा आकाशमा फिटिक्क बादल थिएन । सूर्यका न्याना किरणले हामीलाई मीठो स्पर्श गरे । हामी रोमाञ्चित र आनन्दित भयौं ।
ठूलाठूला चट्टान तोडेर निर्माण गरेका लमतन्न सुतेका घुमौरा पहाडी बाटाहरु त्यस क्षेत्रको विकासको साक्षी थिए । यो क्षेत्र प्रसस्त पत्थर कोइलाको खानी भएको स्थान रहेछ । बाटोमा गाडी रोकेर कोइलाको चट्टान कोट्याएर पनि हेरौं ।
कोइला खानी र चिया बगानमा मजदुरी गर्न हिन्दूस्तान बेलायतको उपनिवेश भएको कालखण्ड देखिनै नेपालीहरु यतातिर आएको इतिहास हामीसँग छ । लाहुरेहरुको कथा बेग्लै हो । चेरापुञ्जीबाट पूर्वदक्षिण बंगलादेशको एकछेउ पनि देख्न सकिंदो रहेछ । हामीसँग दूरवीन (Binocular) थिएन । खुला आँखाले नै नियाल्यौं । करिब दुईघण्टाको चेरापुञ्जीको अवलोकन पछि हाम्रो समूह पुनः गुवाहटी तर्फ फिर्यो ।
बाटोमा पर्ने होटलमा खाना खायौं । इलिफेन्ट फल्स झरना घुम्यौं । मलाई त लाग्यो यस्ता झरनासँग गाउँमा साँझबिहानी नै मेरो सङ्गत हुन्थ्यो । तर समय अभावमा घुम्न चाहेका अन्य धेरै ठाउँहरु भने छुटे ।
बेलुकी साँझ आठबजे गुवाहाटी पुगियो । अगाडी बसेकै लजमा बस्न व्यवस्था मिलाएका थियौं ।
समयको गति रोकिने कुरै भएन । गुवाहाटी रेलवे स्टेसनबाट बिहान सातबजे एनजेपीका लागि रेल छुट्ने समय निर्धारित थियो । फर्कने रेलको टिकट अनलाइनबाट अगाडीनै बुक गराई सकेका थियौं । बिहान सबेरै उठ्यौं । ट्याक्सीमा चढेर नजिकैको रेलवे स्टेसन पुग्यौं । रेल समयमै प्रस्थान गर्ने भनेको भएपनि एकघण्टा पछिमात्र हिड्यो ।

दिउँसोको रेलयात्रा बढो रमाइलो भयो । महिला दिदीबहिनीहरु नाच्न गाउँनमा व्यस्त भए; पुरुषहरु साथदिनमा ।

रेलमा भएका अन्य यात्रुहरू पनि रमाइलो मानिरहेका थिए । पर्समा भा.रु. पैसा भएकाहरुबाट ट्रेनभित्र बेच्न ल्याउने सामानहरु किन्ने काम भयो ।

तर रेलमा सामान किन्दा बिक्रेताले भनेको मूल्यमा आधा घटाएर दलाली गर्दापनि ग्राहक ठगिने डर यहाँ पनि उत्तिकै थियो ।
हामीलाई बोकेको रेल तीनबजे एनजेपी स्टेसन आइपुग्यो । काँकडभिट्टासम्मको लागि ट्याक्सी रिजर्भ गर्यौं । काँकडभिट्टा पुगेपछि हाम्रो समूह छुट्टियो । हामी आ–आफ्नै किसिमले दमकका लागि प्रस्थान गर्यौं ।
यसरी हृदयभरि आसाम भ्रमणको स्मृति सँगालेर हाम्रो यात्रा टुंगियो ।


बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा
[email protected]