• २०८१ भाद्र २४ सोमबार

मुक्तक

मञ्जुराज गिरी

मञ्जुराज गिरी

रिस राग के का लागि हो गम के का लागि हो ?
एकाएक भयो बोलचाल कम के का लागि हो ?
मायाले सबै समस्याको हल भइहाल्छ नि प्यारा
ब्यर्थै दिइरहने यो मनमा जखम के का लागि हो ?

भुलेर सबै बाचा, कसम रमाउछन् सत्तामा पुगेपछि
के धन्दा गर्छन् के मेसो समाउछन् सत्तामा पुगेपछि
सत्ता बाहिर हुदाँ भिखारी जस्तो हालत भएकाहरू
कसरी करोडौं रूपियाँ कमाउछन् सत्तामा पुगेपछि

तिम्लाई सम्झियो बस्यो साँझ बिहान यस्तै छ प्यारा
मनभरि पीडा खाली ओठमा मुस्कान यस्तै छ प्यारा
जिन्दगी न हो आखिर जसो तसो जिउनै पर्ने त रहेछ
धड्कन तिमीसँग मसँग खोक्रो ज्यान यस्तै छ प्यारा

हतपतमा हुन्छन् कैयौं निर्णय मुस्किलमा हुन्छन्
जब अर्कै मान्छे शिरमा अर्कै मान्छे दिलमा हुन्छन्
देश बनाउने मान्छे खोज्ने भए चियापसल जानुस्
धोका पाएका प्रेमी भट्टीमा हुन्छन् महफिलमा हुन्छन्


मञ्जुराज गिरी, दैलेख
[email protected]