• २०८१ श्रावाण ११ शुक्रबार

मोहन आचार्य जलदका दुई गीतहरू

मोहन आचार्य जलद

मोहन आचार्य जलद

गीत
मायाको चिनो कोशेली पाएँ आँशुले भिजेको
जीवन भरी सम्झिने गरी दिलले सिजेको

जिन्दगी भयोे यता न उता मुग्लान जानाले
बैँसको दिन सम्झेर हेर्दा सम्झायो छानाले

कसोरी भन्नू मनको वह सुन्छौं कि सुन्दैनौं
तिम्रै हुँ प्रिय तिम्रै हुँ मायाँ बुझ्छौ कि बुझ्दैनौ ?

चर्चरी दुख्छ मनको घाउ बल्झेको धेरै भो
मायालु बोली सुनु म कैले अल्झेको धेरै भो ।

पानी जस्तै बन्नु पर्छ
पानी जस्तै बन्नु पर्छ आगो खाई अँगार हुँदा
निर्मोहीले धोका दिँदा नियतीको प्रहार छुँदा
……….. पानी जस्तै बन्नु पर्छ आगो….२

दुःख मेरो साथी बन्यो बिछोडले बाटो दियो
दुःखी भयोे दुनिया नै संयोगले साटो लियो
………..पानी जस्तै बन्नु पर्छ आगो…

अचानोले बुझी सक्यो तरवारको धार पनि
पिरतीले गर्नु गर्यो निष्ठुरीको प्यार बनी
………..पानी जस्तै बन्नु पर्छ आगो…

नारी भित्र लेखिएको वेदनाको कथा गुन्दा
जवानीकै चर्चा भयो सृजनाको व्यथा सुन्दा
……….. पानी जस्तै बन्नु पर्छ आगो


मोहन आचार्य जलद, लन्डन बेलायत
[email protected]