English Poem
भावनाका उछालहरू
कल्पनाको सागरमा समेटेर,
लेक बेँसी कामनाको गुराँस फुलाउँछ,
आफ्नै स्पन्दनको राग गाउँदै
उसको अल्लारे बैंश,
अझै गहिराई खोज्दै
डुबुल्की मार्न हतार छ,
नतिजाको प्रवाह गर्न
उसैलाई फुर्सत नै कहाँ छ र ?
ऊ त बस कल्पनाको वायु पङ्खीमा
चढेर आकाश पातलको भ्रमण गर्छ
उसको सीमा न धर्तिले छेक्न सक्छ
नत आकाशले तोक्न सक्छ,
ऊ दिनरात प्रेमको अनुभूति जगाउन
इन्द्रेणीको बाटो हुँदै छितिजसँग रमाउँछ,
बादलसँग बर्षालाई देखेर हर्ष मनाउँछ,
उसलाई संसारिक रिती रिवाजको
प्रवाह नै हुँदैन,
ऊ मनसागर को रूप कमलमा पनि
आफ्नै प्रेमिका देख्छ,
प्रभातको लालिमामा होस
या शरदको जूनमा,
सबै तिर उनी नै उनी देख्छ,
कहिले घुम्टो भित्र लजाई रहेकी,
कहिले उसकै रङले सिउँदो सजाई रहेकी,
पाउजुको झङ्कारले झस्काई दिने,
चुराको छन्छन्ले ब्युँझाई दिने उनी,
उनी प्यारी प्यारी, सुकुमारी,
कँचन बिहानीको शित बिन्दु जस्तै
पवित्र र निर्विकार त्यो अनुहारमा
प्रेमको अनुराग भरेर,
स्वर्गीय आन्नदको अनुभुती जगाउँछ,
त्यसैले त उसको दीमागमा
उनी सरीत प्रवाह बनेर बग्छिन,
छातीको न्यानो ओडारमा
सबैको आँखा छलेर लुकाउँछु उनको मायालाई,
जल तरङ्ग के हो र ?
उनको बोलीसँग दाँज्न मिल्ने
झरनाको झङ्कार कमै पर्छ
उनको हाँसोको सामु
त्यसैले धडकनको रत्त कणमा भरेर,
बैशालु मधुमास,
राज गर्छिन उनी,
उनी चाँदनी हुन,
उनी रागिनी हुन,
उनी मालिनी हुन
तर सबै भन्दा बढ़ी उनी
उसको प्रेमिका हुन
अनु शाह
[email protected]