• २०८० जेठ १७ बुधबार

आत्मचिन्तनको डुबान

शिवराज कलौनी

शिवराज कलौनी

कलियुगको प्राण मन्जरि स्वयं बनेको मान्छे
आफ्नो काम कर्तव्य अनि
भवितव्य सबै थोकबाट
किंकर्तव्य विमुढ बनि छटपटिइ रहँदा
पुरै विश्व समुदायमा
के भइरहेको हो र के होइन ?
दिगो विकास नबुझ्ने हामीलाई केहि प्रतिशत त
आफ्नै कमिले आफैंलाई डसेको हो
भन्न पनि फरक नपर्ला कि ?

लास माथि लासको ढेर कोरोनाले बर्साइरहँदा
सयौँ वर्ष अघिदेखि
प्लेग, हैजारूपि महामारीको झल्को समेत लगाइरहेको भान हुन्न र ?
पुर्खाले बताएको बाटो बिराएर हिड्ने बानि परेका
हाम्रो प्रवृत्ति कतै कोरोना रूपित छैन र ?
मानिसको बाहिर मात्र होइन
कसैको त मनभित्र पनि कोरोना छ
कहिल्यै निको नहुने कोरोना र मनको मैलो
छि !!! जसको उपचार नै छैन
अरूको उपचार गर्ने हामी
स्वयं आफ्नो स्वास्थ्यमा लापरवाह छैनौँ र ?
दिगो विकास नबुझ्ने हामीलाई केहि प्रतिशत त
आफ्नै कमिले आफैंलाई डसेको हो
भन्नपनि फरक नपर्ला कि ?

मास्क, ग्लोभ जथाभावी फालेको देखिन्छ कतै
बच्चाले, घरपालुवा जनावरले
सङ्क्रमितको सम्पर्कमा रहेको पनि भेटिएको छ
फोहर खाल्डोमा पुर्ने,जलाउने अनि
नि सङ्क्रमण गर्ने किताबमा मात्र पढ्ने हो र ?

कसैका गालामा मास्क छ,
कसैले नाकमात्र ढाकेको छ,
थरि थरिका मास्क लगाउने विधि देखिन्छ
मास्क लगाएको कर्मचारी स्वयं
मास्क लगाउने विधिको कार्यशालामा आउँछ
त्यसरी नै चलिरहन्छ सिलसिला
दिगो विकास नबुझ्ने हामीलाई केहि प्रतिशत त
आफ्नै कमिले आफैंलाई डसेको हो
भन्नपनि फरक नपर्ला कि ?

आँखा, नाक, कान, बेकाम कोट्याउने पनि छन् यहाँ
अनेकौं यस्ता दृष्टान्तले समेत विकराल रूप निम्तिँदा
आफ्नैँ नातेदार र सहोदरदेखि समेत
आफू डराई डराई मरेको छ मान्छे
अस्पतालमा आइसियु बेडमा
अक्सिजन अभावमा छटपटिएको देखेर
आत्मविश्वास गुमाएर कमजोर परिरहेको छ मान्छे
को हिन्दु, को मुस्लिम, को इसाई ?
कसको सेवा कसले गरिरहेछ ?
अनि, कसले अन्त्येष्टि गरिरहेछ ?
दुई वर्षसम्म सरसफाइ, साबुनपानी, सेनिटाइजरको
पाठ सिकाएर गएपनि हामी जे परे पर्ला भन्छौ
तब कोरोनाले नयाँ म्युटेन्ट भेरियन्टमा
अर्को पाठ सुरू गर्दै हिडेको हो
दिगो विकास नबुझ्ने हामीलाई केहि प्रतिशत त
आफ्नैँ कमिले आफैंलाई डसेको हो
भन्नपनि फरक नपर्ला कि ?


शिवराज कलौनी, भि न पा- ३ कन्चनपुर
[email protected]