चोपेर विवेकको कूची
युग चेतनाको मसीमा
कोर्न चाहन्छु म
समयको रित्तो क्यानभासमा
एक अद्भुत चित्र !
जहाँ,
प्रतिविम्बन हुनेछ
‘सिङ्गो पृथ्वी, एक परिवार’
प्रेम र भातृत्वले
मेटिएका हुनेछन्
अहमको रगतले कोरिएका
विभाजनका सीमारेखाहरू !
जहाँ,
मान्छेको, मान्छेभन्दा
अर्को कुनै जात हुनेछैन
सम्प्रदाय हुनेछैन
मान्छेको मानवता भन्दा
अर्को कुनै धर्म हुनेछैन
जहाँ,
संसारभरिका
शस्त्र–अस्त्रहरू
निस्क्रिय पारिएका हुनेछन्
शस्त्रगारहरू
रूपान्तरण गरिएका हुनेछन्
पाठशालाहरूमा !
जहाँ,
अवशेषसम्म पनि
फेला पर्ने छैन
विश्वयुद्ध
र अरू युद्धका
डोबहरूको,
हिरोसिमा र नागाशाकीहरू
दुखिरहेका हुनेछैनन्
मान्छेका मुटुहरूमा !
जहाँ,
साङ्ग्रिलाको बगैँचामा
जिस्किरहेका हुनेछन्
केटाकेटीहरू पुतलीहरूसँग,
मान्छेले पूजा गरिरहेका हुनेछन्
प्रकृतिलाई
प्रकृतिकै देन सम्झिरहेका हुनेछन्
आफूलाई !
जहाँ,
दुःखहरू पनि
सुखजस्तो लागिरहेको हुनेछ
मान्छेलाई ।
चित्रमा हुने छैन
बलात्कारपछि हत्या गरिएकी
युवतीको क्षतविक्षत अनुहार
टुहुरा बाबु नानीहरूको क्रन्दन
र हुने छैन
खाँदा खाँदैको अन्तिम गाँस
थालीमै छोडेर
देशनिकाला हुनुपरेको
शरणार्थीको अरण्य रोदन ।
चित्रमा
रेगिस्तानको बालुवामा
छाती घिसार्दा–घिसार्दा
मान्छे नै वालुवा भएको
मान्छेको कङ्काल हुने छैन
र हुने छैन
श्रमिकलाई मेशिन बनाउने
व्यवस्थाको सम्भावना !
साँच्चै, मेरो कल्पनाको चित्र !
मैले सोचे जस्तै हुनेछ ।
आहा, मेरो सपनाको सुन्दर विश्व !
कमलराज केसी, अछाम, हाल: घट्टेकुलो, काठमाडौँ
[email protected]