• २०८१ भाद्र २७ बिहीबार

गाँठाहरू

घनश्याम अस्तित्व

घनश्याम अस्तित्व

जिन्दगी बुन्ने
यो धागो जस्तो हृदय
बनेको छ- गाँठैगाँठाहरूले ।

मित्रता बुझ्नु भन्दा पहिल्यै
धुलो र माटोमा जीवन टुकुटुकु गर्ने उमेरमा
आफ्नै अनुहार, ऐना जस्तो- एउटा मित्र थियो
पहाडमै बसेर उम्किन नसकेपछि
दु:ख र अभावको पहाडले थिँचेको- उसको परिवार
ऊसंगै मधेस लखेटियो- दु:खको एउटा गाँठो पारेर

प्रेम बुझ्नु भन्दा पहिल्यै
फिरफिरेसंग जीवन नाचिइरहने उमेरमा
फिरफिरेझैं आँखा र मन आँगनमा नाचिइरहने
एउटा काली केटी थिई
दसै मान्न आएको लाहुरेको बास्नाले लठ्ठिएर
बाउ आमाबाट लखेटिइ उ दिल्लीतिर
आँशुको एउटा गाँठो पारेर

बाउको समय र पसिना जम्मा हुने
फाटेको पेन्टको खल्तिको ओजनले
किन्न नसकेपछि कालोपाटीका अक्षरहरू
आफ्नै छाँती र काँध जस्तो ठूले
मुग्लान भासियो- अभावको एउटा गाँठो पारेर

सन्तानका आँखाका सपनाहरू बिझाएर
हरेक छाक आधा भोक पेटको कुनामा लुकाउँदै
आँशु र अन्नको मूल्यले पारेको
आमाको पटुकाको गाँठाले
किन्न नसकेपछि लगनगाँठो र दाइजो
चिन्तीले बिहे तोकिएकै दिन- बग्दिई माडीमा
कहरको एउटा गाँठो पारेर

घरदेखि अस्पतालसम्मको
एम्बुलेन्सको एक यात्रा किन्न नसकेर
छिमेकी काका निस्किए महान यात्रामा
छुटे जिन्दगीको स्टेसनबाट
रोगको एउटा गाँठो पारेर

न फुकाउन सकिने / न चुँडाउन सकिने
यी गाँठाहरूले बाँधेर राखेका छन्- खुशी र मुश्कान
भित्र… भित्र…भित्र… कतै भित्र
ओहो ! महासय, यही भूगोलको तपाई चाँही
कुन जादुले हरदम मुश्कुराइरहनु भएको छ ?


घनश्याम अस्तित्व
[email protected]