लघुकथा

धनमायाको दशैँ
शहरीया सम्भ्रान्तहरूको जस्तो
भव्य र ऐतिहासिक हुँदैन ।
उनको दशैँमा
फोडिदैनन् ।
विश्वविख्यात ब्राण्डका
मदिराका बोतलहरू
जहाँ,
खुसीयालीमा गुञ्जिदैनन्
चियर्सका तुमुल धूनहरू
र पाक्दैनन् भान्छामा
चौरासी ब्यञ्जन ।
धनमायाको दशैँ
पिठ्यूमा नुन बोकी आउने
खच्चडको बाटो हेर्दा–हेर्दै
अलिनोमै बित्छ
धनमायाको दशैँ
सरकारी चामलको लागि
खाध्य संस्थानको
ढोकामा उभिदा–उभिदा
भोक–भोकै बित्छ
धनमायाको दशैँ,
रेगिस्तानको बालुवामा
छाती घिसारी रहेको
धनबादुरको यादमा
कोल्टे फेर्दा–फेर्दै
अनिदोमै बित्छ
हो साँच्चै
धनमायाको दशैँ
शहरीया सम्भ्रान्तहरूको जस्तो
भव्य र ऐतिहासिक हुँदैन
उनको दशैँ त केवल
फाटेको लुगामा टालो हालेर बित्छ
ए मेरो देशको सरकार !
भनन
तिम्रो दशैँ चाँही साँच्चै कसरी बित्छ ?
कमलराज केसी
[email protected], Phone No. : 9865641093