समाचार
काठमाडौँ ।
नेपाल स्रष्टा समाजले कथाकार गङ्गा सुवेदीको छैटाैं कथासङ्ग्रह दृष्टिबोध लोकार्पण गरेकाे छ । राजधानीमा आयोजित कार्यक्रममा प्रा. डा. दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, प्राडा भरतकुमार भट्टराई, पवन आलोक र कथाकार सुवेदीले उक्त कथासङ्ग्रह लोकार्पण गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. श्रेष्ठले सुवेदी सामाजिक यथार्थवादी कथाकार भएको बताए । उनले अगाडि भने, ‘प्राविधिक रूपले पनि सुवेदीका कथाहरू बलिष्ठ छन् । उनका कथाका कथावस्तु र घट्नाको बीचमा हुने क्रमागत सिलसिला राम्रोसँग मिलाएर बुनोट भएका छन् ।’ अर्का वक्ता प्राडा गौतमले सुवेदीको व्यक्तित्व संस्था जतिकै माथि उठेको भन्दै नारी भोगाइ र अनुभूति भोक्ता स्रष्टा भएर अनुभूतिको गहिराइमा पुगेर लेख्न सक्ने कथाकारको रूपमा उनको चर्चा गरे ।
कृतिमाथि चर्चा गर्दै प्रा. डा. भट्टराईले कलाकार र कथाकारको उचित संयोजन कथामा देखिएको बताए । कृतिमा २४ कथा रहेको भन्दै उनले प्रायः कथाहरू नारीवादी दृष्टिचेतले लेखिएको बताए । नारीको भित्री ह्रदयहरू केलाएर कथा बनेको छ । पितृसत्तात्मक समाजबाट नारीमाथि हुने गरेका प्रताडनाहरू कथाका विषय बनेका छन् । कतिपय कथा प्रतिकात्मक रहेको पनि प्रा. डा. भट्टराईले बताए । साना कुरा तर गहन र गम्भीर बनाएर कथानकता बुन्न सक्नु कथाकारको विशेषता भएको उनले बताए । अग्रज साहित्यकार पवन आलोक तथा समाजका कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले शुभकामना मन्तव्य राखे ।
कथाकार सुवेदीले आफूले लेख्ने सबै कथा यथार्थको धरातलमा उभिएर लेखेको बताइन । उनले भनिन्, ‘कथाको पात्रमा पसेर लेख्छु, पात्रको ठाउँमा रहेर लेख्छु । नेपालको पूर्वीभागदेखि पश्चिम हुँदै सिंगापुर, मलेशिया जाँदासम्मका अनुभवलाई कथाको रुप दिएको छु ।’ कार्यक्रमका समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको थियो । महासचिव मधु पाठकले सञ्चालन गरेको कार्यक्रममा सचिव प्रदीप सापकोटाले स्वागत मन्तव्य राखे ।
