• २०८२ बैशाख १४ आइतबार

दशैं अघि

पवित्रा अधिकारी

पवित्रा अधिकारी

त्यो सरकारी कर्मचारीको शालीन अनुहार मौन थियो । अहिले ऊ हवाई स्थलमार्ग हुँदै अघि बढिरहेको थियो । उसले हातमा एउटा सानो हाते ब्याग झुण्ड्याएको थियो ।
अलिपर हवाईमार्गमा एउटा विशाल पंछीझैं जहाज हावाको समुद्रमा तैरिनका लागि उसकै प्रतिक्षा गरिरहेको थियो तर त्यो जहाजतिर लम्किरहेको उसको हिंडाइको गतिमा उत्साह मलिन थियो ।
उसले जाँदै गर्दा अर्को जहाजबाट भर्खरै ओर्लिएका एक झुण्ड मान्छेहरूलाई भेट्यो । ती मान्छेहरूको अनुहारमा रौनकता थियो । उनीहरू आफ्नो प्रियजनहरू भेट्ने आतुरतामा एक्लै- एक्लै पनि मुस्कुराइ रहेकाझैँ देखिन्थे । शरद ऋतुको सफा आकाश अनि दशैंको सुन्दर माहोलले केहीदिनअघिदेख धर्तीको मौसम पनि मुस्कुराइ रहेकै थियो । आजदशैं सुरू भएको सातौं दिन थियो ।
ऊ जहाजमा उक्लियो र जहाजभित्र छिर्नु अघि एकपटक वरपरका बस्तीहरूलाई  हेर्यो । बस्तीमा फूलपाती भित्रयाउने तयारी हुँदै थियो ।
जहाजको सिटमा बसेपछि उसले सिटबेल्ट बाँध्दै गर्दा महसुस गर्यो त्यो कम्मरपेटी थिएन । त्यो उसका परिवारहरूको पंक्तिबद्ध अनुहार थियो । ती अनुहारहरू एक तमास मुस्कुराइरहेका थिए तर उसले भने आँखा चिम्लियो र भित्रैदेखिको लामो श्वास निकाल्यो । त्यो बाफिलो श्वास जहाजको आँखीझ्यालको शिशामा गएर टाँसियो र जम्यो । एकाएक त्यो बाफले कुनै आकृति बनाइरहेको थियो । उसले त्यो आकृतिलाई एकतमाससँग हेर्यो र फिस्स हाँस्यो । त्यो धूमिल आकृतिमा प्रौढारम्भ पिउँदै गरेको आफ्नै अनुहार पो देखियो । उसले त्यो अनुहारलाई निकै प्रेम र करूणाले हेर्यो ।
वर्षौं देखिको जागिरे थकाइले लस्त भएको ऊ आउँदै गरेको अवकाशको दिनको मिठो प्रतिक्षामा थियो । अवकाशपछिको स्वतन्त्र जीवनको कल्पनाले मात्र पनि ऊ निकै पुलकित बन्थ्यो ।
शहर नजिकैको गाउँमा उसको पुख्र्यौली घर थियो । अवकाशपछि घर फर्कने, बाबु आमासित बस्ने, धीत मारेर इष्टमित्रकोमा जाने आउने, फुर्सदिलो हुने, धर्मकर्म गर्ने र सामाजिक कार्यमा सामेल हुने यस्तै कयौं योजनाहरू उसको मनमनै खात लागेर बसेको थियो ।
उसले केही महिनाअघि मात्र त्यो उच्च ओहोदाको जागिरे जीवनबाट अवकाश लियो । कल्पना गरे जस्तै आफ्नो दिन चर्यालाई पृथक स्वादले जिउन थाल्यो । साँच्चै एक दुई महिना त उसलाई रमाइलोपनले निकै साथ दियो तर सबै रमाइला अनुभवहरू दीर्घजीवी हुन सक्दैन । क्रमशः उसले त्यो सत्य बोध गर्न बाध्य हुन थाल्यो ।
जागिरे शैलीमा उसलाई बिहानै खाना, अफिस पुगेर बेला- बेलामा चिया अनिनिश्चित समयमा खाजा, साँझ घर फर्केर पनि आफ्नो लागि राखिदिएको घरको खाजा त्यो उसको बर्षौंदेखिको पुरानो आदत बनेको थियो तर अब त्यसका लागि उसलाई एकतमास मान र टहल गरिरहने कसले ? उसलाई घरायसी काममा न जाँगर थियो न ढङ्ग ।
बिहानै भान्छामा जाँदा श्रीमती झर्कन थालेकी थिई । होइन कहाँ जान बितेको छ र बिहान बिहानै चटारिएर भान्छा तयार गर्नुपर्ने ?
बाबु आमा छेउपुग्दा पनि अर्ती मात्रै आइपुग्थ्यो । उमेरै छ अझै केही गर । उसले सबैबाट खोजेको सामिप्यता अब आलस्यको उपनाममा रूपान्तरित हुँदै गइरहेको थियो ।
फुर्सदिलो ऊ पटक पटक घरको कोठाहरू चाहाथ्र्यो । आफन्तहरूको मा पनि बिनासित्ती गइरहने कुरो भएन । फोनमा अलमलिउँ त कतिबेर ?अलमलिन आफूलाई फुर्सद हुँदैमा अरूलाई फुर्सद हुन्न ।
पत्रिका कति पढिरहनु, समाचार कति हेर्नु । फुर्सदिलो ऊ घर माथि कौसीमा जान्थ्यो र वरपर हेथ्र्यो शहरको वरिपरिको पहाडहरूलाई उसले धेरै चोटी हेर्यो । पछाडि हात लगाएर कौसीमा ओहोर दोहोर गर्दै आकाशमा उडिरहने जहाजहरूलाई कहाँ गयो आयो भनेर हेरिरह्यो । अरू हेर्नु पनि के र ? छिमेकीका घरका भित्ताहरू कति हेर्नु ? ऊ प्रायः घरमा एक्लै पथ्र्यो । श्रीमती माइती, मावली र साथीभाइ भन्दै हिंडिरहन्थी । उसले टोल वरपर न साथीभाइ बनाएको थियो, न तास खेल्नमा रमाउँथ्यो । ऊ श्रीमती बालबच्चा परिवारसँगै झुम्मि रहन चाहन्थ्यो । चाहँदैमा कसलाई पो के पुगेको छ र ?
आफ्नो मानमर्र्यादाको हिसाब राख्ने बानी परेको ऊ न चियापसलमा, न भट्टीपसल तिर गएर बरालिन सक्थ्यो । उसलाई त अब एक तमास नमस्कारहरूको न्यास्रो लाग्यो । पहिले जताततै बिक्ने बोली अब घरभित्र पनि बिक्न छाडेको थियो ।
उसलाई श्रीमतीसँग नजिकिरहँदा श्रीमती झिझिँए जस्तो, छोराछोरीलाई अर्हाई सिकाइ गर्दा गनगन गरेजस्तो र गतिलो खर्च दिन नसक्दा बाबुआमा ठस्के जस्तो लाग्न थाल्यो ।
व्यापार व्यवसायी दाजुभाइका लुकुवा कमाइको सुँइको नपाएका बाबुआमा उनीहरू प्रति सधैंको कठैबरा र विचराको सुस्केरा लगाउँथे । उसको पो जीवनभरको कमाइ छलङ्ग थियो ऊ त्यस्तै भन्ठान्थ्यो तर अतिरिक्त कमाइले खुबै जोहो गर्यो होला भनी सबै ऊ प्रतिशंका गर्थे । त्यही शंकामात्र पनि ऊ प्रतिको असन्तुष्टि बन्न जान्थ्यो ।
भाइबहिनीहरू उसलाई ठूलो मान्छे भन्दै इष्र्याले हो वा असन्तुष्टिले आफ्नो छुट्टै भित्रि घेरा बनाउँथ्यो र खासखुस गरिरहन्थे । खुब फुर्केर पारिवारिक माहोलमा रमाउने सौख भएको त्यो बबुरो प्राणी अब अनौठो जिल्लमा पर्न थालेको थियो ।
एकदिन उसले विदेशी साथी सित फोनमा कुरा गरिरहेको थियो । साथीले तँ जस्तो मान्छे हाम्रो कम्पनीलाई खाँचो छ आइज भन्दै जिस्क्यायो । त्यो कुरा सबैले थाहा पाए अनि सुरू भयो गनगन । तँ जस्तो सक्षम, प्राविधिक सीप भएको अनुभवी मान्छे दुनियाँमा जहाँगए पनि बिक्छस् । सबैले भने जा जा ।
अनि सुरू भयो डलरको हिसाब । उसको एक वर्षभरिको सरकारी जागिरे कमाइ त एकै महिनाको डलरको तलबले जित्ने रहेछ । सुरू भयो घरमा खुसीयाली । तेर्सियो फेरि शर्त-  श्रीमतीले भनी शहरको घरमा तल्ला थप्नुपर्छ, गरगहना जोड्नु पर्छ, छोराछोरीले भने फूल अप्सन भएको हाइलक्स गाडी किन्नुपर्छ । बाबुआमाले भने गाउँमा सबैको भन्दा ठूलो घर बनाउनुपर्छ तर कसैले भनेनन् । तिर्सौ वर्ष जागिर खाइस्अब बाँकी जीवन परिवारको साथमा बिताउनु पर्छ । आउँदै गरेको दशैं सँगै मनाउनुपर्छ ।
अवकाशपछिको आरामको जीवनको कल्पना सुटकेशभित्र खाँदेर ऊ जाँदै गरेको दिन पल्लो कोठाबाट जागिरे उमेर हुँदै गरेको छोराले भनेको सुनियो-  बुवाको यो पाँच वर्षे जागिरको एग्रिमेन्टले पछि झनै राम्रो सिवी बन्छ अनि अझै राम्रो अन्तर्राष्ट्रिय जागिरमा सजिलै बिकिन्छ । अरू स्वरहरू पनि थपिए के त अठ्सठी सत्तरी वर्ष भनेको काम गर्न सकिने नै उमेर त हो नी । के भारी बोक्ने काम हो र ? दिमाखै चलाउने त हो नी ।
उसको त्यो नयाँ जागिरमा पन्ध्र तारिखमा इन्ट्री गरिसक्नु पर्ने शर्त थियो । त्यही पन्ध्र तारिखमा दशैंको टीका थियो । परिवारमा सबैको सल्लाह यस्तो थियो- दशैं भनेको पछि-पछि पनि आउँछ । त्यस्तो राम्रो जागिर फुत्कन दिनहुँदैन ।
चाडपर्व र परिवारभित्र खुबै रमाउने मान्छे ऊ आफ्नो निर्णयमा अडिक हुन सकेन र पारिवारिक ठेलमठेल हुँदै ऊ अहिले त्यो जहाजभित्र पुगिसकेको थियो अनि दशैंको माहोलले रङ्गिएको घर आँगन छाडेर ऊ आकाशे मार्ग हुँदै क्रमशः अब हावाको समुद्रभित्र विलय हुँदै थियो ।


पवित्रा अधिकारी
[email protected]