• २०८१ माघ २ बुधबार

दशैँ : एक पुनर्मिलन

प्रथा

प्रथा

घुम्दा- घुम्दै यायावर
विछोडिएको पुरानो ठाउँ पुगेछ !
उड्दा- उड्दै चरी
डालीमा रोइरहेको उही गुँढमा झरेछ !
गुड्दा- गुड्दै छुटेको गाडी
एक्लै टोलाइरहेको उदास ग्यारेजमा थन्किएछ !
र हिँड्दा- हिँड्दै म पनि
सम्झना ओछ्याइरहेको एक्लो खण्डहरमा फर्किएछु !

सिकुवामा बसेर
पर्खिरहेकी एउटी बृध्दा महिलाले भन्नुभयो
’बाबू, यो हाम्रो घर हो !’
तिर्खाएको स्वरमा मैले भने-
’पक्कै हो आमा,
मपनि घर फर्की आएको छु !’
आमाका सहस्र खुसीहरू जमिनभरि पोखिए
र रून्चे स्वरमाभन्नुभयो
’तँ आइस् र त हाम्रो घरमा नि दशैँ आयो !’

सायद,
देहगुनाको फर्सी मीठो भनेझैँ
राता हुन् या सेता
टाँसिएका अक्षता र जमरा त
भेटघाटका फगत् दसी- प्रमाणहरू मात्र हुन् !
साँच्चै मेरी राम साइँली !
दशैँ भन्नु नै,
विछोडिएका मनहरूको पुनर्मिलन पो रहेछ !

 


प्रथा
[email protected]