• २०८१ पौष २९ सोमबार

म हराएँ भने .

सुमन थापा ‘सङ्गम’

सुमन थापा ‘सङ्गम’

कुनै समय म हराएँ भने
दिनहरूमा नखोज्नू मलाई
दिनलाई त घामले आफुसँगै लगेको हुनेछ
साँझहरूमा पनि नखोज्नू मलाई
साँझलाई त जूनले पिइरहेको हुनेछ

रूखले नयाँ वस्त्र फेरिरहेको वेला
म हराउन सक्छु
सबैबाट बिर्सिएको वेला
म हराएँ भने
फेरिफेरि सम्झिएर
हतासिएर रूखकै छाँयातिर
नखोज्नू मलाई

म कतै पहिरोछेउ उभिएर
खसेको रूखको पुरानो पातमा
रुँदै एउटा प्रिय नाम लेखिरहेकी हुनेछु
जहाँ हराए पनि
आँखामा बाढी आइरहेको हुनेछ मेरो
एक्लो नदीको तीरैतीर नखोज्नू मलाई
म मुटुमा तीर रोपेर कतै गइरहेकी हुनेछु

कुनै दिन म साँच्चै हराइदिन्छु
म बेखबर त्यसरी हराएँ भने
फूलबारीहरूमा हेर्नू
म प्रत्येक फूलको आँखाबाट
तप्तप् खसिरहेकी हुनेछु
……………………………………………………..
(साहित्यका अन्यान्य विधाहरूमा कलम चलाउँदै आएकी ‘सङ्गम’ को मूल रुचिको विधा कविता हो । उनको एउटा कविता–सङ्ग्रह प्रकाशित छ ।)
[email protected]