English Poem
बाबा !
मेरो अस्तित्वको
आदिम पुरूष
मेरो चेतनामा चित्रित
अदभूत् महानायक
जीवनको यस यात्रामा
अतुलनीय प्रेमगर्ने
लोग्नेमान्छेहौ तिमी
प्रमिथसले चोरेको आगो
पान्डोराको उत्सुकता
अझै बांकी रहेको जीवनको आशा
अनि मेरो आगमन
सबै प्राकृतिक र अपरिहार्य न हुन
मेरो आगमनमा
धर्तीको कुनै एक कुनामा
पक्कै प्रकृतिले स्वागत गरेकी थिइन्
त्यसैले त फुलेका थिए त्यहाँ
चम्पा, डालिया अनि रजनिगन्धा तिम्रो छाती भरी
त्यो आँगन जहाँ म खेले
ती हात जसको सहारामा धर्ती टेके
त्यो हिम्मत जसको भरोसा आफूलाई उभ्याए
त्यो जोश जहाँ सधै फूल फुल्यो
त्यो खुशी जसलाइ सधै मैले भोगेँ
त्यो साथ जहाँ म रमाए
त्यो मार्ग जुन मेरो प्ररणा बन्यो
बाबा !
गर्वले सँधै भरी अग्लिन्छ मेरो शिर
तिम्रो सम्मानमा
यो उद्घोस हो मेरो अन्तस्करणको
जीवन निरन्तर यात्रामा छ
पाइला पाइलामा तिम्रा सिद्धान्त
मार्ग निर्देशक बन्दैछन् मलाई
दर्विला ढाल बनेर
रक्षा गर्छन तिम्रा वाणीहरू
तिम्रा संस्कारहरू अर्थ बुझाउँदैछन्
मेरो अस्तित्वको
कर्मको अनि जीवनको ।।
सुमन घिमिरे “वर्षा”
[email protected]