रामहरी आज शहर जाँंदैछन् । यो पटक निकै लामो भयो छोरासँग भेट नभएको, अब त छोरो पनि पढी सकेर ठुलो जागीरे भएको छ । छोरालाई बाल्यकाल देखिनै राम्रो सहज शिक्षाको लागि शहरमा पढ्नलाई राखेका थिए । एउटा छोरो बुढेसकालमा हरिवंश पुराण समेत लगाएर जन्मिएको छोरो दिपशेखर । खुबै लाडप्यारमा हुर्किएको थियो ।
दिप शेखरलाइ भेट्न पहिले पहिले त दुई तीन महिनामा आमाबाबा दुबै जान्थे तर आज रामहरी एक्लै जाँदैछन् । आजै फर्कने गरि आमाले बनाई दिएको खानेकुरा समेत लिएर जाँदैछन् उनको छोरो शहरमा ठुलो जागीरे भएको छ, शहरमा सबैले उसलाई खुब मान्छन गाड़ी छ, घर छ, अर्दलीहरू छन् ।
उनलाई भेट्न समय लिएर जानु पर्छ । सम्मानित छन् ठुलो अफिसको हाकिम हुन दिपशेखर । पोहोर साल राम्री बुहारी भित्रर्याएका छन् । गाउँमा रामहरीको हैसियत भन्दा बडेर तामझामका साथ खर्च गरेर छोराको बिहे गरिदिएका थिए उनले । गाउँनै ब्यस्त थियो खुसीमा । बुहारी पनि बत्तीस लक्षणले युक्त भित्र्याएका छन् । छरछिमेकमा ठुलो इज्जत छ रामहरीको । अझै छोराको प्रगतिले उनलाई ठुलो सम्मान दिलाएको छ । उदाहरण दिन्छन् गाउँका बाआमाहरूले छोरो त दिपशेखर जस्तो हुनु पर्छ भनेर ।
उनी छोराको प्रगती सम्झदै गर्दा शहर पुगिसकेछन् । बसको कण्डक्टरले उनलाई उत्रने ठाउँ आई पुग्यो भने पछि उनि झस्किएर हतार हतार उत्रिए । अनि सिधै छोराको अफिस तर्फ लम्किए । अफिस रोड बाट नजिकै थियो । अर्दलिहरूले पनि रामहरीलाई चिन्दथे नरोकीकन गेट खोलिदिए उनी सरासर छोराको अफिसमा पुगे छोरो कुर्सीबाट उठेर बा को सम्मुख खुट्टामा निहुरिंदै गर्दा रामहरीले दुबै पाखुरामा समाएर उठाए । हातले शिरमा आशिर्वाद दिंदै तत्कालै प्रश्नपनि गरे छोरा संसारमा को शक्तिशाली छ भन त ? अहिले यो समयमा यस्तो सम्पूर्णता बीचमा म भन्दा शक्तिशाली कोही छैन म सम्मानले भरपुर छु बुबा, नोकर चाकर छन् गाडी छ घर छ ……।
दिपशेखरले जवाफ फर्काए म सबै भन्दा शक्तिशाली छु बाबा ! रामहरीले आशिर्वाद दिइरहेका दुबै हात तल झारेर मनमा सम्झे छोरो घमण्डी भएछ । मैले पढाउन त सकें तर शिक्षा दिन सकिनछु । छोराको अहमता कत्रो बढेछ भनेर ढोका खोलेर निस्कनै लाग्दा मनमा सम्झे । छोरो यसरी किन घमण्डी भयो कौतुहलता जाग्यो उनलाई अनि फेरी सोधे दिपशेखर ! तिमीले भनेको साच्चै हो त सबै भन्दा शक्तिशाली तिमीनै हौ त भन त ?
दिपशेखरले भने मेरो लागि यो संसारमा सबै भन्दा शक्तिशाली ईश्वर हो भगवान हो ।
छक्क परे रामहरी, अनि सोधे अगि त तिमीले सबै भन्दा शक्तिशाली आफूलाई भन्दै थियौ त अनि मैले त सम्झे तिमीमा ठुलै घमण्ड पलाएछ हैन र ? हो त्यति बेला मेरो शिरमा हजुरका हातहरूले आशिर्वाद दिइरहेका थिए नि त बुबा । मेरो ईश्वरका हातहरू मेरो शिरमा थिए अनि त्यो बेला म जति शक्तिशालीको हुन सक्छ र बुबा ।
रामहरी गर्वले खुसीका आँशुले आँखा भरिलो पार्दै अर्को महिना आउँला घरमा तिम्रो आमा एक्लै छिन भनेर निस्किए बार्दलीमा दिपशेखरका आँखाहरूले एकटक भएर बुबा बस चढुन्जेल सम्म नझिम्काइ हेरिरहेका थिए, ‘ईश्वरका पाईलाहरू’।
एस. आर. ढकाल, क्यालिफोर्निया
[email protected]