• २०८० मंसिर १९ मङ्गलबार

गोपीकृष्ण प्रसाईँका छ मुक्तकहरू

गोपीकृष्ण प्रसाईँ

गोपीकृष्ण प्रसाईँ

उसलाई पीडाले जलाउंछु भन्नेहरू आफैँ जलेपछि घटना मोडियो
उसलाई यातना दिएर गलाउँछु भन्नेहरू आफैँ गलेपछि घटना मोडियो
रागी, बैरागीहरूले बितरागीहरूलाई जित्न गाह्रो पो हुँदो रहेछ
उसलाई छलछामले ढलाउंँछु भन्नेहरू आफैँ ढलेपछि घटना मोडियो !!

हल्ला गरिरहनेको मर्म समाजमा संधै हिट हुन्छ
हल्लालाई साथदिनेको धर्म समाजमा संधै फिट हुन्छ
हल्ला चलाउन जान्नेले जीवनमा साह्रै दुःख पनि गर्नु पर्दैन
हल्ला मिलाएर गर्नेहरूको कर्म समाजमा मीठो चिट हुन्छ !

कुसंस्कार र कुरितीहरू अब तोड्नु पर्छ !
राम्रा नीतिहरू बोकेर जीवन मोड्नु पर्छ
समाजलाई जन्जिरमा राख्ने कोसिस नगर्नु
एकदिन सबैले यो धर्ती छोड्नु पर्छ

अनवरत सिंघौरी खेल्न अभ्यस्त भएकाहरू कहिल्यै थाक्दैनन्
ठेट्ना भावनाहरूमा संधै रमाउनेहरू कहिल्यै पाक्दैनन्
पीडाहरू थिग्रिएर मनको गहिराईमा गएर दुखिरहँदा पनि
आफैँलाई लात मार्नेहरूले अरूको लाज कहिल्यै राख्दैनन् !!

राष्ट्रियतामा दरार आयो भने राष्ट्र बनाउनेहरू जागेर के गर्नु ?
स्वतन्त्रतामा करार भयो भने छातीमा खुसी बगेर के गर्नु ?
विकास र समृद्धिका कुरा सुन्दा मन ढक्क फुल्छ तर
विकास बजेट फरार भयो भने आर्थिक सहयोग मात्र मागेर के गर्नु ?

अरूलाई दुखाउनेले एक दिन आफैँ दुख्नु पर्छ
अरूलाई झुकाउनेले एक दिन आफैँ झुक्नु पर्छ
कुमालेको चक्र जस्तो यो जीवन, घमन्ड नगर्नु
पानीको मूल सुकाउनेले एकदिन आफैँ सुक्नु पर्छ !!


गोपीकृष्ण प्रसाईँ, काठमाडौँ
[email protected]