• २०८१ श्रावाण ११ शुक्रबार

ह्यापी तीज

लक्ष्मी घिमिरे

लक्ष्मी घिमिरे

कोरोनाले दुखेको मनसँगै
तीजको आगमनमा खुसी भएको मन
म दुबै मनलाई
एकैपटक छाम्न पुग्छु
धकेलिन्छु निकै पर
त्यही रमाइलो क्षणमा
जहाँ फुपूहरू सँगै
रमाएकी हुन्छिन् मेरी आमा
भलाकुसारी सँगसँगै
पाक्छन् मीठा खानेकुरा
समसाँझै उठिसक्छ भात भान्छा
मिश्री र मरिचको धुलो मिसाइएको
कुँडे वास्ना आउने
तातो दुधको सुर्किसँगै
लोलाएकाआँखाहरू
आँधा रातमा ढकनेबाट
छुटेको घ्यूको वासनाले
जर्याक जुरूक उठ्छु म

आहा !!! कति रमाइलो पल
झिसमिसेमै नुहाउँदै गरेकी
मेरी आमालाई म भन्छु,
“म पनि व्रत लिन्छु”
“भोलि पर्सि ठुली भएपछि लिनु”
आमा नुहाउँदै भन्छिन्
पिपलको चौतारी
दिदी बहिनीको भीड, नाचगान
आँखामा सुन्दर तस्बीर नाच्छ
समयको अन्तरालसँगै
म ठुली भएकी छु
म लिँदैछु व्रत र खाँदैछु दर
एकदिन मात्र हैन
महिनौँ लगाएर
होटल, रेस्टुराँ र पार्टी प्यालेसका प्राङ्गणमा
खन्याइन्छन् गिलास भरि
वाइन, कोक, स्प्राइड र वियरहरू
लड्खडाउँदै म नाच्छु
डिस्कोका धुनमा
नाच्दा नाच्दै थाकेको शरीरलाई
भित्तामा अड्याएर
टेबलमा सजाइ राखेको
केक काट्छु
र ठुलो स्वरमा चिच्याउँछु
ह्यापी तीज, ह्यापी तीज
नढाँटी भनूँ मेरी प्यारी आमा
यतिखेर पनि मेरो नाकले
लिइरहेको हुन्छ
तिम्रो ढकनेबाट निस्किएको
मीठो सुगन्ध
तिम्रो ढकनेबाट निस्किएको
मीठो सुगन्ध


लक्ष्मी घिमिरे
[email protected]