तिम्रो छोरो र म - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

तिम्रो छोरो र म

जनक कार्की

जनक कार्की

झरी परेको शनिवारको बिहानी । झ्यालबाट एक खिल्ली नजरपान गर्दा सधैँ देखिने मनोहर पहाडले धुम्रपान गरेर बादलका धुँवाले आफ्नै मुहार ढाकेको छ । मेरो बिहानी केही समय बिजुली चिठ्ठी पढेर व्यतीत हुन्छ तर झरी र हुरीबतासको कारणले बिजुली शनिवार जस्तै बिदामा छे । मोबाइलको डाटा अन गर्छु । जी- मेलको पत्रमञ्जुसाको ढोका बुढीऔँलाको चाबिले खोल्छु । सबैभन्दा माथिको नोटिफिकेसनमा एउटा पुरानो परिचित नामको खाम देख्छु । नाम- काफिया गालिब । उत्सुकता र डर दुबै भावनाको मस्तिष्कभार बोकेर इमेल खोल्छु ।
इमेलको माथिपट्टि शीर्षक दिइएको छ- तिम्रो छोरा र म ।
शीर्षकले झरीको मौसममा एउटा चट्याङ बजाएर जान्छ । मेरो एक जोर नजर बिजुली चिट्ठीतर्फ दौडिन्छन् ।
तिम्रो छोरो र म
“बीस वर्ष भएछ क्यार तिम्रो र मेरो संवाद नभएको । आशा छ यो बीस वर्ष पछिको हाम्रो संवादले तिम्रो मन मस्तिष्कमा विषको काम पक्कै नगर्ला । गरी नै हाल्यो भने त्यो तिम्रो कुरा हो । म जवाफदेही हुनेछैन । पक्कै पनि तिम्रो लागि यो मेल अनपेक्षित लाग्ला । लाग्नु स्वभाविक हो । तिमीले निभाएर गएको सूर्य आज कसरी उदायो भन्ने दुविधा होला । तर प्रकृतिको नियम रहेछ, रातको गर्भमा सूर्यले गर्भधारण गरिरहेको हुन्छ र बिहानीमा फेरि त्यो सूर्य जन्मिन्छ । यही नै सोच अहिलेलाई । फरक यतिमात्र हो तिमीले निभाएको सूर्य आज बीस वर्ष पश्चात् उदाएको छ तिम्रो आँगन मात्यो पनि बादलको छेकबार पन्छाउँदै । कलेजमा भएको गजलवाचन कार्यक्रममा मैले गजलवाचन गर्दा तिमीले मलाई नोटिस गरेका हौ । कार्यक्रम सक्किएको लगत्तै मेरो बाटो छेकेरे तिमीले भनेका थियौ- “काफिया तिम्रो काफियामा दम छ । तिम्रा गजलका हरेक शेरले मनमा ट्याटू छापेर गयो । “त्यो पल मलाई खुसी त लागेको नै थियो साथमा तिम्रो मेलोड्रामा देखेर हाँसो पनि उठेको हो । बिस्तारै तिमी मलाई फलो गर्दै गयौ । हामी क्याफेमा कफीको टर्रो स्वादसँगै प्रेमको गुलियो बन्धनमा बाँधिदै गयौँ । तिमी मलाई गजलका शेर सुन्न हरबखत आग्रह गर्थ्यौ, म साउनमा फुटेको मूलझैँ बगिरहेँ । एकदिन तिमीले मेरो सामु आएर भन्यौ, “काफिया, तिम्रो सिउँदोमा म सिन्दूरको रदिफ भर्न चाहन्छु । तिमीलाई मङ्गलसूत्रको बहरले लयमा बाध्न चाहन्छु । तिम्रो जिन्दगीमा तखल्लुस बनेर झुण्डिन चाहन्छु ।”
मेरो दिलमा तरन्नुम गुञ्जियो । लाज र खुसीले मलाई पखेटा हालेर आकाश गंगामा पौडायो । म उमङ्गको देशमा वायुपंखी घोडा कुदाउँदै थिएँ । तिमीले भन्यौ,“काफिया एउटा सर्त छ ।” म बुवाआमाको एक्लो छोरो । उहाँहरूको म प्रति निकै सपना छ । तिमी मेरो घरमा भित्रिनको लागि एउटा कुराको त्याग गर्नुपर्ने हुन्छ । तिमीले लेख्ने गजललाई तिमीले तिलाञ्जली दिनुपर्छ । मेरो बुबाआमालाई तिमीले लेखेको मन पर्दैन । उहाँहरूलाई तिमीले सयौँ जनाको अगाडि बसेर गजल वाचन गरेको मनपर्दैन । तिमीले जिन्दगीबाट गजललाई हटाउने प्रण गर्यौ भने उहाँहरूले तिमीलाई बुहारी बनाउने निर्णय गर्नुभएको छ । “यो सर्तले म उडिरहेको आकाशमा अचानक चट्याङ पार्यो । अरबौँ भोल्टको बिजुलीले मलाई झट्का हान्यो । म भुइँमा बजारिए नराम्रोसँग ।गजल जो मेरो श्वास हो । म हुनुको अस्तित्व हो । मेरो ध्यान हो । पूजा हो । यसलाई म चटक्कै कसरी बिर्सिनँ सक्छु र ! मैले गजल र तिमी दुईमा छान्नु पर्दा गजललाई छानेँ । यसरी एउटा अपुरो गजलको यात्रा समाप्त भयो । अर्धलिखित गजल गन्तव्यमा पुगेन । यति बेला तिमी सोचिरहेका हौला । किन यसले चेट भइसकेको चङ्गाको कुरा गर्दै छे ? हो यो अतीतको घाउ बल्झाउने मेरो पनि कुनै इच्छा होइन तर समय भनेको यस्तो चिज रहेछ जसले अनपेक्षित घटनाको वर्षात जीवन पर्यन्त गराइरहन्छ । तिमीले त सिन्दूरको रदिफ अर्कैको सिउँदोमा भरिसक्यौ । मैले आजसम्म पनि तिमीबाहेक अरूको हातबाट मेरो सिउँदोमा सिन्दूर लेखाउन सकिनँ तर बीस वर्षमा आज यस्तो परिस्थिति आएको छ । जसले मलाई तिम्रो कमी पूरा गर्दै छ । तिमीलाई जान्न मन लाग्यो होला को हो त्यो मान्छे जसलाई म प्रेम गर्दै छु ।
तिम्रो उत्सुकतामा खलबली हुनु स्वभाविक पनि हो । तिमी अझै आश्चर्यमा पर्दै जान्छौ, जब जब म वृतान्त कहँदै जान्छु । मैले प्रेम गर्ने मान्छे म भन्दा ठ्याक्कै बीस वर्षले कान्छो छ । तिमी सोच्दै हौला । छोराको उमेर भएको केटोसँग प्रेमसम्बन्ध ! हो, अचम्ममा पार्ने कुरा नै हो यो । मैले पनि सुरूसुरूमा यो सम्बन्धलाई स्वीकार्न सकेकी थिइनँ । उसले मेरा गजल सङ्ग्रहका एक एक शेर याद गरेको रहेछ । मेरो निभ्न लागेको खुसीको दियोमा उसले तेल थप्दै थप्दै गयो । मलाई उज्यालो बनाउँदै गयो । समयले प्रेम निस्वार्थ हुन्छ, प्रेम निसर्त हुन्छ, प्रेम बेहिसाब हुन्छ भन्ने कुरा यो प्रगतिशील कवि हृदयलाई बुझाउँदै गयो । ऊ मेरो जीवनमा यसरी आयो, जसरी तिमी आएका थियौ । तिमीले तारिफ गर्ने मेरा शेरका भावहरू उसले ठ्याक्कै त्यसरी बुझ्छ । मेरा गजलका एक एक काव्यमा उसले सङ्गीत खोज्छ । उसले मेरो एक्लो जीवनमा खलबली मच्याउँदै गयो । मेरो एक्लो उष्ण जीवनलाई उसले शीतल छाहारी दिँदै गयो । उसले मेरो मुटुको स्पन्दनको लयलाई बुझ्छ । सुरूसुरूमा मलाई कतै उसमा वासनाको भूत सवार त छैन भन्ने लाग्यो । मैले कयौँ पटक परीक्षा पनि लिएँ तर उसमा पवित्रता बाहेक अरू केही पाइनँ । मेरो मन मैनबत्ती जस्तै पग्लिदै गयो । मेरो बरफको चट्टान जस्तो मनलाई उसले भाष्करको न्यानोपनले फुटाल्दै गयो । मेरो जीवनमा अधुरो लेखिएर छोडेको गजल पूरा हुने सपना झाङ्गियो ।
केहीदिन यतादेखि म तनावमा छु । उसले मलाई यो समाजमा नाम दिन चाहन्छ । मलाई आफ्नो थरको तखल्लुस भित्र्याउन चाहन्छ । मलाई प्रेम गर्नेले विवाह गर्नुपर्छ भन्ने कुरामा विश्वास लाग्दैन । प्रेमविवाहमा बदलियो भने जिम्मेवारीमा रूपान्तरण हुन्छ । त्यो जिम्मेवारी पूरा गर्न सक्ने अधिकांशमा क्षमता हुन्न । अझ हाम्रो विहे त एक अपवाद जस्तो हुनेछ । समाजका जिब्राहरू हाम्रो विहेको आलोचना गर्न व्यस्त हुनेछन् । हुन त मलाई यस्ता कुराले फरक नपर्ला तर उसको काँचो दिमागमा भने पक्कै फरक पर्नेछ । हाम्रो प्रेम विहेपछि औपचारिकतामा मात्र सीमित हुनसक्छ । त्यसैले मैले उसको यो आग्रहलाई स्वीकार्न सकेको छैन । ऊ जिद्दी छ । पागलपनले सगरमाथा चुमेको छ । हिजो ऊ बाट एकदम दिमाग हल्लाउने सत्यता थाहा भयो । जब उसले तिम्रो नाम लिएर मेरो बुवा हो भन्यो । उसले भन्दै थियो, “बुवाले मेरो खुसीको लागि जे पनि गर्न सक्नुहुन्छ । म बुवालाई मनाउँछु ।” तिम्रो नाम सुन्ने बित्तिकै म छाँगाबाट खसेझैँ भएँ । कसम तिम्रो छोरा भनेर थाहा भएको भए म पहिल्यै यो सम्बन्धलाई पूर्णविराम लगाउँथेँ । तिम्रो छोरा एकदम जिद्दी छ । उसले मसँग विहे गर्न कुनै पनि किसिमको समस्याबाट गुज्रिन सक्छ । तिम्रो मनमा पनि अहिले भयङ्कर भुकम्प गयो होला तर चिन्ता नगर आज मैले एउटा निर्णय लिएर यो पत्र लेखेकी हुँ । जुन कुरा तिमीले म सँग बीस वर्षअघि खोस्न खोजेका थियौ । आज म तिमीलाई त्यहीँ उपहार दिन जाँदै छु । म तिम्रो छोराबाट टाढा जाँदै छु । यो देश छोडेर अर्को कुनै देशमा । तिम्रो छोराले मलाई धेरै खोज्ने प्रयास गर्नेछ । मैले लेखिरहेँ भने उसले मेरो ठेगाना पत्ता लगाउनेछ । त्यसैले प्रेमको समर्पणको लागि आजदेखि म केही लेख्ने छैन । तिम्रो छोराको लागि म भूमिगत जीवन जिउनेछु । जाँदा जाँदै अन्तिम एउटा शेर लेखेर बिदा माग्छु ।”
“जिन्दगीले कसैलाई रङ्गाएर जान्छ
कसैलाई जिन्दगीले नङ्गाएर जान्छ”

मेरो ओठ काँप्न थाल्यो । मेरो मुटुमा रगत बन्द भएझैँ भयो । जिन्दगीमा यति धेरै तरङ्ग ल्याउने बिजुलीपत्र पढेको थिइनँ । बसिरहेको ठाउँबाट उठ्न सकिनँ । काफियाको दुई दशक पछिको शब्दभेटले मलाई बेस्सरी हल्लायो । सुकेका पातमा बसेका शीत जस्तै मेरो आँखाबाट बुँद खसेर सोफामा विलय भयो । त्यतिनै बेला छोरा आयो, “गूड मर्निङ ड्याडी । “मैले गह्रौ मन लिएर गूड मर्निङ टु यू टू भनेँ, उसले फेरि केहि राजको कुरा भन्ने भावमा भन्यो “ड्याडी म प्रेममा छु । प्रेम भनेको ईश्वरको प्रसाद रहेछ । प्रेम तौलिएर हुने कुरा रहेनछ । उनी हजुरकै उमेरको हो तर प्रेममा उमेर भन्ने कुराले महत्व नराख्ने रहेछ । मलाई विश्वास छ हजुरले मेरो प्रेमलाई बुझ्नुहुन्छ । म उनीसँग विहे गर्न चाहन्छु । उनी यो देशको प्रसिद्ध गजलकार काफिया गालिब हुन ।”

म अकमक्क परेँ । काफियाको बिजुलीपत्र सम्झेँ । मनमनै सोचेँ काफियाको जीवनमा म ग्रहण हुँ । जब जब उसको खुसी उदाउँदो अवस्थामा पुग्छ । म ग्रहण बनेर उसको उदयलाई छोपिदिन्छु । बीस वर्ष पहिले लागेको ग्रहण फेरि आज लाग्यो ।


जनक कार्की (तानसेन पाल्पा)
janakkarki27@gmail.com