English Poem

मकवानपुरका अग्रज साहित्यकार तुलसी घिमिरे तेस्रो कृतिको रूपमा गजलसंग्रह ‘घामका फूलहरू’ लिएर आएका छन् । उनको गजलसंग्रह ‘घामका फूलहरू’ शनिबार एक साहित्यक कार्यक्रमबीच विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरको २१५औँ नियमित गजल यात्राका क्रममा घिमिरेको गजलसंग्रह विमोचन गरिएको हो। संग्रहको कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका अग्रज शिक्षा एवं सञ्चारसेवी देव श्रेष्ठ, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, मञ्चका अध्यक्ष केशव समर्पणलगायतले विमोचन गरेका हुन् ।
घिमिरेको गजलसंग्रहमा ७० वटा गजल संग्रहित छन्। १५ फागुन २०११ मा बर्माको होम्लिनमा जन्मिएका साहित्यकार घिमिरेका यसअघि ‘फूलका कुरा जूनका कुरा’ गीतसंग्रह २०७१ र ‘माटोको मोह’ कवितासंग्रह २०८० प्रकाशित छन् । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको उक्त गजलसंग्रहमाथि समीक्षक घनश्याम घिमिरेले समीक्षा गरेका थिए भने साहित्यकारहरू स्वस्तिका दाहाल, सञ्जित श्रेष्ठ र हरि पौड्याललगायतले घिमिरेको संग्रहमा संग्रहित गजलवाचन गरेका थिए ।
समीक्षक घनश्याम घिमिरेले गजलसंग्रहमाथि समीक्षा गर्दै घामका फूलहरूमार्फत गजलकार घिमिरेले आफूले जीवनमा भोगेका र देखेका विविध विषयलाई गजलका माध्यमबाट सचित्र वर्णन गर्न सफल भएको दाबी गरे। उनले गजलकार घिमिरेको गजलसंग्रहमा सबै उमेर समूहका साहित्य अनुरागीले आफ्नै लागि लेखिएका गजलहरू रहेको अनुभूति गर्न सक्ने रचना समावेश गरेको बताए । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्षतामा भएको २१५ओैँ गजल यात्राका अवसरमा गजलकारहरू मिथिला अधिकारी, मुस्कान तिमल्सिना, डिबी बर्ताैलालगायतले गजलवाचन गरेका थिए ।