• २०८१ चैत १२ बुधबार

धर्म प्रतिष्ठा

श्रीपद्मा देवी शर्मा

श्रीपद्मा देवी शर्मा

न त राम छन् आज हेरिदिन
न त छन् हनुमान
देखाउन सक्ने छाती च्यातेर
किन धर्मको चासो लिन्छौ
विभिषण !
भातृद्रोही बनेर ?

वंशधर तिम्रा मासिन्छन्
भाउजू  बुहारीहरू वैधव्य स्वीकार्न बाध्य हुन्छन्
मुटु तिम्रो चिरिन्छ
रामलाई न त हर्क न त बिस्मात
सान्त्वनाको एकवचन पनि निस्किदैन
तिम्रा निम्ति
किनकि
ती राम छैनन् यो धर्तीमा
जो आफ्नो हित् छोडी
प्रजापालक बन्न सक्छन्

मनको गाँठो नखोल कसैसँग
तिमी हलुको अनुभव गरौंला
हो !
तर कति लामो टिक्ला तिम्रो सुख ?
ऊ पर्तिर बसेर उनले धनुषको डोरी बाट्छन्
तिम्रो विरुद्धमा
तिम्रै आन्द्रा-भुँडीले
रावणको गुणमा रगेलेका छन्
आफ्नो मस्तिष्क रामले
किनकि
ती राम छैनन् यहाँ
जो राजभोग छोडेर वन पस्न सक्छन्

अधर्मको होइन
धर्मको नाश गर्नेमा छन् राम
अधर्मको धुनमा नाच्ने वानरसेना
हुलहुल्ती पाइन्छन् यहाँ
धर्मको मार्ग कत्ति कठिन हुन्छ
थाहै छ तिमीलाई !
एक्लै हिँड्नु पर्दछ त्यो बाटो
त्यसैले
मासिन रहर भए मत्रै मन खोल
किनकि
पुरुषोत्तम राम छैनन् आज
जसले
तिमीलाई सही मर्यदा दिन्छन्

रावणका सुरक्षामा भएकी सीताको
रामबाटै हुन सक्छ अपहरण
त्यसैले
भित्री कुरा नखोल कसैसँग
तिमीलाई धर्म प्रतिष्ठा गर्न हदै इच्छा छ भने
विभिषण !
धनुष आफै समाऊ
वाण आफै चलाऊ
विनाश गरिदेऊ रामको
रोकिदेऊ भारीजीउकी सीताको वनयात्रा ।


श्रीपद्मा देवी शर्मा (दङिबिल, असम, भारत)
[email protected]