कविता
उकाली ओराली हिँड्ने ती खुट्टा,
धुलो, घाम र पसिनाको इतिहास बोकेर,
बोईको जीवन कहिल्यै सहज थिएन,
हरेक मोडमा धैर्यता थियो ।
पारिवारिक वोझले थिला थिला पारे पनि
बोईको आँखामा उज्यालो थियो,
किनकि उनी जान्दथिन
घर चलाउनु भनेको
आँधीसँग पनि सम्झौता गर्नु हो ।
भात पाक्दा धुवाँ मात्र उठ्दैनथ्यो,
त्यससँगै उठ्थ्यो
सन्तानको भविष्यको सपना ।
मेरी बोई
कहिल्यै ठूला कुरा गर्दिनथिन,
तर उनको मौनता
पुरै गाउँका कथा थिए ।
उनको हाँसो
थकाइ लुकाउने चोली थियो,
उनको आँसु
ढिकुटीभित्र लुकाइने
अन्तिम सम्पत्ति ।
पिठ्युँ झुकेको थियो,
तर आत्मा उभिएको थियो ।
मेरुदण्ड दुख्थ्यो,
तर मन कहिल्यै भाँचिएन ।
छोराछोरी शहर लागे,
बोई गाउँमै रहिन
गोठ, आगो र आँगनसँग ।
उनले शहर बुझिनन्,
तर शहर उभिनुमा
उनको पसिनाको अंश थियो ।
मेरी बोई
नाम मात्रै होइन,
यो त एउटा युग हो-
जहाँ आमाहरू
आफूलाई छोडेर
सबैलाई जोगाउँथे ।
आज उनी
फोटोमा मुस्कुराइरहेकी छिन्,
तर त्यो मुस्कान पछाडि
अनगिन्ती अधुरा इच्छाहरु छन
फेरि पनि उनी भन्छिन
“सबै ठीक ठाक छ ।”
मेरी बोई
तपाईंको कथा
कुनै किताबमा छैन,
तर हाम्रो रगतमा लेखिएको छ ।
२०८२-११-१५ गैंडाकोट- २, नवलपरासी