• २०८१ कातिर्क २१ बुधबार

शान्तिले ब्रह्मा विष्णु महेश देखिन्

कृष्ण जोशी

कृष्ण जोशी

प्रार्थना गर्यो
भगवानको साक्षात् दर्शन अभिलाषामा
त्यो मान्छेले अहोरात्र ध्यान गर्यो

त्यो मान्छेले
स्वर्ण मन्दिर पुगेर
तिरोपति पुट्टपर्ती मात्र होइन
स्वर्गद्वारीदेखि पशुपति प्राङ्गणसम्म आएर
ईश्वरप्रतिको
सम्मोहन प्रकट गर्यो
अपार आस्था प्रकट गर्यो
रगत मासु पनि समर्पण गर्यो
त्योबाहेक
अर्पण गर्न/अर्चनागर्न ऊसँग अलिकति सासबाहेक
बाँकी केही रहेन

हिरामोति सुनजडित मन्दिरभित्र मात्र होइन
जाडोमा हिउँले नुहाएर
गर्मीमा घामले सेकिएर त्यो मान्छेले
गल्लिगल्लीमा
चोक, पाटी, पौवाभित्र
माटो धूलोमा निस्सासिएको रूप बिग्रिएर
विरूप भइसकेको काठको मूर्तिमा
ढुङ्गामाटोको मूर्तिमा समेत
जिउँदो देवताको दर्शन देखेर
भक्ति गर्यो
अर्चना गर्यो, साधना गर्यो, तपस्या गर्यो

देवताको प्रत्यक्ष दर्शन
त्यो भक्तले तर
त्यतिवेलासम्म पाएन जबसम्म
धमिराले खाएको जीर्ण एउटा रुख भएर
आफैँ उभिएकै डिलबाट
आफैँले टेकेको धरतीबाट खसेर ढल्यो
र कहिल्यै उठेन अर्थात
स्वयं ऊ ढुङ्गा र माटोको मूर्ति भयो
जसलाई
मान्छेको क्रन्दन रोदनले छोएन
आँसुले छोएन
बिलौनाले छोएन

शान्ति एक मात्र दर्शनार्थी थिइन्
जसले त्यसरी ढलेको मान्छेलाई
आँखा नचिम्ली त्यतिवेलासम्म हेरिरहिन्
जबसम्म
रूखजस्तै ढलेको त्यो मान्छेकोजीर्ण अङ्गअङ्गबाट
ब्रह्मा, विष्णु, महेशको जन्म भएन ।


(जोशी स्थापित साहित्यकार हुन् ।)
[email protected]