• २०८१ माघ १० बिहीबार

म्यानहटनको सेन्ट्रल पार्कमा अर्धनग्न नृत्य

खेमराज पोखरेल

खेमराज पोखरेल

सायद मैले कतै पढेँ वा राजनीतिक खबर/भाषणमा पनि सुनेँ कि अमेरिकाको न्युयोर्कस्थित म्यानहटन र स्वीटजरल्यान्ड यी दुवै संसार भरिका धनाढ्यले गोरो/कालो धन थुपार्ने ठाउँ हुन् । भनिन्थ्यो, स्वीटजरल्यान्डको बैँकमा पैसा राख्नु र म्यानहटनमा फ्ल्याट किन्नु विश्वका धनाढ्यको गरिमा मानिन्छ । त्यस कारण पक्का पनि मेरा दिमागको कुनै एउटा पत्रमा ती ठाउँको यात्रामोहसुसुप्त थियो नै होला । स्वीटजरल्यान्ड पुगेको छुइनँ । तर म्यानहटन यात्राको संयोग भने यसरी जुर्यो ।

त्यसो त म दुई वर्ष पहिला पनि न्युयोर्क पुगेको थिएँ । त्यो बेला जनवरी महिना थियो । र कुसंयोग त्यही बेला न्युयोर्कमा हिउँ आँधी आएर तापक्रम माइनस २० डिग्रीमा सेन्टिग्रेडमा झरेको थियो । त्यसो भए पनि भदाहा सालो सुमेश भट्टराईले हिँउले जमेको सडकबाट तताएको गाडी गुडाउँदै मलाई सेन्ट्रल पार्क देखाएका थिए । त्यसले म्यानहटन तथा सेन्ट्रल पार्क हेर्ने धोको पूरा हुनुको साटो झन् भोकाएको थियो ।

तर यस पल्टको संयोग भने सुसंयोग थियो । २०२१ को अप्रिल/मे महिनाको समय म अमेरिकाको पूर्वी तट तिर सांस्कृतिक निम्तो मान्न तथा आफन्तिन पुगेको थिएँ । गुढ प्रयोजन भने घुम्ने नै थियो । याने कि पशुपतिको जात्रा सिद्राको व्यापार थियो । मेरो भदाहा सालोको घर न्युयोर्कसँगैको ट्यापोन भन्ने सहरमा छ । म त्यहीँ बसेको थिएँ । मलाई न्युयोर्क घुमाउने पानको बिडा भाइले नै लिएका थिए । किनकि ऊ मेरो प्रिय भदाहा सालो थियो ।

मे महिना भएकाले मौसमगर्मी थियो । गर्मी हुनु अनुकुल मौसम हो न्युयोर्क घुम्न । त्यो दिन सन् २०२१ को मे महिनाको २२ तारिक थियो । हामी याने कि म मेरी श्रीमती सुशा, सुमेश र उसकी छोरी सान्वी गरी ४ जना म्यानहटन तथा सेन्ट्रल पार्क घुम्न पुगेका थियौँ । घरबाट दिनको २ बजे हिँडेका थियौँ । गर्मी निकै थियो । ९० डिग्री फोरनहाइट तापक्रम थियो । सात मध्ये पाँच सूर्य उदाएझैँ लाग्दथ्यो ।

घरबाट हिँडेपछि गाडी हडसन नदीमा बनेको जर्ज वासिङ्गटन पुल माथिबाट दगुदै थियो । पुल आफैँमा निकै मनोरम थियो । म गाडीबाटै सो पुलको सौन्दर्य हेर्दै थिएँ । पुल तारका त्यान्द्रा तुन्द्रीमा अडिएको जस्तो देखिन्थ्यो । गाडी हाँकिरहेको सुमेशले म तिर नहेरी नै भनेका थिए- भिनाजु, यो पुल अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनको नाममा बनाइएको हो । न्युयोर्कको जनजीवनमा यो पुलको ज्यादै महत्वपूर्ण भूमिका छ । पुलमा दुई तला गरी १४ लेनको सडक छ । ११९ फिट चौडा छ यो पुल । यो पुलमा इतिहास तथा आश्चर्य दुवै छ । न्युजर्सीबाट न्युयोर्क र म्यानहटनलाई जोड्छ यो पुलले । सन १९२७ मा बन्न थाल्दा यो आश्चर्यको विषय थियो ।

उनी यही न्युयोर्क क्षेत्रमा नै काम गर्ने सिभिल इन्जिनियर भएको हुनाले आफ्नो जानकारी मलाई सुनाउँदै थिए ।

अन्तत हामी म्यानहटनको सेन्ट्रल पार्क पुगेका थियौँ । गाडी पार्किङ गरेपछि सेन्ट्रल पार्कको पश्चिमी गेटमा पुग्न झण्डै करिब १५ मिनेट लागेको थियो । प्रवेश निशुल्क रहेछ । पुस्तिकाका अनुसार यो सेन्ट्रल पार्क ८४३ एकडमा क्षेत्राकारमा फैलिएको रहेछ । मैले त्यो क्षेत्रफललाई नेपाली बिघामा रूपान्तरण गरेर हेरेँ । आमाम्मा, त्यो भनेको झण्डै ५०४ बिघा हो रहेछ । म्यानहटन जस्तो महँगो ठाउँमा ५०४ बिघाको पार्क ? पार्कको उत्तर दक्षिण लम्बाइ लगभग पौने चार किमी र पूर्वपश्चिम चौडाई झन्डै एक किमी रहेछ । न्युयोर्क सहरको मुख्य बजार र बसोबासको केन्द्र म्यानहटनका बीचमा रहेको यो पार्क ज्यादै ठूलो प्रतीत हुन्थ्यो । पार्कको वरिपरि ढुङ्गाको ३ फिट चौडा र १० फिट अग्ला पर्खालले घेरिएको थियो । ठाउँठाउँमा प्रवेश द्वारहरू थिए । न्युयोर्क सहरमा युरोपेलीहरूको आगमन हुन थालेर न्युयोर्कमा बसोबास बाक्लिन थालेपछि म्यानहटनका गगनचुम्बी भवनको कल्पनासँगै यो पार्कको पनि कल्पना गरिएको रहेछ । वर्तमान सेन्ट्रल पार्कमा दक्षिण अफ्रिकाबाट ल्याइएका काला जातिहरूको सेनेकन भिलेज नामको बस्ती थियो रे । त्यो बस्तीलाई अन्यत्र सारेर यो पार्क बनाइएको रहेछ । यो पार्कको भित्रभित्रै परिक्रमा गर्न झन्डै १० किमी घुम्नु पर्ने रहेछ । पार्कको निर्माण ल्यान्डस्केप आर्किटेक्चर टेकनिकबाट निर्माण गराइएको रहेछ । याने कि त्यसबेलाको न्युयोर्कको भूगोललाई सुरक्षा गर्दै इतिहास तथा नमूनाका लागि यो पार्कको भौगोलिक अवस्थिति त्यही बेलाको प्राकृतिक नै छोडिएको रहेछ । नत्र त न्युयोर्क सहर बसाउँदा अन्य भूमि भने ताछतुछ पारेर सम्याइएको रहेछ । पार्कभित्र प्राकृतिक खोला, ताल, जङ्गल रहेछन् ।

पार्कभित्र अनुमति पाएका गाडी, पैदलयात्री तथा साइकल यात्री हिँड्न पाउने सडक, अलग अलग रहेछन् । त्यसमाथि जङ्गलभित्र बनाइएका डोरेँटोहरू पनि मनमोहक थिए । खानेकुरा घरैमा बनाएर पनि लगेर परिबार दिनभरि पार्कमा बस्ने चलन रहेछ । हजारौँको सङ्ख्यामा दरी ओछ्याएर बसिरहेका थिए । खाइरहका थिए । पार्कका कुनाकुनाका चौरमा हजारौँ मान्छे पाहार तापिरहेथे । सिँयाल तापिरहेथे । कोही खेलिरहेका थिए । कतै फिल्म सुटिङ भइरहेथ्यो । त्यो सुटिङलाई मान्छेहरू पर बसेर हेरिरहेका थिए । मैले भाइ सुमेशलाई सोधेको थिएँ- भाइ, यहाँ त फिल्म सुटिङ पनि हुँदो रहेछ हगि ?
उनले जबाफ दिएका थिए- हो भिनाजु, यो पार्कमा हजारौँ सिनेमाको छायाङ्कन गरिएको छ । संसारको सबैभन्दा बढी सिनेमा छायाङ्कन हुने ठाउँका रूपमा यो पार्क प्रसिद्ध छ ।

मैले पुस्तिका पल्टाएर हेरेको थिएँ । त्यहाँ लेखिए अनुसार यो पार्कमा केटाकेटी खेल्ने २१ वटा स-साना खेल मैदान तथा स्थल रहेछन् । यसै गरी २६ वटाभन्दा बढी बेसबल कोर्ट, १२ वटा टेनिस कोर्ट, ६ वटा फुटवल मैदान र ४ वटा बास्केटबल कोर्ट र ४ वटा भलिबल चौर खेल्ने चौर रहेछन् । यसै गरी मानवनिर्मत तथा प्राकृतिक खुला पौडी खेल्ने पोखरीहरू पनि रहेछन् । अलि परतिर एउटा ठूलो रङ्गिन चौर थियो । जसलाई स्ट्रावरी फिल्ड भनिँदो रहेछ । यो ठाउँ फोटो खिच्ने मान्छेहरूको लाम लागेको भीड थियो । त्यो चौरको फोटो खिच्नकै लागि मान्छे खचाखच थिए । यो स्ट्रावेरी फिल्डबाट देखिने प्यानोरमिक दृश्य निकै सुन्दर थियो । जङ्गलका बीचमा फिल्ड र त्यसको छेउमा रहेको तलाउ र त्यो तलाउबाट देखिने म्यानहटनका गगनचुम्बी महलहरू संसारको स्वर्ग जस्तै देखिन्थे ।

इमरजेन्सी कल ९११ का लागि विभिन्न ठाउँमा स्वचालित बुथको व्यवस्था गरिएको थियो । सुरक्षाको राम्रो व्यवस्था देखिन्थ्यो । पुलिसका भ्यानहरू कुदिरहेका थिए । यति सुरक्षा भए पनि यहाँ मान्छे मान्छेबाटै मारिएका घटनाहरू रहेछन् । जङ्गलमा सेक्सुअल अपराध गरी मार्ने पनि घटनाहरू रहेछन् । ड्रग सप्लाइ तथा ड्रग अपराधको त यो पार्क केन्द्र नै रहेछ । किनभने जङ्गल असाध्य घनघोर नै रहेछ । मैले झट्ट आफ्नै देशको रत्नपार्कलाई सम्झेँ । हुन चाहिँ हो कि होइन, तर रत्नपार्कलाई पनि सहरको बीचमा र प्रहरी कार्यालयको अगाडिनै भए पनि यौन तथा लागूपदार्थको केन्द्र हो भन्थे मान्छे ।

५० मिलियनभन्दा बढी पर्यटकले हरेक वर्ष यो पार्कको यात्रा गर्ने गरेको तथ्याङ्क रहेछ । पार्कमा २० वटा गेट रहेछन् । गेटको नाम लेखक, कवि, तथा अमेरिकाको जीवनका विविध क्षेत्रमा योगदान दिने व्यक्तिका नाममा राखिएको रहेछ । तिनका २९ वटा मुर्तिहरू बनाइएका रहेछन् ।
पार्कभित्र २ ठूला रेस्टुरेन्ट तथा ठाउँ-ठाउँमा पोर्टेबल रेस्टुरेन्टहरू रहेछन् । पार्कभित्र कुद्न, जगिङ, मर्निङ तथा इभिनिङ वाक गर्न ट्रेल, पैदल यात्री, साइकलयात्री, तथा स्केटिङ गर्न सडकको व्यवस्था गरिएको रहेछ । वाइक लेन तथा हिँड्ने बाटो अलगअलग रहेछ । न्युयोर्क सिटीको म्याराथन दौड यही सेन्ट्रल पार्कमै हुने गरेको रहेछ ।

यो पार्क बनेपछि म्यानहटनका जग्गाको मूल्यमा एकै पल्ट ७०० प्रतिशत वृद्धिले भएको रहेछ । सेन्ट्रल पार्कबाट हेर्दा पार्कको जङ्गलसँगै जोडिएका गगनचुम्बी भवनहरू हाँसिरहेका थिए । पानीका जङ्गली खोला, जङ्गल, वन्यजन्तु र अग्ला सहरी भवन एकै ठाउँबाट हेर्दा प्यानोरमिक दृश्य र आनन्द आउँथ्यो । यही आनन्द र उदेकका रन्कामा मैले भाइलाई सोधेको थिएँ-  भाइ, म्यानहटनका गगनचुम्बी भवनमा लगभग ७०० क्षेत्रफलको एपार्टमेन्ट किन्न कति पर्छ बाबु ?

उनले उत्तर दिएका थिए- घटीबढी ४ मिलियन डलरभन्दा बढी पर्छ भिनाजु । सोही क्षेत्रफलमा भाडामा बस्न मासिक ४००० डलरभन्दा बढी पर्छ । त्यसैले यो म्यानहटनमा मध्यम र निम्न आय भएका मान्छेहरू एउटै कोठामा कोचिएर बस्छन् ।

पार्कभित्र हामी हिँडिरहेका थियौँ । पार्कलाई ठाउँ ठाउँबाट अन्डर ग्राउण्ड टनेल रोड बनाएर बारिपारी गरिएको रहेछ । पार्कभित्र किरिङ मिरिङ बाटाहरू थिए । पार्कभित्र दोहोरो साइकल मात्र गुडाउन पाइने लगभग ६० फिटका सडक थिए । लाखौँ मान्छे पार्कभित्र थिए ।

हामी लगातार हिँडिरहेका थियौँ । रूखको सिँयालमा एउटी गोरी महिला उत्तानो परेर सुतेकी थिइन् । उसको काखमा एउटा सानो सुन्दर पपी कुकुर पनि सुतेको थियो । यसै बेला मलाई मान्छेको इच्छा र चाहना कस्तो होला भन्ने जिज्ञासा मनमा पलायो । मनमा लाग्यो कि जीवनका बारेमा के सोच्दी हो त्यो गोरी ? उसका नजरमा कस्तो होला यो संसार ? कस्तो सोच्दी हो अन्यत्रका मान्छेलाई ? मान्छे सायद कुकुरको आज्ञाकारिताबाट कायल भएको होला । सायद कुकुर जतिको इमान्दार मान्छे यो संसारमा नपाउने भएर होला ।

हामी हिँडिरहेका थियौँ । प्रचण्ड गर्मी थियो । सिँयाल-सिँयाल खोज्दै हिँडिरहेका थियौँ । बाटोमा गुराँसका ६/७ रङका बुट्यानहरू छपक्कै थिए । यो गुराँस देखेर मेरी श्रीमती सुशा अत्यन्त खुसी भइन् र धडाधड फोटाहरू खिचिन् । म भने ताप्लेजुङको गुराँसे डाँडोमा छपक्क ढाकेर फुलेका गुराँसको जङ्गलमै मस्त थिएँ । खप्तड जाँदा बाटोमा देखिने विविध रङ्गका गुराँसका बुटाहरू सम्झँदै थिएँ । हिँड्दा हिँड्दै एउटा ठूलो पोखरीमा पुगियो । यसको नाम रिजर्भर पौन्ड रहेछ । यो पोखरीको रेलिङ्मा उभिएर सामुन्नेको जङ्गलपारि देखिने गगनचुम्बी महलले धन्याढ्यताको दृश्यलाई हेर्दा मन नै रोमाञ्चक भएको थियो । यो पोखरीलाई वरिपरिबाट घेरिएको थियो । न्युयोर्कका लागि यो इमर्जेन्सी वा पुग नपुगमा सप्लाई गर्ने पानीको स्टोर रहेछ ।

पार्कभरि फूलका बगैँचा थिए । चिडियाखाना, किल्ला, कछुवाको पोखरी पनि थिए । पार्कभित्र गतिला रेस्टुरेन्ट, पानीका झर्ना, प्राकृतिक जनावर हेर्ने स्थान, आर्सनल (नेसनल गार्डको बिल्डिङ), केटाकेटी खेल्ने प्ले ग्राउन्ड, संगीतको कार्यक्रम गर्ने मञ्च, तथा अनेकौँ वाटर पुलहरू थिए ।

ठाउँ ठाउँमा ससाना टुरिङ दोकानहरू थिए । याने ठेलागाडाका दोकान थिए । ती दोकानहरूमा भारतीय र बङ्गलादेशी पनि मनग्गे थिए । ठाउँ ठाउँमा व्यवस्थित र स्तरीय रेस्टरूमको व्यवस्था थियो । पार्कभित्र नेपालकै जस्ता मान्छेले तान्ने तथा बेट्रीले तान्ने रिक्सा पनि चलिरहेका थिए । यसबाहेक घोडाले तान्ने बग्गी पनि प्रशस्त चलेका थिए ।

पार्कभित्र स्पेनसँगको युद्धका सेनानीहरूको स्तम्भ तथा पोल्याण्डका राजाको सालिक थियो । एउटा अग्लो स्तम्भ थियो, त्यो अमेरिकी भेटरनको सम्झनामा बनाइएको थियो । सबैको नाम र इतिहास लेखिएको थियो । इतिहास मर्न नदिन शत्रुकै भए पनि सालिक बनाउने अमेरिकी चेतलाई सलाम गर्न मन लाग्यो र तुरून्त नेपाल सम्झेँ । नेपालमा पृथ्वीनारायण शाहको सालिक फुटाउने कथित क्रान्तिकारीहरूलाई सम्झेँ । यो बेला म आफ्नै नेपालीको बुद्धिलाई कोस्नु भन्दा के नै पो गर्न सक्थेँ र ?

दिनको २.३० मा पुगेका थियौँ होला हामी ६ बजेसम्म विशुद्ध पैदल घुमेका थियौँ । ४ घण्टामा घुमेर सकिने अवस्था थिएन । घाम पनि चर्कै थियो । शरीरमा चारो सकिन थालेको थियो । थाकेर हत्तु भइएको थियो । जति हेरे पनि नसकिने यो पार्कको दक्षिणतिरको गेटबाट बाहिर निस्केका थियौँ । अब हाम्रो गाडी राखेको ठाउँमा पुग्न आधा घण्टा हिँड्नु पर्ने कुरा गुगलले बताइरहेको थियो । हामी फेरि सेन्ट्रल पार्कको छेवैछेउ हिँडिरहेका थियौँ । सडकमा नै बारबेर गरेर रेस्टुरेन्ट चलाएको देखियो । मान्छे बसेर खाइरहेका थिए । सडककै एउटा पेटीमा बाइक रेण्टल थियो । पार्कबाहिर सडकपट्टि राखिएका बेन्चमा जुत्ता र जिन्स लगाएका माग्नेहरू बसिरहेका थिए । सुतिरहेका थिए । कोही सिगार तानिरहेका थिए । कोही त बियर नै घुट्क्याइरहेका थिए । तिनीहरूको जीवन बाटोमै बित्ने गर्दो रहेछ । यो नै एउटा यस्तो विन्दु थियो जहाँ धनाढ्य र होमलेस बस्दथे । पार्कले भने धनाढ्य र होमलेसका बीचमा केही विभेद गरेको थिएन ।

हामीलाई असाध्य भोक लागेको थियो । गर्मी याम भएकाले एउटा घच्चीको रेस्टुरेन्टमा पसेर चिसो बियर पिउन मन नलागेको होइन । तर कोरोना कहरबाट हामी डराएकै थियौँ । रेस्टुरेन्टमा पसेर खाजा खान आँट आइरहेको थिएन । त्यसकारण मास्क लगाएर एउटा रेस्टुरेन्टमा सुमेश पसेर बियर र स्याण्डबिज, फ्रेन्चफ्राई किनेर ल्याएका थिए र सडककै पेटीमा बनाइएको फलामे बेन्चमा बसेर खाएका थियौँ । तर बियरको ग्लास चाहिँ कागजले छोपेर खानु पर्ने रहेछ । नत्र पुलिसको फन्दामा परिने रहेछ । बियर कागजको ग्लासमा दिएको थियो । मैले सुमेशलाई सोधेको थिएँ- यो दिउँसै बियर, त्यो पनि सडकपेटीमा बसेर ? उनले भनेका थिए- भिनाजु, म्यानहटनमा पुगेपछि पनि एक ग्लास बियर नखाई हुन्न नि । त्यो बियर खानु एक दम महत्त्वपूर्ण रहेछ म्यानहटन पुगेपछि । ग्लासलाई कागजको खोलभित्र लुकाएर सडककै पेटीमा दिउँसै बियर पिउनु पनि एउटा नौलो र मजाको अनुभव नै रह्यो ।

खासमा न्युयोर्कका पेटीमा हिँड्ने तथा सेन्ट्रल पार्कका कसैले मास्क लगाएका थिएनन् । सरकारले नै मास्क लाउनु नपर्ने घोषणा गरिसकेको थियो । तर पनि हामी भने डरका मारे घरी मास्क खोल्ने घरी लगाउने गरिरहेका थियौँ । म्यानहटनका ठाउँ ठाउँमा कोरोना खोप लगाउने सूचनाहरू थिए । खोप फालाफाल थियो । अनि सम्झेँ- यही कोरोना कहरमा यो न्युयोर्क सहर मुर्दाघाट बनेको थियो । तर न्युयोर्क अहिले हाँसेको देखेर भने जिन्दगीसँग आस पलाएको छ । विज्ञानसँग भर लागेको छ । मानव सभ्यताको उत्थानप्रति विश्वास लागेको छ ।

घर आइपुगेर म्यानहटन तथा सेन्ट्रल पार्कको यो यात्रालाई सम्झन थालेको थिएँ । धेरै रहस्यमय तथा अचम्म बनाउने कुराहरू हेरिएको सम्झना भयो । जिन्दगीमा यो म्यानहटन र सेन्ट्रल पार्क जुरेकोमा खुसी भइरहेको थिएँ । एउटा संयोग जुरेकै हो । सुमेशले आफ्नो व्यस्त समयका बाबजुद समय निकालेर हामीलाई सेन्ट्रल पार्क घुमाएकोमा म धन्यवाद दिँदै सोफामा पल्टेको थिएँ । एकाएक मनमा कुरा आयो कि कहिल्यै बिर्सन नसकिने कुरा के देखियो हँ म्यानहटनमा ? सेन्ट्रल पार्कमा ?
देखिएका कुरा वास्तवमा धेरै थिए । गगनचुम्बी भवन थिए । गज्याङ्गुजुङ मान्छे थिए । धनाढ्य मान्छे थिए । सडक पेटीमै गुजारा गर्ने मान्छे पनि त्यहीँ थिए । स्वतन्त्रता त्यहीँ थियो । विभेद त्यहीँ थियो । सहरका बीचमा घनघोर जङ्गल थियो । जङ्गलमा प्राकृतिक खोला, दह तथा कृत्रिम स्रोत पनि थिए । ती सबै मध्ये पनि पार्क भित्र एउटा ठूलो चौरमा पचासौँ हजार मान्छे बसेका/खेलेका/खाएका/रमाएका देखेर मन प्रफुल्ल भयो । ती मान्छेमा अधिकांस विकिनी मात्र लगाएका केटी तथा अण्डवियर मात्र लगाएका केटाहरू धेरै थिए । याने कि अर्धनग्न थिए । त्यसमा भारतीय तथा पाकिस्तानी केटाकेटी पनि समावेश थिए । सायद त्यो भीडमा नेपाली पनि थिए नै होला । ती खेलिरहेका थिए । ठूलो स्वरमा म्युजिक बजाएर नाचिरहेका थिए । खाइरहेका थिए । पिइरहेका थिए । तिनीहरू उच्छवासमा रमाएका थिए । विकिनी तथा अन्डरवियर उनीहरूको स्वतन्त्रता थियो । चाहना थियो । इच्छा थियो । बुर्जुवा समाजले भनेझैँ त्यो कुनै यौनको ऐलान थिएन । कसैले कसैलाई दखल दिइरहेको थिएन ।

यो बेला मेरा मनमा एउटा प्रश्न उठ्यो कि आखिर मान्छे के चाहन्छ ? मान्छेको स्वतन्त्रताले मान्छेलाई के के गराउँछ ? तर पनि त्यहाँ छताछुल्ल पोखिएका मान्छेको भिडबाट एउटा कुरा अनुमान लगाउन सकिन्थ्यो कि मान्छे स्वतन्त्र हुन चाहन्छ । स्वतन्त्र रूपले उड्न चाहन्छ । मान्छेले खोजेको अपरिमेय स्वतन्त्रताको उदाहरण त्यहाँ देखिन्थ्यो । स्वतन्त्रताको यो चेतका परिधिमा मेरा दिमाग भरि मान्छे र मान्छेले खोज्ने स्वतन्त्रताको जेनिथ छताछुल्ल भइरहेका थिए । म भने सामाजिक मान्यताका रापमा साङ्लाले बाँधेको जीवन बोकेर खुम्चिएको थिएँ ।

म्यानहटन र सेन्ट्रल पार्क घुमेको समाचार फेसबुकमा पोस्ट गर्नु थियो । त्यसैले मैले कम्प्युटरमा फेसबुक खोलेँ । अमेरिकामा कोरोना विरूद्धको खोप लाउने जनतालाई नगद पुरस्कार घोषणा गरिएका समाचारहरू थिए । तर मेरो देश नेपालमा कोरोना खोप नपाएर मेरा नातेदार, छिमेकी, साथीभाइको कोरोना कहरका मृत्युका समाचारहरू छरिएका थिए । लागिरहेको थियो कि यो कोरोनाले नेपाललाई खाली पारिसक्यो । द्रवीभूत हुनु बाहेक अर्को उपाय थिएन मसँग । नेपालको राजनीति साँढे जुधाइमा होक्काँ गरिरहेको थियो । आम नेपालीझैँ मेरा मुखबाट एक पल्ट भद्दा गाली निस्क्यो । फेसबुक हेर्दै नै थिएँ कि मेरो प्रिय साथी/दाइ तेजबहादुर श्रेष्ठको मेरै गाउँमा कोरोनाले निधन भएको खबर देखा पर्यो । म ज्यादै शोकाकुल भएको थिएँ । यही शोकाकुल भएकै अवस्थामा फेसबुकले मलाई सूचना दिइरहेको थियो कि पद्मकन्या बहुमुखी क्याम्पसमा सँगै पढाएका सहकर्मी अग्रज/अनुज मित्रहरू मध्ये मलाई असाध्य मन पर्ने सहकर्मी साहित्यकार वानिरा गिरी, सयौँपल्ट सँगै चिया पिएका अति मिलनसार मेरा सहकर्मी मित्र शेरजङ्ग खड्का तथा निर्मला उप्रेतीको कोरोनाको कारणले अवसान भएको थियो । यो समाचारले द्रवीभूत भएको छु । कठै मान्छेको जुनी । कठै जिन्दगी । त्यसपछि भने मैले फेसबुकका पानामा छरिएका आफन्तको मृत्युको खबर हेर्नसुन्न सकिनँ र आफू घुमेको म्यानहटन र सेन्ट्रल पार्कको कुरा पोस्ट नगरी फेसबुक नै बन्द गरेर ओछ्यानमा पल्टिएँ ।


खेमराज पोखरेल (सान मार्कोस, अमेरिका)
[email protected]