• २०८१ माघ ११ शुक्रबार

कोरोना र जनजीवन

डा. मुकुन्द पथिक

डा. मुकुन्द पथिक

नाकाबन्दीले पायौं नि दुःख, भूकम्प आयो नि
महामारी यो कोरोना ऐले, विश्वमा छायो नि
डढेलो लाग्यो तुवालो बढ्यो, जहाज रोकियो
आँसुको भेल उर्लेर धेरै, मनमा ठोकियो

आमाको काख खोसियो कति, बिचल्ली भएर
भोक भोकै मर्न थाले नि धेरै, पीडित भएर
अन्त्येष्टि गर्न भयो नि गाह्रो, भीड छ लासको
हृदय पनि चिरिन थाल्यो, मान्छेको आशको

सोचेर राम्रो गर्नुछ काम, धैर्य त चाहिन्छ
पौरख गरी सिगारौं देश, सन्तोष पाइन्छ
सपना हाम्रो हुन्छ नि पूरा, को खुसी हुन्नर
भाषा र भेष संस्कृति राम्रो, विश्वमै सुन्दर

नेपाली कहाँ हाँस्छ र आखिर, नेपालै नहाँसे
नेपाली माटो पसिना सित, मज्जाले ननाचे
उद्योग खोलौं रोजगार दिउँ, प्यारो छ नेपाल
उठ्ने छ माथि नेपाली सान, चुलिन्छ हिमाल

उठाउँ हात कर्मको दियो, बालौंन सबैले
सानो र ठूलो, धनी र गरिव नभनौं कसैले
पसिना बगे बन्दछ देश, उज्यालो भएर
नेपाल रहे रहन्छौं हामी, अमर भएर ।


डा. मुकुन्द पथिक
[email protected]